Hamro Sanchar

अपाङ्गमैत्री अस्थायी संरचनाले जीवनशैलीमा सहजता

दिप बहादुर घर्ती प्रकाशित : २०८०/१०/२१ गते
जाजरकोट

भुकम्प आएर घरहरु भत्काउला भन्ने कल्पना समेत नगरेका बारेकोटको सिल्पाचौर बासीलाई गत कातिक १७ गते मध्ये राति गएको भुकम्पले घरबास बिहिन बनायो । घरबास बिहिन भएर जग्गाको छेउकुनामा पाल टाँगेर बस्नुपर्ने अबस्था आई लाग्ला भन्ने कल्पना समेत नगरेका सिल्पाचौर बासी मात्र नभएर ढुङ्गा र माटोले बनाईएका जिल्लाका सबै घरहरु मान्छे बस्न लायक नभएपछि झण्डै ४० हजार परिवार भुकम्प प्रभावित भएका थिए ।

भुकम्पको केन्द्रविन्दुनै त्यहि भएपछि सिल्पाचौरका सबै घरहरु बस्न योग्य थिएनन् । पालमुनीको बसाईले समुन्द्री सहतभन्दा २२ सय मिटरको उचाईमा रहेको सिल्पाचौरको मुटु छेड्ने चिसोसंग ८० बर्षिय हिरा घर्तीले संघर्ष गरिरहेकी थिईन् । तप–तप पालमुनी चुहिने सितथोपालाई छल्नसक्ने गरी शरिर चलाउन नसक्ने हिराले सास्ती खेप्दै आएकी थिईन् ।

तीन बर्ष पहिला प्यारालाइसिस भएर दुवै खुट्टा नचल्ने भएकी हिरा घर्तीलाई सजिलोगरी दिसा, पिसाव गर्नलाई शौचालय पनि थिएन । ह्वीलचेर समेत नहुदा कुनै भाँडोमा दिसा–पिसाव गराएर छोरा मोहन घर्ती र बुहारी इश्वरी घर्तीले व्यवस्थापन गर्दै आएका थिए । दिसा–पिसावको लागि मात्र नभएर खाना खुवाउने, विस्तरामा सुताउने र उठाउने लगाएतका कामको लागि २४ संै घण्टा छोरा वा बुहारीले छोड्नै नमिल्ने भएको थियो ।

स्टार फण्टको आर्थिक सहयोग, हेण्ड क्याप इन्टरनेशनल, people in need र किर्डाक नेपालको सामाजिक सहजीकरणमा बारेकोट गाउँपालिकामा भुकम्प प्रभावितहरुका लागि “समावेशी तथा मानवीय प्रतिकार्य परियोजना” संचालनमा आएको थियो । गाउँपालिकाको समन्वय र वडा कार्यालयको सिफारिसमा उक्त परियोजनाको सहयोगमा जव हिराको घरमा अपाङ्गमैत्री अस्थायी आबाससंगै अपाङ्गमैत्री शौचालय निर्माण गरियो तव उनको जीवनशैलीमा सहजता आउन थालेको छ । अस्थायी आबासदेखि शौचालयसम्म जान र आउनका लागि परियोजनाले हिरालाई ह्वीलचेरको व्यवस्थापनि गरेको छ ।

आबास, शौचालय, खानेपानी लगाएतका अपाङ्गमैत्री अस्थायी संरचना निर्माण भएपछि हिरालाई दिसा–पिसाव गराउनका लागि मोहनले २४ सै घण्टा पालेपहरा दिइ राख्नु पर्ने अबस्थाको अन्त्य भएको छ । ह्वीलचेरमा बसेर अस्थायी आबासदेखि शौचालयसम्म आफै जान र आउनसक्ने भएपछि आमाको लागि दिदै आएको समयलाई छोरा मोहनले कृषि उत्पादनमा लगाउन थालेका छन् । आमाको लागि दिदै आएको समय खेतीपाती सुधारमा लगाउन पाएपछि मोहन खुशीले गद्गद भएका छन् । आफुलाई जन्म दिएर सुन्दर संसार देखाउने आमाको लागि अपाङ्गमैत्री आबास, शौचालय, खानेपानी लगाएतका अस्थायी संरचना निर्माण गरिदिएकामा खुशी व्यक्त गर्दै मोहनले समावेशी तथा मानवीय प्रतिकार्य परियोजनालाई धन्यवाद दिएका छन् ।

