News Portal

जाजरकोटमा जेठ १५ गतेसम्म निषेधज्ञा

६७४ पटक

जाजरकोटमा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा (लकडाउन) थप गरिएको छ । विश्वलाई प्रभावित बनाई रहेको नयाँ भेरियन्टको कोभिड–१९ कोे संक्रमणले तिव्र रुप लिन थालेपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञालाई जेठ १५ गतेसम्म थप गरिएको हो ।

आगामी जेठ १५ गतेसम्म प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जिल्लामा निषेधाज्ञा आदेश जारी गरेका हुन् । यही बैशाख १८ गते शनिवार राति १२ बजे देखि लागु हुने गरी बैशाख २५ गतेसम्म पहिलो निषेधाज्ञा जारी गरिएको थियो भने, जेठ १ सम्म दोस्रो निशेषधाज्ञा जारी गरिएको थियो । जिल्लामा कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि शुक्रवार बसेको जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले गरेको सिफारिसमा प्रजिअ देवकोटाले आगामी जेठ १५ गतेसम्म दुई हप्ता निषेधाज्ञा जारी गरेका छन् ।

कोभिड–१९ को संक्रमण फैलावटको साङ्गलो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकारलाई प्रयोग गरी तेस्रो पटक निषेधाज्ञाको अबधि बढाईएको हो प्रजिअ देवकोटाले जारी गरिएको आदेशमा भनिएको छ ।

बंैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि प्रजिअ देवकोटाले आदेश जारी गरेका छन् । विवाह, बर्तबन्ध, मत्यु संस्कार लगायतका काममा १० जना भन्दा बढी जम्मा हुन नपाइने जारी आदेशमा भनिएको छ । औषधी, तरकारी, खाद्य, दुध र ग्याँसका पसल विहान ६ बजे देखि ९ बजेसम्म संचालन गर्न पाईने जारी आदेशमा उल्लेख गरिएको छ ।बैंक एटिएम सेवा र एम्बुलेन्स लगायतका सेवा भने, सुचारु हुनेछन् ।

सरकारी कर्मचारी भने, पोशाक सहित कम्तिमा एक चौथाइ उपस्थित हुने व्यवस्थागरी आलोपालो गरेर कार्यालय खोल्नु पर्ने जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । सुचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित मिडियाको परिचय पत्रका आधारमा पत्रकारले रिपोटिङ्ग गर्नका लागि स्थलमा जान पाउने जारी गरिएको आदेशमा भनिएको छ ।

जाजरकोट जिल्लामा ११ चैत २०७६ देखि ३१ बैसाख २०७८ सम्म पिसीआर र एन्टीजेन विधिबाट ७ हजार ७४९ जनालाई गरिएको परिक्षणबाट ५७८ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले सुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । हालसम्म २४६ जना सन्चो भएर घर फर्केको छन भने, ३२२ जना सक्रिय संक्रमितहरु अस्पताल र होम आइशोलेसनमा रहेर उपचार गराई रहेको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ । हालसम्म जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ भने, ९ जनालाई उपचारको लागि जिल्ला भन्दा बाहिर रिफर गरिएको छ ।

त्यसैगरी भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सुक्रबार भेरी नगरपालिका–१३ को कुदु, थर्पुडाडाँमा १९ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ८ जनालाई कोरोना पुष्टी भएको सिनियर अहेव यज्ञनाथ गौतमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्