Hamro Sanchar

विप्लव नेतृत्वको नेकपाद्धारा जाजरकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/२२ गते
जाजरकोट

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, जाजरकोटले वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टी स्थायी समिति सदस्य सन्तोष वुढा मगर (विषन सी) को प्रमुख आथित्यतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि वुढा मगरद्धारा लेखित वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद शिर्षकको अबधारणा पत्र प्रस्तुत गरिएको थियो । उक्त अबधारण पत्रमा जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंह, नेपाली काँग्रेस कर्णाली प्रदेशका उपाध्यक्ष सनत कार्की, जाजरकोट कावा अध्यक्ष खड्क विसी, नेकपा (माओवादी केन्द्र) का लाल बहादुर नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका दल बहादुर खत्री, नेकपा (क्रान्तिकारी) का हिमाल, अधिवक्ता भीम बहादुर सिंह, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी, नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बाल कुमार शर्माले टिप्पनी तथा प्रतिक्रिया राखेका थिए । उक्त अबधारणा पत्रमा टिप्पनीकर्ताहरुले गरेका टिप्पनीहरुको जवाफ तथा व्याख्या प्रमुख अतिथि वुढा मगरले गरेका थिए ।

पश्चिम जाजरकोट जिल्ला ईन्जार्च सुर्यकिरण शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन पूर्वी जाजरकोटका ईन्चार्ज विराजन शाहीले गरेका थिए । कार्यक्रममा पूर्वी जाजरकोट सेक्रेटरी धनजीत महरले स्वागत भाषण गरेका थिए भने, पश्चिम जाजरकोट सेक्रेटरी गोविन्द चन्दले अबधारणा पत्र वाचन गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अबधारणा पत्रको पूर्णपाठ यस्तो छः

वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद

अवधारणा पत्र

१. परिचयः

नेपालको वर्तमान अवस्था इतिहास सर्वाधिक सम्बेदनशील र चुनौतीपूर्ण मोडमा राष्ट्रिय स्वाधीनता, एकता अखण्डता र सार्वभौमसत्तामाथिको हस्तक्षेप र नियन्देश नवउपनिवेशको शिकार बनेको छ । गणतन्त्र वा प्रजातन्त्र जे भने पनि त्यो म देशभक्त, न्यायप्रेमी तथा श्रमजीवी जनताको पहुँचमा छैन । जनजीविकाको समस्या विकराल बन्दै गएको छ । बढ्दो महंगी, कालाबजारी, भ्रष्टाचारी घुसघोरी, अभाव र बेरोजगारीले आम जनता प्रताडित छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरु पनि आम जनताको पहुँचबाट टाढा छन् । आम नेपाली युवाले आफ्नो देशमा भविष्य देख्न छाडेकाछन् र लाखौको संख्यामा विदेश पलायन भइरहेका छन् । समाज परिवार विघटन भइरहेका छन । आत्महत्याको दर कहाली लाग्दो छ । यसरी राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरु विकराल बनीरहेकाछन् । यथास्थितिवाट यी समस्याहरूको समाधान नदेखेपछि उत्पन्न निरासाले जनतालाई विकल्प खोज्न बाध्य पारेको छ ।

यतिबेला एउटा ध्यान दिनु पर्ने विषय यो छ कि चुनौती र संकटहरू तथा अभाव र समस्याहरु एक्लै आएका हुदैनन । तिनले महान् सभावनाहरु पनि बोकेर ल्याएका हुन्छन् । सच्चा देशभक्तहरुले नकारभित्र सकार देख्न सक्नुपर्दछ । आवश्यकता छ सचेत बुद्धिमतापूर्ण तथा दृढ इच्छा शक्तिका साथ हामी परिवर्तनका पक्षधर नेपालीहरुले यी चुनौती र संकटहरुको सामना गर्ने आँट र साहस गर्नु पर्दछ । त्यसो गर्यो भने मात्र महान् सम्भावना ढोकाहरु खोल्न सकिन्छ । देशलाई सापेक्षित अग्रगामी परिवर्तनको दिशातर्फ निकास दिन सक्नेछौं । यम चुनौतीपूर्ण अवस्थाको ठोस विश्लेषण गरी गुटगत चिन्तन आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर वृढताका साथ अग्रगामी परिवर्तनको मार्गमा भारत सकेनौ भने ऐतिहासिक अभिभाराबाट हाम्रो पुस्ता चुग्नेछ । भावी पिंडीने ठूलो कष्ट भोग्न बाध्य हुनेछन् र हामीलाई धिकार्नेछन् ।

