News Portal

आर्थिक अभावले मुटुको भल्व फेर्न एक बालक कठिनाइमा

३८१ पटक

जिल्ला सदरमुकाम खलंगाका एक बालक मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका छन् । घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका हुन् ।

जिल्ला सदरमुकाम तल्लो ताप्ले सुकुमबासी बस्तीका १३ बर्षिय गणेश विक श्वासप्रश्वासको समस्याले घरमै गाँझिएका छन् । उपचार गर्न काठमाडौं लिनलाई गणेशका बुवा—आमाले पैसाको जोहो गर्न सकिरहेका छैनन् । बिगत ४ बर्षदेखि तल्लोथाप्लेको सुकुमबासी बस्तीमा बस्दै आएका गणेश मुटुको रोगले थलिएपछि उनको कक्षा ७ को पढाई छोडे जस्तै भएको छ । नियमित रुपमा स्कुल जाने आउने गरेका गणेश बर्षे विदापछि एक दिन पनि स्कुल जान सकेका छैनन् । हात, खुट्टाका जोर्नीहरु दुख्ने, श्वास फेर्न गाह्रो हुने गरेको दुई बर्ष पहिलादेखि सुरु भएको गणेशले बताए ।

गणेशको बुवा दिपक तिरुवाको मुल पेशा दैनिक ज्याला, मजदुरी गरेर कमाएको पैसाले रासन किनेर घरकी श्रीमति र दुई छोराको साँझ विहानको छाक टार्नु हो । सिकर्मी र डकर्मीको तालिम नलिएता पनि दिपकलाई काठको ढोका र झ्याल जोर्न, गारोको र ईट्टाको वाल लगाउन, सिमेन्टको काममा पलष्टर गर्न आउछ । उक्त काम गरेर दैनिक ज्याला १२०० रुपैया बुझेर दाल, चामल, नुन, तेल किनेर परिवारको विहान वेलुकाको छाँक टार्ने गरेका छन् । त्यही दैनिक १२०० ज्यालाबाट दिपकले दुई छोरा, आफु र श्रीमतिको लत्ताकपडा किन्ने गरेका छन् । त्यतिमात्र हैन त्यही ज्यालाबाटै दिपकले दुई छोराको कापी, कलम, डे«स, टियुसन शुल्क लगाएतको पढाई खर्च व्यवस्थापन गर्ने गरेका छन् ।

दिपकका जेठा छोरा सुरेन्द्र विक १५ बर्षका भए । सुरेन्द्र त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा पढिरहेका छन् भने, गणेश विक कान्छा छोरा हुन् । मुटु तथा श्वासप्रश्वास सम्बन्धिको समस्या बढ्दै गएपछि गणेशले पढाईको लागि स्कुल जान छोडेका छन् ।

गत बर्षको असोजमा सुर्खेत स्थित प्रदेश अस्पतालमा अप्रेशन गरेर जन्मिएकी छोरीलाई बचाउन नसकेको पीडालाई सम्झिएर आमा सिता सुनार भक्कानिने गरेकी छन् । छोरीलाई बचाउन नसकिएको पीडाले कान्छो छोराको हालत पनि त्यस्तै हुन्छ कि भन्ने पिरोलोले सितालाई वेला–वेलामा झस्काई रहने गरेको छ ।

मुटु रोग सम्बन्धिको विरामी छोरालाई लिएर उपचारको लागि आफु सुर्खेत, नेपालगञ्जका प्राय अस्पतालहरुमा पुगिसकेको सिताले बताईन् । प्रदेश अस्पताल कालागाउँ र नेपागञ्ज भेरी अस्पतालका चिकित्सकहरुले गणेशको मुटुमा १० एमएलको प्वाल छ, उक्त प्वाल टाल्नलाई काठमाडौं स्थित गंगलाल हृदय रोग अस्पतालमा लैजान सुजाएको सिताले बताईन् । मुटुको प्वाल टाल्न छोरालाई काठमाडौं लैजाने पैसा अहिले आफुहरुसंग नभएको सिताले बताईन् । मुटु रोग, मृगौला, क्यान्सर, अल्जाईम्बर, पार्किन्सन्स, हेड ईन्जुरी, स्पाइनल ईन्जुरी, सिकलसेल एनिमिया जस्ता रोगहरुको सरकारले निशुल्क उपचार गर्ने भनेता पनि सरकारले दिएको सेवालाइ कसरी उपयोग गर्ने भन्ने विषयमा दिपकको परिवारलाई केही पनि थाहा छैन् । साक्षर भएता पनि सरकारले दिएको सेवालाई उपयोग गर्न पुरा गर्नुपर्ने प्रकृयाको कुनै जानकारी नभएका दिपकका लोग्ने स्वास्नीले उचित परामर्श दिने मान्छेको साथ पनि पाउन सकिरहेका छैनन् ।

लामो समयदेखि सदरमुकाम खलंगामा मजदुरी गर्दै आएता पनि दिपकले छोराको उपचार गर्न सक्नेगरी बैंकमा हजार रुपैया पनि बचत गर्न सकिरहेका छैनन् । बाल अधिकार र बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका दर्जनौं दातृ निकायका एनजिओ, आईएनजिओहरुको पनि गणेश विकले भोग्नु परेको पीडामा नजर पुग्न सकिरहेको छैन् । बालमैत्री नगरपालिका घोषणा अभियानलाई कार्यान्वयन गरीरहेको भेरी नगरपालिकाको प्रशासनिक भवन नजिकै यस्तो समस्या आईपरेको भएता पनि नगरपालिकाले गणेशको समस्यालाई नजिकबाट बुझ्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्