News Portal

जाजरकोटमा प्राइमरी ट्रमा केयर तालिम सम्पन्न

२२१ पटक

जाजरकोटमा  प्राइमरी ट्रमा केयर तालिम सम्पन्न भएको छ । आपतकालिन स्वास्थ्य सेवा विस्तार गर्न जाजरकोटमा  प्राइमरी ट्रमा केयर तालिम सम्पन्न भएको हो ।

गत कातिक १७ गते रातिको भुकम्पबाट प्रभावित जाजरकोट जिल्लाको भेरी र नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिका, रुकुमपश्चिम जिल्लाको आठबीसकोट र चौरजहारी नगरपालिका र सानोभेरी गाउँपालिकामा कार्यरत ४९ जना स्वास्थ्यकर्मीलाई नलगाड नगरपालिकाको दल्ली र जिल्ला सदरमुकाम खलंगामा प्राइमरी ट्रमा केयर तालिम दिईएको थियो । आईतबार र सोमबार नलगाड नगरपालिकाको दल्ली , मंगलबार र बुधबार खल‌गामा संचालन भएको तालिममा प्राथमिक अस्पताल दल्ली, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, नलगाड र भेरी नगरपालिकाका स्वास्थ्य संस्था, बारेकोट र कुशे गाउँपालिकाका स्वास्थ्य संस्था, आठबीसकोट र चौरजहारी नगरपालिकाका स्वास्थ्य संस्था, चौरजहारी स्थित मिशन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।

उक्त तालिम अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत लक्जेम्वर्गको परराष्ट्र मन्त्रालय, ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपाल (HI) को समन्वय तथा अर्थिक सहयोगमा संचालन गरिएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) ले तालिममा प्राविधिक सहयोग गरेको थियो भने, पाँचतारा युवा सरक्षक मञ्च जाजरकोट–PTYSM ले तालिम संचालन गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रका डाक्टर, नर्स र प्यारामेडिक लगाएतका स्वास्थ्यकर्मीका लागि संचालन गरिएको तालिमले जनधनको क्षति कम गर्र्नुको साथै विपद पूर्व तयारीका लागि दक्ष स्वास्थ्यकर्मीहरुको संख्या बढाउने उद्देश्य राखेर संचालन गरिएको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजना संयोजक गगन खड्काले जानकारी दिए । सम्पन्न तालिममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) ले अनुमोदन गरेका प्राइमरी ट्रमा केयर फाउन्डेसनको सीमित स्रोतहरू भएका स्थानहरूमा ट्रमा व्यवस्थापनका लागि प्राथमिक ट्रमा केयर कोर्ष म्यानुअलमा रहेर संचालन गरिएको परियोजना संयोजक खड्काले बताए ।

सिमित स्रोत, साधन र जनशक्तिबाट गम्भीर घाइते भएका बिरामीहरुको जिल्ला स्तरमै प्राथमिक उपचार तथा व्यवस्थापन सम्बन्धि निजी क्लिनिक तथा औषधि पसललाई सिकाउन तालिममा पाठ्यक्रम विकास गरिएको थियो । न्यूनतम स्रोत प्रयोगमा अधिकतम उपचार गर्ने विधिमा तालिम केन्द्रित रहेको थियो ।

स्वास्थ्यकर्मीहरूलाई ट्रमा व्यवस्थापन सम्बन्धि ज्ञान तथा सीपहरू प्रदान गर्नु, ट्रमा व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुलाई आपतकालिन स्वास्थ्य सेवा प्रवाहमा सक्षम बनाउनु । सिमित स्रोतको प्रयोगमा ट्रमाका बिरामीहरूलाई पुर्नउत्थान गरी पुर्नस्थापना गर्न कृतिम घटना अभ्यासद्वारा पुनरुत्थानको समयमा टीम अभ्यासको अवधारणा विकास गर्नु तालिमको मुख्य उदेश्य रहेको परियोजना संयोजक खड्काले बताए ।

ट्रमा व्यवस्थापन गर्न तालिमले अनुशासनात्मक टोली, दृष्टिकोणको महत्त्व, आवश्यकता र समन्वयको महसुस गराएको सहभागीहरुले बताएका थिए । विद्यमान ज्ञान तथा सीपलाई बलियो बनाउन, ट्रमा व्यवस्थापनको लागि प्रोटोकल जान्न तथा बुझ्न पाएकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । ट्रमा व्यवस्थापन गर्न तालिमबाट सिकेको सीपले सक्षम बनाउनुको साथै राम्रो सिकाइ अवसर प्रदान गरेकोमा आयोजक र स्रोत व्यक्तिहरूलाई सहभागीहरुले धन्यवाद दिएका थिए ।

आफ्नो नगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ विशेष ध्यान दिदै आएको बताउदै नलगाड नगरपालिकाका कावा नगर प्रमुख कौशी बहादुर विष्ठले ट्रमा ‍ व्यवस्थापनमा आगामी बर्षहरुमा बजेट व्यवस्थापन गर्ने बताएका थिए । तालिममा समापन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर उप प्रमुख सिता जैसीले आगामी आर्थिक वर्षमा ट्रमा व्यवस्थापन गर्न चाहिने अति आवश्यक सामाग्री तथा चाहिने बजेट अंक सहितको कार्यक्रम पेश गर्न नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी थिईन । स्थानीय सरकारसंग निरन्तर सहकार्य र समन्वय गरेर अगाडी बढने पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट कावा अध्यक्ष आशा कार्कीले भनाई राखेकी थिईन । यस्ता कार्यक्रमहरु निरन्तर रुपमा संचालन हुने बताउदै कावा अध्यक्ष कार्कीले ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेसन नेपाल, तालिमका प्रशिक्षक र सहभागि सर्बैलाई धन्यवाद दिएकी थिईन ।

नेपालका नागरिकहरुले धेरै प्राकृतिक र मानव निर्मित प्रकोपको सामना गर्नु परेको छ । उक्त प्रकोपले ठूलो संख्यामा मानवीय क्षति गरेको छ ।प्राकृतिक प्रकोपले स्वास्थ्य प्रणाली र व्यक्तिगत स्वास्थ्यमा ठूलो प्रभाव पार्ने गर्दछ । चिकित्सा पूर्वतयारी र सामूहिक दुर्घटना व्यवस्थापन तथा विपद् व्यवस्थापनको एक आवश्यक तत्व हो ।

नेपाल जस्ता न्यून स्रोत साधनहरूमा, विपद् पूर्वतयारी प्रणालीहरू प्रायः सीमित हुन्छन् । राम्रोसँग वर्णन गरिएको हुँदैन । तुलनात्मक रूपमा धेरै मानिसहरू यी दुखद घटनाहरूबाट प्रभावित भएका हुन्छन । जहाँ चोटपटक लाग्नेहरूको संख्या वृद्धि भएको हुन्छ । खोज, उद्धार र उपचार व्यवस्थित हुनु पर्दछ । ट्रमा व्यवस्थापनमा गरिने ढिलाइले अक्सर मानिसहरुमा अपाङ्गता र मृत्यु निम्त्याउँदछ ।

ट्रमाले हरेक वर्ष विश्वभर ५.८ मिलियन नागरिकलाई पीडित बनाउँछ । अधिकांश पीडित विकासशिल देशहरूमा बालबालिका, युवा र वयस्कहरू पर्दछन् । नेपालमा पनि सडक दुर्घटना र पहाडबाट खसेर घाइते हुनेको संख्या बढी रहेको छ ।

प्रतिकृया दिनुहोस्