फेसबुकमै हो भेटेको, फेसबुकमै हो पढेको ।
दशै आउदा ‘गाउँ’ कुद्नु पर्ने, कोरोना आउदा गाउँ जानु पर्ने । आपत पर्दा गाउँ नै हिँड्नु पर्ने । विपत पर्दा नी गाउँ नै पुग्नु पर्ने । तब, यो सहरमा आउनै पर्ने बाध्यताहरु किन आफ्नै गाउँमा हल नगर्ने ? तब किन उच्च–शिक्षाका लागि कलेज विश्वविद्यालयहरु गाउँघरमा खोल्न पहल नगर्ने ? तब, किन जागिर अनि रोजगारको सिर्जना आफ्नै ठाउँमा नगर्ने ?
बढो घत परेथ्यो यो स्टाटस । मानौ, कसैले बेस्सरी मुठी कसेर भ्वाक्क हानेको होस ढाडमा । मानौ, कसैले तिखुलो तिर नै चलाएको होस् छातीको देब्रे पाटोतिर । कारण; आफ्नो घर छोडेर पढाई अनि कामको खोजीमा पर–परको ठाउँ जानु पर्ने यो अवस्थालाई, प्रश्न नगर्ने एउटा तन्नेरी मै पनि त हु र मलाई बढो छुक–छुक छ कि, म यो सब कोरोनाको दोश्रो लहरमा, भागेर घर बसि रहेकै बेला लेखि रहेछु ।
कार्ल मेनिङ्गरले भनेका छन्–‘तपाईंको बच्चा समाजको प्रतिबिम्ब हो । समाजले जे गर्छ, उसले त्यही दोहया¥उँछ ।’ यतिखेर, फुर्सदै फुर्सद बोकी ल्याएको यो कोरोनाले, हामी अधिकाशलाई बेकाम्मे बनाई दिएको छ । घरछेउका साथीहरु अनलाईन–गेम र सिनेमामा आफूलाई डुबाई रहँदा, म भने, हाम्रो घर नजिकै बन्दै गरेको सडकमा, मुगु देखि यहाँसम्म काम गर्न आउनु भएका, एउटा मजदुर दाईसँग जिन्दगीका कुराकानी गरि रहेछु । सपनाका कुराहरु गरी बसि रहेछु ।
यो देश मेरो जत्तिकै उहाँको पनि हो । नशा भित्र मेरो जस्तै उहाँको पनि बग्ने रगत नै हो । फेरि पनि, कोरोना आँउदा सुरक्षित हुन आफ्नो घर मज्जाले आईपुगेको म । अनी, यस्तै बेला काम नगरे खनासम्म नपुग्ने चिन्ताले यति पर आईपुग्नु भएको उहाँ । मेरो जस्तै त हो उहाँको ज्यान पनि । मेरा बा, आमा जस्तै त पिर गर्दा हुन उहाँका जहान । तब, यो अवस्थाको दोषी को हो ? यो परिस्थिति ल्याउने मान्छेहरू को को हुन ? मलाई जबाफ भेटाउनु छ ।
र त, समाजका यस्तै एठेनहरुको मूल भेट्टाउन अरु–अरु भन्दा अलग्गै उभ्याएको छु आफूलाई । जीवन बुझ्न ठाडो उकालो चढिरहदा, केही सुन्दर मनहरुसंग थकाई सुस्ताउन चौतारोमा रोकिएको छैन म । चरित्र निर्माण गर्ने किताब, कबिता अनि कथाहरू पढ्नु साटो, साथीहरुसंग रमाइलो अनि मनोरञ्जन गरि, उमेर सिध्याउने सजिलो बाटोमा पाईला चाल्नै दिएको छैन आफैलाई ।
किनकि मलाई राम्रैसंग थाहा छ, बयरका काँडा जस्ता, यस्ता बग्रेल्ती बकम्फुसे कुराहरूमा अल्झियो भने मेरो मन । सुन्दर देखिने मान्छेहरू देखेर भड्किएछु भने म । त्यति पर कहिले पो पुगी बस्नु म ? कसरी पो भेट्टाई बस्नु यतिका गरुङ्गा प्रश्नहरुको जबाफ । कहिले पो साम्य पारी बस्नु यतिका धेरै बिझाउने खुलदुलीहरु ? अँह, छैन फुर्सद सजिला कुराहरू गर्न मलाई । खर्च गर्नलाई समय । भलै, यो कोरोना अर्को बहाना नै किन नहोस् ।
हुन त, सजिलो मेरा बा–आमाले जस्तै जागिर खाएर, एउटा घर बनाएर, परिवार बसाएर, आरामको जिन्दगी बिताउन हुन्छ । सजिलो त, राहादानी बनाएर, लालपुर्जा कमाउँदै आफ्नो दुनो सोझ्याउने सजिलो हुन्छ । अनि हुन्छ सजिलो, ऋण गरेर, पैसा जोडजाड गरी अस्ट्रेलिया अनि अमेरिका गएर टक्क हाँसेको फोटो फुसबुकमा हालेर लाईक कमेन्ट कमाउन । सजिलै हुन्छ यस्ता कुराहरू । गाह्रो त आफ्ना अनि अरुका जिन्दगी बदल्ने कुराहरु गर्न एक मन भएर लागि पर्ने हुन्छ । सुख सुविधाको माया मारी, अरुका जीवन उकास्ने कामहरू गाह्रो हुन्छ । र मलाई यस्तै गाह्रा कामहरूमा हामफाली बस्न मन छ ।
.
