Hamro Sanchar

‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता होः महासचिव गुरुङ्ग

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/२० गते
जाजरकोट

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता भएको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङ्गले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड को नेतृत्वमा राष्ट्रिय सहमति बन्न नसके संक्रमणकालीन न्याय निरुपन हुन् नसक्ने महासचिव गुरुङ्गले जिक्किर गरेका थिए । २०६३ साल मंसिर ५ गतेको बृहत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्ड भएका कारण प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमति हुन आबश्यक रहेको महासचिव गुरुङ्गले दावी गरेका थिए ।

राष्ट्रिय सहमति बिना टीआरसी विधेयक पास हुन नसक्ने महासचिव गुरुङ्गले बताए । तत्कालिन सात राजनीतिक दलको तर्फबाट तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र तत्कालिन नेकपा (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष प्रचण्डले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेको प्रसंग जोड्दै महासचिव गुरुङ्गले टीआरसी विधेयक पास गरी कार्यान्वयनमा ल्याउन तथा संक्रमणकालीन न्याय निरुपन गर्न सत्य निरुपन तथा मेलमिलाप आयोग गठन गरी परिपुरनको कामलाई अगाडी बढाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमति आबश्यकता रहेको औल्यायका थिए ।

राजनीतिक स्थिरता, संक्रमणकालीन न्याय निरुपन, सामाजिक न्याय प्रवद्र्धन, समृद्धि र सुशासन कायम गर्नु प्रचण्ड सरकारको मुख्य जिम्मेवारी भएको बताउदै महासचिव गुरुङ्गले वर्तमान सरकारले सुशासन र समृद्धिको कामलाई अगाडी बढाई रहेको र राजनीतिक स्थिरता कायम गर्नुको साथै संक्रमणकालीन न्याय निरुपनको लागि राष्ट्रिय सहमति आबश्यक रहेको बताए ।

गत कातिक १७ गते राति गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिममा भएको जनधनको क्षेति तथा अबस्थाको पार्टीको तर्फबाट अवलोकण गर्नुको साथै चिनिया कम्युनिष्ट पार्टीले पठाएको राहत सामाग्रीहरु भुकम्प पीडितहरुलाई वितरण गर्न आफु रुकुमपश्चिम हुदै जाजरकोट पुगेको बताएका थिए ।

भुकम्पीय विपद व्यवस्थापनमा खोजीकार्य, उद्धार, उपचार र राहत वितरणमा प्रचण्ड सरकार पूर्णरुपमा सफल भएको वताउदै महासचिव गुरुङ्गले अस्थायी टहरा निर्माणको कामलाई अगाडी बढाउन विपद व्यवस्थापन ऐन तथा अस्थायी आबास निर्माण सम्बन्धिको कार्यविधिले सरकारलाई अलमलमा पारेको बताए । अस्थायी टहरा तथा आबास निर्माण सम्बन्धि कानुनी तथा नीतिगत व्यवस्थापन र आर्थिक व्यवस्थापन जस्ता कामहरु सम्पन्न भईसकेको बताउदै महासचिव गुरुङ्गले अस्थायी आबास निर्माणको कामलाई सरकारले अब गति दिने बताएका थिए ।

भुकम्पबाट ज्यान गुमाएका मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै महासचिव गुरुङ्गले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुको साथै हालसम्म उपचारकै क्रममा रहेका ७ जना घाईतेहरुको स्वास्थ्य लाभको कामना गरेका थिए । जाजरकोट र रुकुमपश्चिममा ५७ हजार भन्दा बढि घरधुरीका भुकम्प पीडितहरु त्रिपालमुनी रात विताई रहेको बताउदै महासचिव गुरुङ्गले त्रिपालमुनी रहेका भुकम्प पीडितहरुलाई तत्काल अस्थायी आबासमा लैजाने प्रचण्ड सरकारको लक्ष्य रहेको बताएका थिए । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई सघाउन पार्टी लागि परेको वताउदै महासचिव गुरुङ्गले नेकपा (माओवादी केन्द्र) ले परिचालन गरेका स्वयमसेवकद्धारा जाजरकोट र रुकुमपश्चिममा १२ सय भन्दा बढि अस्थायी आबास तथा टहरा निर्माण गरिसकेको भनाई राखेका थिए ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य मायाप्रसाद शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गगन बहादुर खड्का, केन्द्रिय सदस्य पार्वती विक, प्रदेश कमिटी सदस्य ईमाश्वर देवकोटा लगाएतका नेता कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रम खलंगा स्थित पार्टी कार्यालयको सभाहलमा आयोजना गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्