उपरोक्त अभिभारा पूरा गर्नका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले जनजागरण, जनएकता र जनप्रतिरोधका विभिन्न अभियानहरु देशव्यापी रूपमा निरन्तर सञ्चालन गरिरहेको छ । यो अत्तरक्रिया कार्यक्रम पनि तिनै अभियानहरुमध्येको एउटा हो, जसले देशका प्रायः सम्पूर्ण शहरहरुमा देशभक्त न्यायप्रेमी तथा परिवर्तनका पक्षधर राजनीतिक दल, प्रबुद्ध नागरिक समाज, उद्योगी, व्यापारी, विभिन्न क्षेत्र र पेशामा कार्यरत बौद्धिक बर्ग लगायत आम सचेत नेपाली नागरिकहरुका बीचमा परिस्थितिहरुको गाम्भीर्यता र हाम्रो दायित्वका बारेमा समान बुझाई कायम गरी ठोस निष्कर्षका साथ एकताबद्ध रूपमा नेपाल र नेपालीहरु माथिका संकटहरुलाई परास्त गर्न सकौं भन्ने उद्देश्य राखेको छ ।

२. हाम्रा मान्यता र उद्देश्यः

हाम्रो पार्टीले ऐतिहासिक द्धन्दात्मक भौतिकवादी विश्व दृष्टिकोण र मालेमावादी मार्गदर्शक सिद्धान्तमा विश्वास गर्ने हुनाले हाम्रो मान्यता रहेको छ कि जबसम्म नेपाली समाजलाई वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा पुर्याइदैन तबसम्म राष्ट्रिय स्वाधीनताको रक्षा, वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय शोषण, दमन, उत्पीडन विभेदबाट नेपाल र नेपाली जनताको मुक्ति संभव छैन । यसका साथै विश्व वैज्ञानिक साम्यवादको महान् आदर्शमा सिङ्गो मानव जातिलाई नपुर्याएसम्म साँचो अर्थमा पूर्ण समानता, स्वतन्त्रता र वास्तविक दिगो शान्ति संभव हुनेछैन । मानव–मानव बीचमा रहेका वर्ग विभाजन, वर्गशोषण, वर्गविभेद र उत्पीडनको अन्त्य गर्न सत्ता, निजी स्वामित्व र सशस्त्र बल प्रयोग यसका मूलभूत सर्तहरू हुन् । हाम्रो पार्टी सैदान्तिक रूपमा त्यस उद्देश्यप्रति प्रतिवद्ध रहने क्रियाशील भइरहेको छ । यद्यपि त्यस्तो समाजमा एकैचोटी पुग्न सकिदैन । त्यसका विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । नेपाली विशेषताको समाजवाद हाम्रो बुझाईमा यो पहिलो चरण वा खुकिलो हो, जसद्वारा वर्तमानका ज्जवलन्त समस्याहरु सांपेक्षित रुपमा अग्रगामी निकासद्वारा हल गर्न सकियोस ।

