News Portal

जाजरकोटका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न आयोगको तयारी

उपनिर्वाचनको मिति घोषणा गर्न सरकारसंग आयोगको प्रस्ताव

३९१ पटक

जाजरकोट जिल्लाका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारीका कामलाई अगाडी बढाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पुर्व मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेस विज्ञप्ती जारी गर्दै आयोगले उपनिर्वाचन तयारीको कामलाई अगाडी बढाएको हो ।

यही माघ २२ गते निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गरी मतदाता नामावलीमा नाम दर्ता सम्बन्धिको सुचना प्रकाशित गरेको छ । उक्त प्रकाशित सुचनामा जाजरकोट लगाएत देशभरीका स्थानीय तह, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य गरी रिक्त भएका २३ वटा पदको उपनिर्वाचन गर्न तयारीमा जुटेको आयोगले बताएको छ ।

जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा उपप्रमुख पदको लागि र कुशे गाउँपालिकाको वडा नं. ७ मा वडा अध्यक्ष पदको लागि उपनिर्वाचन गर्ने आयोगले जनाएको छ । २०७९ साल बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको गत कातिक १७ गते रातीको भुकम्पले मृत्यु भएको थियो भने, कुशे गाउँपालिका–७ का वडा अध्यक्ष मन बहादुर घर्तीको २०७९ साल असार ४ गते असामयिक निधन भएको थियो ।

सरकारले उपनिर्वाचनको मिति घोषणा गरेकै दिनदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको हुदा मिति घोषणा हुनुभन्दा पहिला मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले सुचना प्रकाशित गरेको जिल्ला निर्वाचन कार्यालय, जाजरकोटका निमित्त कार्यालय प्रमुख नविन कठायतले जानकारी दिए । उपनिर्वाचनको लागि ४५ दिन आचार संहिता लागु हुने जानकारी दिदै निमित्त कार्यालय प्रमुख कठायतले आगामी चैतको दोस्रो हप्तातिर उपनिर्वाचनको मिति घोषणा हुन सक्ने सम्भावना रहेको बताए । आयोगले उपनिर्वाचनको मिति घोषणा गर्न सरकारसंग प्रस्ताव राखेको छ निमित्त कार्यालय प्रमुख कठायतले भने, सम्भवत आयोगले राखेकै प्रस्ताव अनुसार सरकारले उपनिर्वाचनको मिति घोषणा गर्छ होला ।

 

प्रतिकृया दिनुहोस्