Hamro Sanchar

खाँडो नाँचमा रमाउन २५ बर्षपछि खुर्पा पुगे क्रिस इभान्स

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/७/१५ गते
जाजरकोट

२५ बर्षपछि बेलायति नागरिक क्रिस इभान्स कुशे गाउँपालिका–५ खुर्पामा पुगेका छन् । मौलिक नाँचका रुपमा रहेको खाँडो नाँचमा रमाउन क्रिस इभान्स २५ बर्षपछि खुर्पा पुगेका हुन् ।

२५ बर्षपछि खुर्पामा पुगेका क्रिसलाई बाजागाजा र फुलमालाले भव्य स्वागत गरिएको थियो । वडा अध्यक्ष हरि बहादुर सिंह, खुर्पाका बाल, युवा र जेष्ठ नागरिकले क्रिसलाई भव्य स्वागत गरेका थिए । वडा अध्यक्ष सिंहले बेलायति नागरिक क्रिस इभान्सलाइ ढाल र तरुवाल हातमा थमाएर स्वागत गरेका थिए ।

२०५५ सालदेखि जाजरकोट जिल्ला छोडेका क्रिस इभान्स खुर्पामा पुगेपछि स्थानीय नागरिकसंग ढल्की–ढल्की खाँडो नाँच नाँचेका थिए । दमाहको तालमा नाँचिने खाँडो नाँच क्रिस इभान्सले  सजिलैसंग नाँचेका थिए ।

२०४१ सालमा पहिलो पटक जाजरकोट जिल्लामा आईपुगेका क्रिस इभान्सले  तीन बर्ष तत्कालिन जिल्ला वन कार्यालयमा भोलेन्टेड सेवा गरेका थिए । २०४४ सालदेखि पर्माकल्चर कार्यक्रमका माध्यामबाट जाजरकोट जिल्लाको खलंगा, रिसाङ्ग, पाँचकाटिया, खुर्पा, समाईला, सिल्पाचौर, मुल्साम लगाएतका थुप्रै ठाउँमा प्राङ्गगारिक कृषि पद्धति, पशुचौपाय पालन, जैविक विविधताको संरक्षण, उद्ययमशिलता, खानेपानी, सिंचाई, आधुनिक घट्ट, पेल्टीसेटको माध्यामबाट विद्युतिकरण लगाएतका मल्टि आयोजना निर्माण, घरभित्र, घर बाहिर र वातावरणिय सरसफाई, विद्यालय संचालन लगाएतका क्षेत्रमा क्रिस इभान्सले  योगदान गर्दै आएका थिए ।

डेमोसेशन, कृषि मेलाको आयोजना गर्नुको साथै हावापानी सुहाउदो बीऊ, विजन आयात गरेर प्राङ्गगारिक कृषि पद्धतिका लागि नयाँ जागरण पैदा गर्दै आएका क्रिस इभान्सले  जाजरकोट जिल्लामा थुप्रै मानव सेवाका काम पनि गरेका थिए ।

२०५५ सालपछि हिमाली पर्माकल्चर प्रोगोराम केन्द्रको सहयोगमा हुम्ला जिल्लाका विभिन्न ठाउँमा योगदान गर्दै आएका क्रिस इभान्सले यो बर्षदेखि जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–१० देउसुले स्थित श्री माध्यामिक विद्यालय सिर्पाचौरमा गाउँका किसानहरुलाई कृषि जेटिए सम्बन्धिको पढाईमा समन्वय गरिरहेका छन् ।

२५ बर्षपछि जाजरकोटमा फर्किएका क्रिस इभान्सले  पहिले आफुले कार्यक्रम संचालन गरेका खलंगा, रिसाङ्ग, पाँचकाटिया, खुर्पा लगाएतका ठाउँको अवलोकण गरेका छन् । रामचन्द्र प्राथमिक विद्यालयको आयोजनामा क्रिस इभान्सलाइ पाँचकाटियामा पनि स्वागत गरिएको थियो । पहिले आफुले काम गरेको ठाउँको अवलोकण र पुराना साथिहरुसंगको भेटघाटलाई नविकरण गर्न यसपटक आफु पाँचकाटियादेखि खुर्पासम्म पुगेको बताउदै क्रिस इभान्सले आगामी बर्षहरुमा पहिले आफुले काम गरेका स्थानहरुमा पर्माकल्चरका कार्यक्रमहरुलाई जोड्न सकिने विश्वास दिएका थिए । क्रिस इभान्सस‌गै  हिमाली पर्माकल्चर प्रोगोराम केन्द्रका कार्यकारी निर्देशक भुवन खड्का, संस्थापक सदस्य होममाया गुरुङ्ग लगाएतको टोली खुर्पासम्म पुगेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्