Hamro Sanchar

बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ घरको संरचना भत्काउने सर्वपक्षीय बैठकको निर्णय

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/२६ गते
जाजरकोट

बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाईएका जिल्ला सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ ।

बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संरचनाहरु भत्काउने निर्णय गरेको भेरी नगरपालिकामा कार्यरत कर्मचारी केदार बहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाम खलंगालाई नव निर्माण गर्न बैठकले मुल सडकको चौढाई १० मिटरको ठाउँ छोड्नुको साथै ३ मिटर सेटव्याकमा घर बनाउने निर्णय भएको भेरी नगरपालिकामा कार्यरत सर्वेक्षक केशव पुनले जानकारी दिएका छन् । सर्वेक्षक पुनले दिएको जानकारी अनुसार सहायक सडकको चौढाई ४ मिटरको ठाउँ छोड्नुको साथै ढाई मिटर सेटव्याक छोडेर सटर निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।

आफुलाई कण्ठ नभएको हुदा संरचना भत्काइने ५२ घरका नाम लिष्टका बिषयमा बताउन नसकिने नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । संरचना भत्काइने घरका नाम, लिष्टहरुको केही दिनमा सार्वजनिक सुचना प्रकाशित हुने कर्मचारीले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्