News Portal

भेरी नगरपालिकामा दुई दिनको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन

नगर प्रमुखको गाडी कोरोना रोकथाम तथा नियन्त्रणमा परिचालन

७४६ पटक

जाजरकोटको भेरी नगरपालिकाले जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको छ । नगरसभाबाट कोराना सम्बन्धि बिनियोजन बजेटले नपुग्ने भएपछि जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट नगरपालिकाले कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको हो ।

भेरी नगरपालिकाका सबै जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट हुन आउने ७ लाख रुपैया बिपद व्यवस्थापन कोषमा जम्मा गरेर कोरोनाको औषधी तथा अक्सिजन सिलिण्डरको ब्यबस्था गरिएको भेरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । नयाँ भेरियन्ट सहितको कोभिड–१९ दोस्रो लहर रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि नगरपालिकाले गरेको ब्यबस्थापन सम्बन्धि सुक्रबार पत्रकारहरुलाई जानकारी दिन आयोजित कार्यक्रममा अधिकृत घर्तीले यस्तो जानकारी दिएका हुन् । कोभिड–१९ बिरुद्धको लडाईमा ज्यानको बाजी राखेर फ्रण्टलाईनमा खटिएका स्वास्थ्यकर्मी बाहेक अन्य सबै कर्मचारी र जनप्रतिनीधिहरुको दुई दिनको तलब, सुविधा कटौती गरेर औषधी ब्यबस्थापन गरिएको अधिकृत घर्तीले जानकारी दिएका थिए ।

हालसम्म भेरी नगरपालिकाले ८३८ जनामा गरेको परिक्षणबाट २६१ जनालाई कोरोना पुष्टी भएको छ अधिकृत घर्तीले भने–‘पिसीआर परिक्षणको लागि ४३९ जनाको स्वाब संकलन गरिएको थियो, २४९ जनाको अझै रिपोर्ट आउन सकेको छैन, १९० जनाको रिपोर्ट आउदा १३० जनालाई कोरोना पुष्टी भएको छ । त्यसैगरि ३९९ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १३१ जनालाई कोरोना पुष्टी भएको छ । नगरपालिकाले गरेको परिक्षणबाट कोरोना पुष्टी भएका २६१ जनामध्ये २५ जना नगरपालिकाको साधारण आईशोलेसनमा बसेका छन भने, १७ जना उपचार आईशोलेसनमा रहेका छन्, १८६ जना होम आइशोलेसनमा रहेका छन भने, ५६ जना सन्चो भएर घर फर्केका र १ जनाको मृत्यु भएको छ ।’ कोरोना पुष्टी भएका २६१ जना मध्ये नगर प्रमुख, ३ जना वडाअध्यक्ष र ३ जना वडा सदस्यगरी ७ जना जनप्रतिनीधि, १० जना कर्मचारी रहेको घर्तीले बताए ।

नगरपालिकाले अक्सिजन सिलिण्डर सहित १४ बेडको आईशोलेसनको ब्यबस्था गरेको अधिकृत घर्तीले बताए । संक्रमणको जोखिमलाई न्युनिकरण गर्न नगरपालिकाले अल्पकालिन आईशोलेसनको ब्यबस्थापन गरेको जानकारी दिदै घर्तीले नगर स्तरीय आईशोलनको ब्यबस्थापन तथा संचालन गर्न जनस्वास्थ्य निरिक्षक दिपक वलीलाई जिम्मेवारी दिएको बताए । नगरपालिकाले हाल ८ वटा अक्सिजन सिलिण्डरको ब्यबस्थापन गरेको जानकारी दिदै अधिकृत घर्तीले अक्सिजन सिलिण्डरलाई थप्दै जाने योजना रहेको बताए ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको समग्र ब्यबस्थापन गर्न नगरपालिकाले आबश्यक जनशक्तिको ब्यबस्थापन गर्नुको साथै जिम्मेवारी निर्धारण गरेको अधिकृत घर्तीले जानकारी दिएका थिए । दैनिक गरिएको परिक्षण, संक्रमितहरुको उपचार लगाएत स्वास्थ्य परामर्श सेवाको रिपोर्टिङ्ग गर्नका लागि जनस्वास्थ्य निरिक्षक निशा थापालाई जिम्मेवारी दिएको छ अधिकृत घर्तीले भने–‘स्वास्थ्य सहायक सुनिल बुढा र सिनियर अहेव यज्ञनाथ गौतमको नेतृत्वमा दैनिक कोरोना टेस्टिङ्ग र ट्रेसिङ्ग गर्ने व्यबस्था मिलाईएको छ, जसमा ६ जना स्वास्थ्यकर्मीहरु परिचालित छन, एन्टीजेन र पिसीआर परिक्षणको लागि तीन जना ल्याव असिष्टेन्टलाई परिचालन गरिएको छ ।’