३.वर्तमान विश्व परिवेश र नेपालमाथि त्यसको प्रभावः

विश्व मानव सभ्याताको विकासक्रम उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगहरुका महान् ऐतिहासिक आन्दोलनबाट क्रमबद्ध रुपबाट अगाडि बढ्दै आइरहेको छ । मानव जातिले तिने अनुभवहरुबाट आफूलाई शिक्षित र दिक्षित गर्दै आदिम साम्यवादी युग, दास युग, सामन्ती युग हुँदै पुजीवादी युग र समाजवादी युगसम्म आइपुगेको छ । सन १९२० देखि पुँजीवाद एकाधिकारी साम्राज्यवादमा परिवर्तन भएदेखिनै समाजवाद र साम्राज्यवादका बीचमा भीषण टक्कर चल्दै आएको छ । सन् १९९० मा समाजवादको प्रथम किल्ला शोभियत समाजवादको विघटन पश्चात संयुक्त राज्य अमेरिकाले एकाधिकारी पुँजीवादी साम्राज्यवादको एकल धुर्वीय वर्चस्व कायम गर्न पुग्यो । अमेरिकी साम्राज्यवादको सुरक्षा, आर्थिक विकास र उसको शासन प्रणालीलाई केन्द्र बिन्दुमा राखेर विश्वका अन्य देशहरु माथि हस्तक्षेप, नियन्त्रण र आक्रमणका श्रृङखलाहरु सुरु ग¥यो । अहिले पनि ती जारी नै छन् । यद्यपि अमेरिकी नेतृत्वको पुँजीवादी साम्राज्यवाद पुरानै तरिकाले चल्न नसक्ने अवस्थामा पुगेको छ । उ आर्थिक एवं राजनीतिक रुपले संकटमा पर्दै गएको छ । त्यसैगरी रुस, चीन र युरोप पनि पुरानै तरिकाले टिक्नसक्ने अवस्थामा छैनन् । अमेरिकाले आफ्नो अस्तित्व र प्रभुत्वका लागि विश्वलाई युद्धमा धकेलिरहेको छ भने रुस, चीन पनि युद्धद्वारा नै आफ्नो स्थान सुरक्षित गर्न तयार भएका छन् । युद्ध मानसिकताले विश्वलाई अभूतपूर्व रूपने ध्रुवीकृत गर्दछ । नभए अनेकौं युद्ध शृखलाहरु भोग्न बाध्य छ । पुँजीवादी संकटलाई युद्धमा बदल्नु र युद्धद्वारा पुँजीवादलाइ जीवन दिन पुँजीवादको चरित्र हो । अमेरिकाले त्यहि चरित्र प्रदर्शन गरिरहेको छ । २१ औं शताब्दीमा चीनले गरेको आर्थिक विकास विश्व बजारमा उसको प्रभुत्व, रुसले प्रविधिमा गरेको विकास र विश्वमै परेको यसको प्रभाव साथै चीन, रुस लगायतका देशले बनाएको ब्रिक्स मुद्रासम्मको योजना, युक्रेन युद्धको नयाँ चरणमा प्रवेश, हालै नाइजर, अजरबैजान, अर्मेनिया र रोमानियामा भएका युद्धहरु, ताइवान तनाव र भारतको आर्थिक उन्नति यी सबै घटनाक्रमहरुले एक ध्रुवीय विश्वको अन्त्य र बहुधुवीय विश्वको उदयलाई प्रष्ट पार्दछन् ।

