News Portal

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण

२७४ पटक

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह उपस्थितिमा टेन्ट वितरण गरेको हो ।

नलगाड नगरपालिका–४ मा सनिबार १२८ परिवारलाई विशेष प्रकारको टेन्ट वितरण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट अध्यक्ष छवी पन्तले जानकारी दिएका छन । अध्यक्ष पन्तले दिएको जानकारी अनुसार उक्त टेन्ट पाउनेमा दुई बर्षमुनीका सुत्केरी र ५ महिना भन्दा माथिका गर्भवति महिला, क र ख वर्गका अपाङ्कता भएका व्यक्तिहरु रहेका छन् । ओछ्याउनलाई विन्टराईजेसन किट भएको टेन्टमा धुवा रहित आधुनिक चुलो जडान गरिएको छ । मन्त्री सिंहको उपस्थितिमा वितरण गरिएका उक्त टेन्टको भन्सार छुट प्रतिमुल्य १ लाख ११ हजार ३७ रुपैया १० पैसा परेको अध्यक्ष पन्तले बताएका छन् । नेपाल सरकारले भन्सार छुट गरेका टेन्टमा पाटीसेन गरेर ४ वटासम्म कोठा बनाएर प्रयोग गर्न सकिने बताईएको छ ।भुकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी, गर्भवति महिला र अपाङ्कता भएका व्यक्तिहरु रहने भएको हुदा जोखिम न्युनिकरण गर्न उक्त टेन्ट वितरण गरिएको अध्यक्ष पन्तले जानकारी दिएका छन् ।

गत कातिक १७ गते मध्येराति गएको भुकम्पले जाजरकोट जिल्ला र रुकुमपश्चिम जिल्लामा ठुलो जनधनको क्षेति गरेको बताउदै मन्त्री सिंहले जिल्लाका आम नागरिकले मंसिर, पुस महिनाको मुटुछेड्ने जाडोसंग त्रिपालमुनीबाट संघर्ष गर्नुपर्ने अबस्था आईलागेको भनाई राखेका थिए । सुत्केरी, गर्भवति महिला, सुनौला हजार दिनका बालबालिका, दीर्घ रोगी, अपाङ्कता भएका व्यक्ति र जेष्ठनागरिकहरुले यतिवेला त्रिपाल मुनीको चिसोसंग संघर्ष गरिरहनु भएको छ मन्त्री सिंहले भने–‘विपदको वेला, धैर्यता र संयम्ता चाहिन्छ, भुकम्पले भत्किएका घरहरु बनाउने जिम्मा सरकारले लिन्छ । माटो–ढुङ्काले बनेका सम्पूर्ण घरहरुलाई पुर्ननिर्माण गर्नुपर्छ र सम्पूर्ण घरहरुलाई पुर्ननिर्माण गर्ने नीतिगत निर्णय गराउनुको साथै बजेट व्यवस्थापन गर्न हामी लागि परेका छौं ।’

अध्यक्ष पन्तले दिएको जानकारी अनुसार नलगाड नगरपालिका–३ र रुकुमपश्चिमको आठवीसकोट नगरपालिका–११ का सुत्केरी, गर्भवति महिला र अपाङ्कता भएका व्यक्तिका ४०० परिवारलाई उक्त टेन्ट वितरण गर्ने कार्यक्रम रहेको छ । उक्त टेन्ट हस्तान्तरण गरिएका घरपरिवारलाई शौचालय निर्माण गरिदिनुको साथै सरसफाई सम्बन्धिका विभिन्न क्रियाकलापहरु संचालन गर्ने योजना रहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्