News Portal

भट्टी पसलमा कुरा काट्ने प्रवृतिको अन्त्य नगरी कांग्रेस सचिन सक्दैनः– उपप्रधानमन्त्री खड्का

३८३ पटक

नेपाली कांग्रेस पार्टी भित्र भट्टी र चिया पसलहरुमा एकले अर्काको कुरा काट्ने संस्कृति मौलाउदै गएको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले बताए । नेपाली काँग्रेस जाजरकोटले शुक्रबार आयोजना गरेको जिल्ला सम्मलेनको उद्घाटन सत्रमा काँग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

जनताले भरोसा गर्न लायकको नेपाली कांग्रेस बनाउनलाई पार्टीका आन्तरिक भेला, सम्मेलन र बैठकहरुमा प्रयाप्त छलफल गर्नुपर्ने उपप्रधानमन्त्री खड्काले भनाई राखेका थिए । भट्टी र चिया पसलहरुमा एकले अर्काको कुरा काट्ने प्रवृतिले नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन नसकिने उनको कथन थियो । देशको राजनीतिक संकट समाधान गर्ने मुख्य जिम्मेरी नेपाली काँग्रेसको काँधमा आएको बताउदै उपप्रधानमन्त्री खड्काले बिग्रिएको मुलुकको बिग्रेको अर्थतन्त्रलाई सुधार्ने जिम्मा पनि नेपाली काँग्रेसकै काँधमा आएको बताएका थिए ।

विश्व व्यापी कोरोना, रुस र युक्रेनको युद्धका कारण विग्रिएको विश्व अर्थतन्त्रको असरले नेपालको अर्थतन्त्र सुधारमा चुनौति थपिएको बताउदै उपप्रधानमन्त्री खड्काले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने जिम्मा पनि काँग्रेसकै भएको बताए ।

अरुलाई दोष दिनु भन्दा आफु सच्चिन तयार हुनुपर्ने बताउदै उपप्रधानमन्त्री खड्काले हामीले गरेका गल्ती सच्चयायौ भने मात्र जनताले हामीलाई गरेको विश्वास र भरोसा टुटाउँदैनन् । मुलुक सम्हाल्ने अवसर छ उपप्रधानमन्त्री खड्काले भने–“ कोही पनि विचलित हुन आबश्यक छैन, जनताको पक्षमा आ–आफ्नो ठाँउबाट काम गर्नुहोस, पार्टीले काम गर्ने सबै कार्यकर्ताको उचित मुल्याङ्कण गर्छ ।” पार्टीले कसैलाई पनि काखा र पाखा नगर्ने उनको जिक्किर थियो ।

पार्टीले आफुलाई अन्याय गरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभाका सदस्य राजिव विक्रम शाहले बताएका थिए । उनले आफु जनताको सेवा गर्ने भनेर सुखसयल जीवनबाट राजनीतिमा प्रवेश गरेर पसिना बगाएको, जाजरकोटको काँग्रेस पार्टीलाई माथि उठाउन योगदान गरेका तर आफुलाई पार्टीले अन्याय गरेको बताए ।

उनले कर्णाली प्रदेश सरकारको मन्त्री हुन आफुलाई पार्टीले नदिएको बताउदै कार्यक्रममा गुनासो पोखेका थिए । चुनाव जिति सकेपछि सरकारको मन्त्री बनेर जनताको सेवा गर्छु भन्ने हुटहुटी थियो तर ब्रेक लगाईयो शाहले भने–“जाजरकोटको काँग्रेस एक रहेको र एकजुट भएर अघि बढ्ने छ ।”

काँग्रेसप्रतिको आफ्नो आदर्शलाई पार्टीले विर्सदै गएको नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका उपसभापति सनतकुमार कार्कीले बताएका थिए । आफुले जाजरकोट जिल्लाको काँग्रेस बनाउन धेरै पसिना बगाएको तर आफ्नो मुल्यांकन हुन नसकेको गुनासो गरे । पुराना कार्यकर्तालाई वेवास्ता गरिएको बताउँदै उपसभापति कार्कीले काँग्रेसमा सुकिलामुकिला हावी हुदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

पुराना कार्यकर्तालाई पार्टीले विर्सदै गएको बताउदै कर्णाली प्रदेश समिति सहमहामन्त्री रामछाया शाहीले नयाँ कार्यकर्ता हावी हुदा पुराना कार्यकर्तामा निराशा बढ्दै गएको बताएकी थिइन ।

नेपाली काँग्रेस जाजरकोट सभापति तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको सभापतित्वमा आयोजना गरिएको जिल्ला सम्मेलनको संचालन प्रवक्ता तथा सहसचिव छवि पन्तले गरेका थिए । कार्यक्रममा काँग्रेस नेताहरु खडक विसी, महेन्द्र शाह, रत्न खड्का, हरिचन्द्र बस्नेत, तेज विक्रम शाह, जनकराज शर्मा, लिलाबहादुर शाह, खडक बुढा, पुष्प बस्नेत लगायतका जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।

पार्टी भित्रको आन्तरिक एकता र संगठन सुदृढिकरणका लागि सवै कार्यकर्ता सक्रिय भएर लाग्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा एमाले र माओवादी केन्द्रबाट केही कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । उक्त जिल्ला सम्मेलनको बन्द सत्रले महत्वपुर्ण प्रस्ताव पारित गरेर सम्पन्न भएको नेपाली काँग्रेस, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्