उपरोक्त विश्व परिस्थितिले नेपालमा गंभीर प्रभाव पारिरहेको छ । विश्वको ध्रुवीकृत राजनीति र नेपालको भू– राजनीतिले नेपाललाई शक्तिकेन्द्रहरुको प्रत्यक्ष चासो राख्ने विषय बनाई दिएको छ । अमेरिका र चीन बीचको अन्तरविरोध, चीन र भारत बीचको अन्तरविरोध र तिनीहरुसंग नेपालको भू–राजनीतिक सम्बन्धका कारण ती शक्तिकेन्द्रहरुको आँखा नेपालमा गाडेको छ । नेपालमा अमेरिकाले आफ्नो सैन्य आखडा खडा गर्न चाहन्छ र यहाँबाट चीनलाई घेराबन्दी गर्न चाहन्छ । भारतले नेपाललाई आफ्नै सुरक्षा छाताभित्र राखेर चीन र अमेरिकालाई रोक्न चाहन्छ । चीनले आफ्नो सुरक्षाका कारण नेपालमा बलियो प्रभाव चाहन्छ । यसले स्वभावत नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिक अखण्डतामाथि चुनौती थपिदिएको छ । यस्तो विषम परिस्थितिमा नेपालले बडो बुद्धिमता पूर्वक असंलग्न परराष्ट्रनीति, पञ्चशीलको सिद्धान्त अनुरुपको अन्तर्राष्ट्रिय सम्बन्धको नीति अवलम्बन गर्नुपर्दछ, जुन नेपालको संवैधानिक व्यवस्था पनि छ । तर वर्तमान दलाल पुँजीवादी राज्यव्यवस्थाले एमसीसी जस्तो राष्ट्रघाती सझौतालाई संसदबाट अनुमोदन र सरकारबाट कार्यान्वयनको सहमति प्रदान गर्नु, रुस युक्रेन युद्धको सम्बन्धमा संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा मतदान गर्नु र नेपाली सेनाका प्रधान सेनापतिलाई आइपीएसको (जुन अमेरिकी सैन्य गठबन्धन हो को बैठकमा सहभागी गराउनुले नेपाल अमेरिकी शक्तिकेन्द्रतिर झुकाव राखेको देखिन्छ । यदि यो प्रवृत्तिलाई नरोक्ने हो भने नेपाल नचाहेर पनि विदेशीहरुको खेल मैदान बन्नेछ । अर्थात एशियाको युक्रेन बन्ने जोखिम बनेको छ । एमसीसी परियोजना त्यसैको एउटा जंग हो । (एमसी सम्झौताका राष्ट्रघाती बुँदाहरु अनुसूचीमा उल्लेख गरिएको छ । उपरोक्त तथ्यहरुले नेपालको राष्ट्रिय स्वाधीनतामा इतिहासमै सबैभन्दा गंभीर संकट उत्पन्न भएको छ ।

४.राज्य व्यवस्थामा आएको संकटः
(क) राजनीतिक संकटः

नेपाली जनताले संगठित रुपमा करीब ७ दशकभन्दा लामो राजनीति गर्दैआए । आन्दोलनमा त्याग, तपस्या र बलिदानका उच्च किर्तिमान खडा गरे । पछिल्लो चरणमा महान जनयुद्ध, यसको जगमा उठेको जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरुद्वारा राष्ट्रिय स्वाधीनता सहितको वर्गीय, जातीय, लिङ्गीय तथा क्षेत्रीय शोषण, दमन, उत्पीडन र विभेदबाट मुक्त स्वतन्त्र, समृद्ध, शक्तिशाली र समानतामा आधारित राष्ट्र निर्माणको लक्ष्य राखिएको थियो । त्यसको आधारमा सामन्ती दासता र शोषणहरु ढलेका छन् । तिनका स्थानमा मात्रात्मक रूपले भए पनि अग्रगामी चरित्र भएको पुँजीवादी गणतन्त्र स्थापना भएको छ । समाजमा जनताको राजनीतिक एवं सांस्कृतिक जागरण अभूतपूर्व रुपले वृद्धि भएको छ । यो प्रगतिकै कुरा हो, परन्तु देशीविदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्र, घेराबन्दी, हस्तक्षेप र नेतृत्वदायी अंगहरुमा देखापरेको विचलनले जनताको गाणतन्त्र स्थापनाको उद्देश्य पूरा हुन सकेन । जसले गर्दा श्रमिक वर्ग, उत्पपीडित जाति, श्रमिक समुदाय (दलित), महिला, मधेशी, मुश्लिम, युवा, विद्यार्थी र राष्ट्रिय उद्योगपति कोही पनि अधिकार सम्पन्न बन्न सकेनन् । गणतन्त्र र लोकतन्त्रको नाममा दलाल पुँजीवादी व्यवस्था र संसदीय व्यवस्था स्थापना हुन पुग्यो ।