सरकार समृद्धिको नारा दिएर ढाटि रहेछ । नेताहरु झुटको खेती गरेर हामी सबैको आँखामा छारो हालि रहेछन् । यो अक्सिजन समेत नपाएर मान्छे मरिरहेको बेला, सरकार ढाल्ने र बनाउने अनेकन चलखेल हुन्छन् । यो मरेको मान्छे समेत लैजान नसकिने अनौठो बेलामा, नेताहरु आफ्ना लागि ¥याली अनि जुलुस निकाली बस्छन् । यो तिम्रो माफिया जस्तो सरकार र सरकार जस्तो माफिया । यी तिम्रा यमराज जस्ता नेता अनि नेता जस्ता यमराज । कोही भनोस् न अब, ‘यसरी दैनिक मजदूरी गरेर बाँच्नु पर्ने मान्छेले, तिम्रो सरकारको समृद्धि देख्न, यो एउटै जुनीमा कतिचोटी मर्नुपर्छ ?’
३ करोड नागरिक भएको यति सानो देशमा, ४५ लाख मान्छे देश बाहिर रहेछन् । जसमध्य ९९ प्रतिशत श्रम गर्ने पेसामा रहेछन् । जस्तो; हङकङमा सुरुङ्ग खन्नेहरु, डिपार्टमेन्टल स्टोरमा पाले बस्नेहरू । भारतमा गोर्खे भएर काम गर्नेहरू । कतारमा चुना खन्नेहरु, सडक बनाउनेहरु । इजरायलमा बुढा बुढीको रेखदेख गर्नेहरू । खाडी मुलुकमा अग्ला कँक्रिट ठड्याउनेहरु, तेल खानीमा काम गर्नेहरू । अनि, अरु अरु…! त्यही श्रम हामी हाम्रै देशमा खर्च अवस्थामा हुन्थ्यौ । हामी हाम्रै गाउँ ठाउँ बनाउनका लागि यतिका धेरै मान्छेहरुलाई यतै रोजगारको अवसर सिर्जना गर्न सक्षम हुन्थ्यांै । सरकार धरहरा, रेल अनि पानी जहाज ल्याउनु साटो यस्ता कुराको ख्याल गरि बस्थ्यो ।
ठिक यति नै बेला, म सम्झिन्छु विनोद विक्रम केसीको मुटु हल्लाउने कबिताः–
तपाईले सबथोक गर्नु भो
अध्ययन गर्नु भो
प्रेम गर्नु भो
घुमफिर गर्नु भो
सबै कुरा गर्नु भो
तर आफ्नो हिस्साको राजनीति गर्नु भएन ।
र,
तपाईको भागको हिस्सा राजनीति गर्न हिँडेको
तपाई जस्तै मान्छे,
आज गाडीमा झण्डा फर्फराउँदै हिडीरहेछ,
र तपाईं क्यान्डी क्रस खेलिरहनु भएको छ ।
तपाईले आफ्नो तर्फबाट गर्नुपर्ने सवालहरू पनि
बुझाई दिनु भयो अरूलाई
अखबार–रेडियो–टिभी कसैले उठाउने छैन तपाईका ती कुराहरु
ती सधै झुण्डी रहने छन् शुन्यमा
र तपाई यतिखेर क्यान्डी क्रस खेलिरहनु भएको छ ।
एकातिर दैनिक १० घण्टा बाटो खनेर पनि घरबार चलाउन धौ–धौ पर्ने एउटा मजदुर दाई हुनुहुन्छ । अर्कोतिर, दाई जस्तै मान्छेका बारेमा लागि पर्छु भनेर राता–रात सम्पन्न भएका नेताहरु छन् । यो कस्तो समाज हो ? जहाँ केही औलामा गन्न सकिनेहरु केही नगरी पैसा छापि रहेछन् । अनि, यतिका धेरै मजदुरहरु रगत–पसिना र आँशु पिउन बाध्य छन् । वर्गहरु बीचको यतिका ठूलो खाडल चाहिएन हामीलाई । एउटा विनोद चौधरीले मात्रै अरबौ रुपैया कमाउनु साटो, सबै जनाले केही हजारौ बनाउन सक्ने समाज पो हुनुपर्छ सबैलाई ।
