Hamro Sanchar

बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/२८ गते
जाजरकोट

बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र पहिरोबाट उच्च जोखिममा रहेको बारेकोट गाउँपालिकामा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी गरिएको हो । “जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना” ले बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी गरेको हो ।

मौषम पूर्वानुमान प्रविधीले मौषम सम्बन्धि जानकारी दिने बताउदै जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना संयोजक रामशोभा मण्डलले बारेकोटमा जडान गरिएको मौषम पूर्वानुमा प्रविधिले बारेकोटको तल्लो तटिय क्षेत्रमा बसोबास गरेका नागरिहरुलाई पूर्व सतर्कता अपनाउन सजिलो हुने बताए । प्रविधी जडान तथा प्रविधि सम्बन्धिको जानकारी लिनको लागि बारेकोटका २५ जना युवालाई परियोजनाले तीन दिने तालिम दिई सकेको संयोक मण्डलको भनाई रहेको छ । परियोजनाले मौषम पूर्वानुमान प्रविधी खरिद गरिसकेको जानकारी दिदै संयोजक मण्डलले अबको केही समयपछि मौषम पूर्वानुमान महाशाखाका प्राविधिकहरुको सहयोगमा प्रविधी जडान गर्ने तयारी गरेको जानकारी दिए ।

 

गत कातिक १७ गते राति गएको भुकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा २५ जनालाई तीन दिने अस्थायी आबास निर्माण सम्बन्धिको तालिम संचालन गरेको संयोजक मण्डलले बताए । संयोजक मण्डलले दिएको जानकारी अनुसार परियोजनाले क्षमता विकास अन्तरगत २५ जनालाई ४ दिने खोज तथा उद्धार सम्बन्धिको तालिम दिएको छ । त्यसैगरी परियोजनाले २५ जनालाई आधारभुत प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम दिएको छ । त्यसैगरी विद्यालयमा अध्ययनरत ३०० बालबालिका र समुदाय स्तरका १०० जना नागरिकलाई परियोजनाले जलवायु परिवर्तन र जोखिम न्युनिकरण सम्बन्धि अभिमुखीकरण गरेको छ ।

जलवायुमैत्री कृषि अन्तरगत परियोजनाले ५० जना व्यवसायिक किसान र ५० जना करेसाबारीमा निर्भर किसानलाई तीन–तीन दिने तालिम दिनुको साथै १२ प्रकारका तरकारीको वीऊ वितरण गरेको संयोजक मण्डलले जानकारी दिएका छन् ।

अदुवा, अलैची, धनिया, लसुन लगाएतका मसलाबाली सम्बन्धि २५ जनालाई तीन दिने तालिम दिएको परियोजनाले सुधारिएको बाख्राको गोठ निर्माण सम्बन्धि २५ जनालाई तीन दिने तालिम दिएको छ । परियोजनाले १२५ वटा बाख्राको बीमा गरिदिएको छ ।

परियोजनाले ८ लाईन सिंचाई सुविधा भएको ३ सेट सेमी हाईटेक प्लाष्टिक टनेल तीन वटा समुहलाई हस्तान्तरण गरेको छ भने, ४ लाईन सिंचाई सुविधा भएको २० वटा साधारण प्लाष्टिक टनेल किसानहरुलाई हस्तान्तरण गरेको छ ।

जापन सरकारको आर्थिक सहयोगमा संचालित जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना बारेकोट गाउँपालिकामा सन् २०२३ अगष्टदेखि संचालनमा रहेको छ । बारेकोट गाउँपालिकामा उक्त परियोजना सन् २०२४ को मे मा समाप्त हुने जनाईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्