देशमा दलाल पुँजीवादी सत्ता लादिएपछि राष्ट्रियताको प्रश्न झन गंभीर बन्न पुग्नुका साथै साम्राज्यवादी अतिक्रमण झन तीव्र भएर गयो । महान जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त सीमित राजनैतिक अधिकारहरु पनि क्रमशः अभिजात वर्गमा केन्द्रित हुँदै गएको छ । संसदीय व्यवस्थाको चुनावी प्रणालीमा जनताको स्वतन्त्रता कागलाई बेल पाके सरह हुन गएको छ ।

यो दलाल पुँजीवादी व्यवस्थाबाट नेपाल र नेपाली जनताका समस्याहरु हल हुन सक्दैनन् भन्ने कुरामा करीब–करीब आमजनता एकमत छन् ।

(ख) आर्थिक क्षेत्रको संकटः

भूमण्डलीकृत साम्राज्यवादको अर्थनीतिलाई बिनारोकतोक लागू गर्नाले देशको अर्थतन्त्र तहसनहस बन्न पुगेको छ । उदारिकरण, निजीकरण र स्वतन्त्रः प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रले, देशका राष्ट्रिय उद्योगहरु धारासायी बन्नपुगे । कृषिमा करीब आत्मनिर्भर रहेको देश आज खाद्यान्नमा समेत परनिर्भरता बेहोरिरहेको छ । यो दलाल पुँजीवाद कै कारण, उत्पन्न संकट हो ।

(ग) सामाजिक संकटः
विविधताको एकतामा रहेको हाम्रो देश आज साम्राज्यवादीहरूको उक्सावटमा धार्मिक अतिवाद, जातीय वैमनष्यता र क्षेत्रीयतावादी चिन्तनको शिकार बन्दैछ । समाजमा निरासा, अविश्वास र राजनीतिप्रति घृणा गर्ने प्रवृत्ति बढ्दो छ । बहस, छलफल र आन्दोलनहरु स्वतन्त्रताको निम्ति, समृद्धिको निम्ति, समानताको निम्ति, रोजगारको निम्ति र आत्मनिर्भर अर्थतन्त्रको निम्ति हुनुपर्दछ तर समाजका विभिन्न क्षेत्रमा बहस, छलफल र आन्दोलनहरु विशुद्ध जाति, क्षेत्र, लिङ्ग र धर्ममा उन्मुख हुँदैछन् । यो निकै डर लाग्दो विषय हो ।

(घ) सांस्कृतिक संकटः
आत्मनिर्भरताको संस्कृति कमजोर बन्दै गएको छ । ठगी, दलाली, भ्रष्टाचारी, तस्करी र जालझेलको संस्कृति मौलाउदो छ पुँजीवादी उपभोक्तावादी छाडा संस्कृतिले समाजलाई विकृत बनाउँदैछ ।

५. संकट समाधानका विद्यामान राजनीतिक चिन्तनधाराः
अग्रगामी दृष्टिकोणबाट हेर्दा विद्यामान संकट समाधानका तीन राजनीतिक चिन्तनधाराहरु देखिन्छन्ः

(क) पश्चगामी धाराः
यस चिन्तनधारा अन्तरगत सामन्तवादी पश्चगामी पात्र र प्रवृत्तिहरु पर्दछन् । जसले ’जनताको बलद्वारा विस्थापित गरिएको राजसंस्थालाई पुनस्थापना गरेर उपरोक्त समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मान्यता राख्दछ । विगतका राजसंस्थाका सदस्यहरुने राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाका समस्याहरु हल गर्न सचेत र विशिष्ट नागरिकका हैसियतले योगदान पुर्याउन सक्दछन् तर पुरानै राजतन्त्रात्मक व्यवस्थाको पुनस्थापनाले समस्याको समाधान गर्नसक्दैन । यसले इतिहासको पाङ्ग्रालाई उल्टो दिशातिर लैजान्छ ।

