Hamro Sanchar

जाजरकोटमा खाद्यन्न अभाव

एक महिनापछि कारागारका बन्दी÷कैदीलाई खुवाउने चामल छैन गोदाममा

दिप बहादुर घर्ती प्रकाशित : २०८०/११/१ गते
जाजरकोट

जुनीचाँदे गाउँपालिका–७ रजुतरा विक्रिकेन्द्र चामल विहीन छ । भात खानालाइ दशै, तिहार जस्ता चार्डपर्वको मिति पर्खी बसेका नागरिकहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्रीकेन्द्रतिर वेला–वेला नजर डुलाउने गरेका छन् । विक्री केन्द्रमा चामल आउला र दशै, तिहार जस्ता चार्डपर्वको लागि चामल किनेर स्टोर गरौला भनेर आशै–आशमा बसेका नागरिकहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल पठाउन नसकेपछि निरास बनेका छन् ।

गत बर्ष १३ हजार क्वीन्टल चामल विक्री भएको जाजरकोटमा यस बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६ हजार ५० क्वीन्टल चामल स्वीकृत गरेको थियो । चालु आर्थिक बर्षको हालसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोटमा ८४० क्वीन्टल मात्र चामल आपुर्ति गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटका कार्यालय प्रमुख राम प्रसाद पौडेलले जानकारी दिएका छन् । कार्यालय प्रमुख पौडेलले दिएको जानकारी अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक बर्षमा बाँकेको नेपालगञ्जदेखि शाखा कार्यालय जाजरकोटमा ३८० क्वीन्टल र बर्दियाको राजापूरदेखि ३८० क्वीन्टल १० किलो चामल आपूर्ती गरेको छ भने, बाँकेको नेपालगञ्जदेखि छेडागाड नगरपालिकाको घोगी डिपोमा ८० क्वीन्टल मात्र चामल आपूर्ती गरेको छ ।

स्वीकृती कोटा अनुसार शाखा कार्यालय, जाजरकोटमा बाँकेको नेपालगञ्जदेखि दुइ हजार, बर्दियाको राजापूरदेखि एक हजार, सुर्खेतदेखि एक हजार तीन सय क्वीन्टल चामल आपूर्ती गर्नुपर्ने कोटा रहेको छ कार्यालय प्रमुख पौडेलले भने–“नेपालगञ्जदेखि घोगी डिपोमा ७५० क्वीन्टल, दशेरा डिपोमा ५०० क्वीन्टल र सुर्खेतदेखि रजुतरा डिपोमा ५०० क्वीन्टल चामल आपूर्ती गर्ने कोटा स्वीकृती भएको थियो ।”

त्यसैगरी शाखा कार्यालय जाजरकोटदेखि नायकबाडा घाट डिपोमा ७५० क्वीन्टल, नलगाडको चौखा डिपोमा ७५० क्वीन्टल, बारेकोटको काउली विक्री केन्द्रमा ५०० क्वीन्टल, कुशेको टापुचौर विक्री केन्द्रमा ५०० क्वीन्टल, जुनीचाँदेको टाँगा विक्री केन्द्रमा ७५० क्वीन्टल र रजुतरा विक्री केन्द्रमा ७०० क्वीन्टल चामल ढुवानी गर्ने कोटा निर्धारण गरिएको थियो ।

जुनीचाँदे गाउँपालिकाको ताँगा विक्री केन्द्र पनि चामल विहिन भएको धेरै लामो समय भएको छ । छेडागाड नगरपालिकाको दशेरा डिपोमा पनि चामल छैन भने, घोगी डिपोमा ८० क्वीन्टल चामल बचत रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् । त्यसैगरी कुशे गाउँपालिकाको टापुचौर विक्री केन्द्र पनि चामल छैन भने, बारेकोट गाउँपालिकाको काउली विक्री केन्द्र पनि चामल विहिन अबस्थामा रहेको छ । नायकबाडाको घाट डिपोमा १४ क्वीन्टल मात्र चामल बचत रहेको छ भने, नलगाड नगरपालिकाको चौखा डिपोमा २ क्वीन्टल मात्र चामल बचत रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् ।

४०० क्वीन्टल मात्र बचत रहेको शाखा कार्यालय, जाजरकोटमा ३८० क्वीन्टल जिरा मसिनो चामल रहेको जानकारी दिदै कार्यालय प्रमुख पौडेलले २० क्वीन्टल मात्र मकावनपुर (मोटो) चामल रहेको बताए । कारागारमा रहेका बन्दी÷कैदीहरुलाइ खुवाउदै आएको मकावनपुर (मोटो) चामलको जिल्लामा अभाव भइरहेको कार्यालय प्रमुख पौडेलको भनाई रहेको छ । जिल्ला कारागारमा प्रतिमहिना १५ क्वीन्टल मकावनपुर (मोटो) चामल जाने गरेको जानकारी दिदै कार्यालय प्रमुख पौडेलले गोदाममा रहेको बचत २० क्वीन्टल चामलले अबको एक महिनाको लागि मात्र पुग्ने बताए । एक महिनापछि कारागारमा रहेका बन्दी÷कैदीहरुलाइ खुवाउने चामल शाखा कार्यालयमा नहुने प्रमुख पौडेलले बताए ।

जिरामसिनो चामलको मुल्य प्रति क्वीन्टल ९ हजार २०० पर्ने जानकारी दिदै कार्यालय प्रमुख पौडेलले महंगो मुल्य भएको हुदा जिरा मसिनो चामल गोदाममा ३८० क्वीन्टल बचत रहेको बताए । प्रति क्वीन्टल ५ हजार ५०० मुल्यको मकावनपुर (मोटो) चामलको खोजी गर्दै दैनिक ग्राहकहरु गोदाममा आउदै फर्किदै गरेको पोडेलले बताए ।

ठेक्का सम्झौता गरेका सप्लायर्सले ढुवानी नगरेर नभई, स्वीकृत भएको कोटा अनुसार ढुवानी गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सप्लायर्सलाई चामल दिन नसकेको हुदा जाजरकोटमा चामल अभाव भएको शाखा कार्यालय, जाजरकोटले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार जाजरकोट जिल्लामा मात्र नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सबै जिल्लामा स्वीकृत भएको कोटा अनुसारको चामल आपूर्ती गर्न सकेको छैन ।

स्वीकृत कोटा अनुसारको चामल आपूर्ती हुन नसकेपछि साविक कर्णालीका पाँच जिल्लामा जन्म तथा मृत्युमा २० किलो चामल दिदै आएको नेपाल सरकारको कार्यक्रम ओझेलमा पर्नसक्ने सम्भावना बढेको छ । पोषण सुधार गर्न तथा कुपोषण हटाउन साविक कर्णालीका पाँच जिल्लामा ४५ चामल दिदै आएको कार्यक्रमले पूर्णता पाउन नसक्ने सम्भावना बढेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्