हिरा जस्तै अपाङ्ग मान बहादुर बुढाको लागि परियोजनाले रामीडाँडामा अपाङ्गमैत्री अस्थायी आबास र शैचालय निर्माण गरिदिएको छ । त्यसैगरी “क” वर्गका अपाङ्गता भएका बारेकोट गाउँपालिका–२ का गम्भीरे कामी र जसवीरे नेपाली, “क” वर्गकै अपाङ्गता भएका वडा नं. ४ का बिष्णु कुमारी सिंह र सरस्वती कामी, वडा नं. ७ का “क” वर्गकै अपाङ्गता भएका देव बहादुर थापा, धिरेन्द्रसिंह विक, “ख” वर्गका वागवती वली, वडा नं. ९ “क” वर्गका सुनिता नेपालीको लागि परियोजनाले अपाङ्गमैत्री अस्थायी आबास र शैचालय निर्माण गरिदिएको छ ।

नेपाली नागरिकताको प्रमाण पत्रमा ७५ बर्ष उम्मेर भएको हुदा ८० बर्षिय हिराले बिगत ५ बर्ष पहिलादेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी छन् भने, कम्मर भन्दा मुनीको शरिर चलाउन नसक्ने अपाङ्गता भएता पनि हालसम्म हिराले अपाङ्गता परिचय पत्रको लागि कुनै प्रक्रिया अगाडी बढाएकी छैनन् ।

अपाङ्गमैत्री अस्थायी आबास र शैचालय निर्माणको लागि परियोजनाले प्रतिघर १ लाख ३० हजार खर्च गरेको पिपुल ईन निडका प्रतिनीधि निर्माला थापाले जानकारी दिएकी छन् । प्रतिनीधि थापाले दिएको जानकारी अनुसार ४५ दिने उक्त परियोजनाले बारेकोट गाउँपालिकाको वडा नं. १ मा १६८ र वडा नं. ५ मा ३२ गरी जम्मा २०० अस्थायी आबास निर्माण कार्य सम्पन्न गरी गाउँपालिका मार्फत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिसकेको छ । अस्याथी आबास निर्माणमा परियोजनाले प्रतिघर ६५ हजार खर्च गरेको बताईएको छ ।

पृथ्वीको लागि सबैभन्दा ठुलो विपद भुकम्प भएको बताउदै बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले भुकम्पीय विपदको कठिन अबस्थामा अस्थायी आबास निर्माण गरेर पालमुनी रहेका २०० घरपरिवारलाई अस्थायी आबासमा लिएकोमा समावेशी तथा मानवीय प्रतिकार्य परियोजनालाई धन्यवाद दिएका छन् । परियोजनाले निर्माण गरेका अस्थायी आबासले २०० घरपरिवारलाई जाडो छल्न सजिलो भएको बताउदै अध्यक्ष गिरीले पुर्ननिर्माणमा पनि समावेशी तथा मानवीय प्रतिकार्य परियोजनाले गाउँपालिकालाई साथ दिन आग्रह गरेका छन् ।

समावेशी तथा मानवीय प्रतिकार्य परियोजना जस्तै विभिन्न परियोजना मार्फत बारेकोट गाउँपालिकामा सुन्दर ढोका, फेयरम्याट फाउण्डेशन नेपाल, एचडिसी, एचआई, एमएनआई, किडाक नेपाल, युनिसेफ लगाएतका विभिन्न संघ÷संस्था र दातृ निकायले अस्थायी आबास निर्माणको कार्यलाई अगाडी बढाई रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्