(ख) यथास्थितिवादी धाराः
यस चिन्तनधारा अन्तर्गत आफ्ना विधान र घोषणा पत्रहरुमा समाजवाद उल्लेख गर्ने तर समाजवाद तर्फ जान तयार नहुने, यथास्थितिमै रमाउने पुराना संसदवादी दलहरु र स्वतन्त्र भनिएका पात्र प्रवृत्तिहरु पर्दछन् । संसदीय व्यवस्था, संसदवादी दलहरू र संसदवादी पात्रहरूको असफलता, मूलतः व्यवस्थाकै असफलताबाट आजित जनताको मनोविज्ञानमा टेकेर स्वतन्त्र भनिएका दल र पात्र प्रवृत्तिहरु अस्तित्वमा आएका छन् । व्यवस्था होइन, समस्या बदल्ने भन्ने मूल नारा लिएर आएका यी पात्र–प्रवृत्तिहरु अन्तत यथास्थितिवादकै पृष्ठपोषक हुन् ।

(ग) अग्रगामी धाराः
यस अन्तरगत साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा र विगतका आन्दोलहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै दलाल पुजीवादी राज्यव्यस्थालाई रुपान्तरण गरी नेपाली विशेषताको समाजवाद स्थापना गर्न सहमत भएका शक्तिहरु पर्दछन् । हाल नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले समाजवादी मोर्चा नेपाल निर्माण गरेर संयुक्त रुपमा यो धाराको नेतृत्व गरिरहेकाछन् । यहि चिन्तनधारा नै अहिलेको सन्दर्भमा संकटका समाधानका सबैभन्दा अग्रगामी, वैज्ञानिक र वस्तुवादी चिन्तनधारा हो ।

६. नेपाली विशेषताको समाजवादः
(क) नेपालमा एमसीसीको माध्यमबाट अमेरिकी साम्राज्यवाद खुलमखुला प्रवेश गरेको छ । यसले राष्ट्रिय राजनीतिक अन्तरविरोधमा गंभीर प्रभाव पारेको छ । यसबारे हाम्रो निष्कर्ष छ—अहिलेको प्रधान अन्तरविरोध अमेरिकी साम्राज्यवाद र उसको नेतृत्वमा चल्ने दलाल पुँजीवाद र नेपाली श्रमिक जनताका बीचमा पुगेको छ । यो अवस्थामा राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरुसंग मोर्चा र सहकार्यका मार्ग प्रशस्त भएको छ ।
(ख) नेपालको राष्ट्रिय राजनीतिमा देखा परेको अन्तरविरोधको परिवर्तनले नेपाली राजनीतिक वृत्तमा समाजवादी मोर्चालाई जन्म दिएको छ । यसले अबको देशको अग्रगामी राजनीतिक निकास भनेको यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद हुने मोर्चाको १५ बुँदे घोषणा पत्रले दिशा निर्देश गरेको छ जो यसैसाथ संलग्न छ ।

(ग) मोटी रूपमा नेपाली विशेषताको समाजवाद भन्नाले विद्यामान दलाल पुँजीवादी राज्यसत्ताको विकल्प र समाधान हो । विद्यामान संसदीय व्यवस्थाले निम्त्याएका संकट र जनताका जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताको समस्याको समाधान दिने, जनताको चाहाना र भावना अनुसारको सामाजिक व्यवस्था हो, जसले विद्यामान राज्यव्यवस्थाले हल गर्न नसकेका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक राष्ट्रियता र जनजीविकाका आधारभूत समस्याहरुको हल गर्नेछ ।

(घ) दलाल पुँजीवादी संकटको निकास र अन्तरविरोध समाधानका दृष्टिले नेपालमा नेपाली विशेषताको समाजवाद अग्रगामी, जनवादी र परिवर्तनकारी हुनेमा कुनै दुविधा छैन तर यसका विशेषताहरु के हुनेछन् भन्ने नागरिकहरुका जिज्ञासाहरुलाई हामीले ठोस रुपमा प्रस्तुत गर्नु आवश्यक छ । यी विशेषताहरुको बारेमा आम सरोकारवालाहरुसंग व्यापक बहस, छलफल, अन्तरक्रियाद्वारा प्राप्त सुझाबहरुलाई समेटेर पूर्णता दिनुपर्ने छ ।