चाहिएन हामीलाई लुट्ने नेताहरु । चाहिएन हामीलाई शोषण गर्ने मालिकहरू । अहँ, बिल्कुल चाहिएन, १० घण्टा काम गरेर बनाएको बाटोमा अरु नै कसैले गाडी चलाउने तिम्रो समृद्धि । नाई, पर्दैन १०० जना मजदुरको श्रम लुटेर तिमी आफू सम्पन्न हुने पुँजीवादी युग । ‘जस्तो जोत उस्को पोत’ हुनुपर्ने समय चाहियो । गरिखाने मान्छेहरू यतिका पर आएर दुखेसो पोख्नु नपर्ने समय चाहियो । म जस्तै एक–दुई अक्षर जानेकाहरु विदेश पलायन हुनु साटो, ‘देशमै बसेर केही गरु न !’ भन्न मिल्ने युग चाहियो ।
कुरुप कोरोना
ढिलो नै सही, तिमी आएका छौं । फुर्सद बोकी ल्याएका छांै । मैले, हाम्रै घर नजिक काम गर्ने एउटा मजदुर दाईको मनोविज्ञान नजिकैबाट बुझ्ने सुनौलो मौका पाएको छु । अझ यो भन्दा बढी, सपनाहरूका बारेमा बुझ्न थालेको छु । समाज शास्त्रकाबारेमा पढ्न थालेको छु । रगत उमाल्ने कविताहरु सुन्न थालेको छु । उस्तै दिमाग हल्लाउने कथाहरू हेर्न थालेको छु । पहिले त सास मात्रै फेर्दो रहेछु, अब त साँच्चीकै बाँच्न पनि थालेको छु । उहिले परीक्षामा नम्बर ल्याउन मात्रै किताबी प्रश्नहरूको जबाफ खोज्थे । अहिले, जीवन बुझ्न अनि बुझाउन सक्ने प्रश्नहरूको जबाफ खोज्दैछु ।
यतिका कुराहरु जानेर पनि जीवन नबुझेको मैले, अब सोध्दैछु तिमीलाई । आखिर, कति खन्नु त नी बाटो अन्त्यमा अर्कैले मोटोर गुडाउने नै भएपछि । आखिर, कति सिउनु त नी उध्रेको जिन्दगी, अन्त्यमा अर्कैले नै समृद्धि पाउने नै भएपछि । आखिर कति एक एक गर्नु त नी रगत पसिना, अन्त्यमा अर्कैले सम्पन्नताको सिंढी चढ्ने भएपछि । आखिर, आखिर के खान मारिएला भनेर डराउनु नी तिमीसँग, अन्त्यमा आफ्नै देशमा अक्सिजन र अस्पताल अरु नै कसैका लागि मात्रै हुने भएपछि ।
भलै, म अशिक्षित, अपढित अनि औठाछाँप हुला । तर, ‘कुरुप कोरोना’ म तिमी जस्तो निर्मोही भने बिल्कुल छैन । मलाई तिमी जस्तो अरूको गाँसबास सोत्तर बनाउँदै हिड्ने रहर बिल्कुल छैन । भलै, म महिना दिन काम गरेर पनि, मेरो जहान परिवारलाई दुई छाक खाना खुवाउन असमर्थ हुँला, तर कुरुप कोरोना, तिम्रो जस्तो यस्तो भयानक भोक मलाई कहिले लागेन ।
मेरो आफ्नै एक टुक्रा जिन्दगी अक्षरशः लेखि सकेपछि, मलाई पनि सोध्न मन लागेको छ तिमीलाई ?
कुरुप कोरोना
संसार सिध्याउन हिडेको तिमी
मानव समुदाय समाप्त गर्ने लागेको तिमी
के पाउँछौ सिध्याएर मलाई ?
के भेट्छौ लुटेर मलाई ?
२०७८÷०२÷०२
जाजरकोट, खलंगा