Hamro Sanchar

जाजरकोटमा नेकपा एमालेद्धारा स्वयमसेवक परिचालन

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/१ गते
जाजरकोट

भेरी नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र माथिल्लो थाप्लेमा नेकपा एमालेले स्वयमसेवक परिचालन गरेको छ । केन्द्रिय समितिको निर्णय अनुसार नेकपा एमालेले शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरेको हो ।

नेकपा एमाले निकट मजदुर संगठन (जी फण्ट) को नेतृत्वमा शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरीएको नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहले जानकारी दिए । केन्द्रिय सदस्य सिंहले दिएको जानकारी अनुसार जी फण्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा माथिल्लो थाप्लेमा ७५ जना स्वयसेवक परिचालन गरिएको छ ।

हेल्मेट, जकेट, पञ्जा जस्ता सुरक्षा सामाग्रीको प्रयोग गरी परिचालन भएका स्वयसेवकहरुले भुकम्पले भत्किएका सरकारी कार्यालयका ढुङ्गा, माटो र काठहरु पन्छाउने काममा लागि परेका छन् । माथिल्लो थाप्लेमा मालपोत कार्यालय भाडामा रहेको नेपाली काँग्रेसका पूर्वसभापति दिपक जंग शाहको घरको काठ, ढुङ्गा र माटो पन्छाउन शुक्रबार विहानैदेखि नेकपा एमालेद्धारा परिचालन गरिएका स्वयमसेवकहरु जुटेका छन् ।

नेकपा एमालेले दिएको जानकारी अनुसार भुकम्पबाट अति प्रभावित जिल्लाको भेरी र नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकामा ६०० र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा ४०० गरी एक हजार स्वयमसेवकलाई १५ दिन परिचालन गर्ने भएको छ ।

त्यसैगरी नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भुकम्पले भत्किएका भेरी नगरपालिका–३ माथिल्लो थाप्ले स्थित हनुमान प्राथमिक विद्यालय र नलगाड नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्ने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समितिले दिएको जानकारी अनुसार उक्त दुई वटा विद्यालयका भवन भुकम्प प्रतिरोध भवन निर्माण गर्नुको साथै अस्थायी रुपमा पठनपाठन संचालन गर्न मिल्ने गरी दर्जनौं विद्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी हजारौं स्वयमसेवक परिचालन गरेर पुनःनिर्माणको कामलाई जनसेवामा परिणत गर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । नेकपा (माओवादी केन्द्र) ले दिएको जानकारी अनुसार तत्कालै देशका विभिन्न जिल्लाबाट हजारौं स्वयमसेवक केन्द्रित गरेर पुनः निर्माणको कामलाई अगाडी बढाउने भएको छ । त्यसैगरी नेत्र विक्रम चन्द विप्लव नेतृत्व रहेको नेकपाले जिल्लाका विभिन्न ठाउँमा भुकम्प प्रभावितहरुलाई राहत वितरण, घाईते तथा विरामीहरुको उपचार, अस्थायी टहरा निर्माणका काममा सहयोग गर्दै आएको छ । त्यसैगरी मोहन बैद्य किरण नेतृत्व रहेको नेकपा (क्रान्तिकारी) ले पनि जिल्लाका भुकम्प प्रभावित ठाउँहरुमा स्वयमसेवक परिचालन गरी अस्थायी बसोबासको व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्