७. निष्कर्षः
आजको नेपालको चौतफी सकट मूल रूपमा दलाल पुँजीवादी राज्यसत्ताको संकट हो । साम्राज्यवादी हस्तक्षेप पनि दलाल पुँजीवादकै माध्यमबाट आएको छ । हामीले गंभीर रूपमा बुझ्नु पर्दछ कि सरकार र राज्यसत्ता फरक फरक कुरा हुन् । सरकारमा केही प्रगतिशील शक्तिहरुको सहभागिता भएको देखिए पनि मूलतः सत्ता दलाल पुँजीवादकै हातमा छ । दलाल पुँजीवादले निम्त्याएका संकटबाट जनताले विकल्प खोजी रहेकाछन् । जनतामा व्यवस्थाप्रति असन्तोष मात्र होइन आक्रोश समेत व्यक्त भएको छ । यसबेला देशभक्त, क्रान्तिकारी तथा परिवर्तनशील पक्षले उचित समयमा सहि विकल्प र अग्रगामी निकास नै हो भने कहिलेकाही नचाहेरै पनि जनता पश्चगामी वा यथास्थितिवादकै एउटा पक्षलाई रोज्न बाध्य भएको इतिहास पनि छ । साम्राज्यवादले जनताको असन्तोष र आक्रोसलाई गलत ढंगले प्रयोग गरेर एकातिर विखण्डनवादलाई, अर्कोतर्फ सर्वसत्तावाद र पश्चगमनलाई प्रश्रय दिइरहेको छ । त्यसका लागि कतै सामाजिक अभियान्ताका नाममा, कतै आईएनजीओहरुको माध्यमबाट धार्मिक अतिवाद, जातिवाद र क्षेत्रवादलाई व्यापक रुपले प्रयोग गरिरहेको छ । एमसीसी परियोजनाले यी सबैको नेतृत्व गर्दछ । एमसीसी परियोजनाको कार्यन्वयनलाई नरोक्ने हो भने नेपाललाई युक्रेनको नियति भोग्न बाध्य हुनेछ । त्यसैले यसको खारेजीको विकल्प पनि छैन ।

अन्तमा, एमसीसीको प्रवेशले नेपालको प्रधान अन्तरविरोधमा फेरबदल ल्याइदिएको छ । यो घटनाले अब नेपाल र नेपाली जनताको अगाडि एकातिर एमसीसीको खारेजीको विकल्प छैन भने अर्कोतिर नेपालको राजनीतिको अग्रगामी निकास दिनु र व्यवस्थाको विकल्प दिनुको बिकल्प पनि छैन । यी दुई ऐतिहासिक आवश्यकता र आजको वस्तुगत तथ्यलाई आत्मसात गर्दै एउटा जिम्मेबारी राजनैतिक दलको हैसियतले हामी यो संक्षिप्त अवधारणा पत्र तयार पारेका छौं । हामीले सबै जिम्मेवार पक्षहरुमा बिना आग्रह र पूर्गाग्रह यी ऐतिहासिक कार्यभारहरू पूरा गर्न सहकार्यको लागि अनुरोध छ ।
असोज २०८०

प्रस्तोता
विषण सी
स्थायी समिति सदस्य
नेपाल कम्युनिस्ट पार्टी

अनुसुची 

यहां MCC संझौता कति राष्ट्रघाती छ भन्ने बुझ्न केही प्रमुख बुदाहरु उल्लेख गरिएको छः–

१. संझौताको दफा ५१ (ख) (३) मा अमेरिकी वर्तमान कानुन र भविश्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने प्रावधानले हाम्रो आफ्नो स्वाभिमान, अस्तित्व र सार्वभौम अधिकार कुण्ठित गरेकोछ ।