भेरी नगरपालिका–१ रिम्ना, ४ शान्तिचौतारा र नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य सहायता कक्ष स्थापनागरी नगरपालिकाले दैनिक नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिरहेको छ । कोरोना परिक्षणको नतिजालाई मोवाइल एसएमएसबाट जानकारी दिदै आएको नगरपालिकाले संक्रमितहरुलाई फोन सेवा मार्फत उपचार तथा स्वास्थ्य परामर्श सेवा दिदै आएको अधिकृत घर्तीले जानकारी दिएका छन् ।

नगरपालिकाका सबै स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई वडास्तरको रेकर्डिङ्ग, रिपोर्टिङ्ग, फ्लोओर्सको प्रमुख सुचकको रुपमा तोकेको नगरपालिकाले सबै महिला स्वयमंसेविकाहरुलाई अभिमुखीकरण गरेर परिचालन गरेको छ । नगरपालिकाका सबै वडाअध्यक्षको संयोजकत्वमा वडाका सबै जनप्रतिनीधि, स्वास्थ्यकर्मी, स्थानीय सुरक्षाकर्मी, शिक्षक, गैससका प्रतिनीधि, युवा क्लव, महिला स्वयंसेविका तथा आमा समुहहरुलाई परिचालन गरेको छ ।

उपचारका लागि कोरोना संक्रमित बिरामीहरु ओसार पसार गर्न भेरी नगरपालिकाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोट एम्बुलेन्सलाई आगामी असार मसान्तसम्मका लागि भाँडामा करार सम्झौता गरेको अधिकृत घर्तीले जानकारी दिएका छन् । त्यसैगरि औषधी ओसार पसार गर्न, स्वाव संकलन, कन्ट्रयाक्ट ट्रेसिङ्गसंगै समग्र व्यवस्थापन र अनुगमन कार्यका लागि नगर प्रमुख चढ्ने गाडीलाई परिचान गरिने अधिकृत घर्तीले जानकारी दिएका छन् । नगरपालिकाले आगामी असार मसान्त भित्रै एम्बुलेन्स र सव–बहान खरिद गरि सक्ने घर्तीले जानकारी दिएका छन् ।

स्वास्थ्य परिक्षण सामाग्री उपलब्ध गराएर सहयोग गर्ने स्वास्थ्य सेवा कार्यालय र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएर सहयोग गर्ने खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयलाई नगर पालिकाले धन्यवाद दिनुको साथै आभार प्रकट गरेको छ । कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखेर नगरपालिकाले एन्टीजेन किट, पिपी सेट, औषधी र अन्य स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको यथोचित व्यवस्था गर्ने बताएको छ ।

 

नगर कार्यपालिकाको कार्यालयबाट प्रवाह गरिने दैनिक सार्बजनिक सेवाका कामलाई हाल स्थगित गरिएको भएता पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गरेर विकास निर्माण तथा भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिएको अधिकृत घर्तीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्