२.संझौताको दफा ३३ मा Millennium challenge Act 2003 को दफा ६०७ लाई नेपालले पालना गर्नु पर्ने भन्ने उल्लेख छ । यो अमेरिकी कानून हो । यसभित्र बहुलवाद, भूमण्डलीय व्यापार, अन्तर्राष्ट्रिय पुँजी निवेशमा छुट, पुजीवादी बजार नीति आदिको नेपालले मान्नु पर्ने उल्लेख छ । यस व्यवस्थाले नेपाललको संविधान, कानुन समाजवाद उन्मुख स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रमाथि सिधै हस्तक्षेप गरी नवउदारवादी पुजीवादी बाटोमा लाग्न बाध्य पार्ने उद्देश्य रहेकोछ ।

३. संझौताको दफा ३१ (च) को व्यवस्था अनुसार आयोजना नेपालमा संचालन हुने २६ प्रतिशत लगानी नेपालको हुने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति Intellectual property मा MCC को मात्र हक रहने । यसले नेपालको संप्रभुतामाथि आँच पुगेको छ ।

४. सझौताको दफा ६८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनै पनि कानुन नलाग्ने व्यवस्था गरिएको छ । अमेरिकाले MCC मा काम गर्न भनी ल्याउने उसका मानिसले नेपालमा हत्या, लुट, बलात्कार जस्ता जघन्य अपराध गरे पनि नेपालको कानून नलाग्ने व्यवस्थाले नेपालको न्याय एवं कानून व्यवस्थाको धज्जी उडाएको छ ।

५. सम्झौताको दफा ७१ अनुसार MCC सझौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा MCC को कानून मान्य हुनेछ नेपालको राष्ट्रिय कानुन निस्कृय हुनेछ भन्ने प्रावधानले नेपालको संविधान, कानुनहरू MCC का मातहतमा राखेको देखिन्छ । यसले नेपालको सार्वभौमसत्तालाई खण्डित गरेकोछ ।

६. संझौताको दफा ३८ अनुसार आयोजनाको लेखा परीक्षण अमेरिकी वा अमेरिकाद्वारा मान्यता प्राप्त लेखा परीक्षण संस्थाले मात्र गर्न पाउने प्रावधानले नेपालको महालेखा परीक्षकको अस्तित्व र वैधानिकतालाई नै अस्वीकार गरेको छ ।

७.सम्झौताको ३.७ अनुसार आयोजनाको सम्पूर्ण अभिलेखको सक्कल प्रति MCC लाई बुझाउनु पर्ने छ । यस प्रावधानले देशको भौतिक तथा आन्तरिक सुरक्षा र गोपनियतामा खलल पुगेको छ । अहिले राष्ट्रघाती MCC सम्झौता लागु गर्ने प्रपञ्च षड्यन्त्र र हस्तक्षेप तीव्र रुपमा अगाडि बढेको छ । यो अमेरिकाको आर्थिक सहयोग होइन सहयोगको आवरण मात्र हो । यो अमेरिकी सैन्य रणनीति हो ।

यसका मुख्य तीन उदेश्यहरु अन्तरनिहित छन्ः
१. नेपालमा रहेको कम्युनिस्ट प्रभावलाई कमजोर बनाउनु । माक्र्सवादी समाजवादी साम्यवादी विचार धारालाई निस्तेज पार्नु । देशभक्तहरुलाई कमजोर बनाउनु, राज्य सत्तामा मौसमे दलालहरुलाई विस्थापित गरी बाह्रमासे दलालहरुलाई स्थापित गर्नु ।
२. नेपालमा रहेका प्राकृतिक सम्पदा मुख्य रुपमा जल र युरेनियम धातु कब्जा गर्नु ।

३. आफ्नो विश्व वर्चस्व कायम राख्न विश्व महाशक्ति बन्दै गएको चीनलाई घेराबन्दी गर्नु । त्यसैले MCC लाई लागुहुन नदिन समय मै सम्पुर्ण देशभक्तहरुले शसक्त प्रतिवाद गरौं ।

 


Tagged
प्रतिकृया दिनुहोस्