Hamro Sanchar

जाजरकोटमा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

दिप बहादुर घर्ती प्रकाशित : २०८०/११/१० गते
जाजरकोट

जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएका छन् । आई.पि.पि.एफ.(स्प्रीन्ट) परियोजनाको सहयोगमा नेपाल परिवार नियोजन संघले जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

जाजरकोट भुकम्पबाट अति प्रभावित क्षेत्रका नागरिकहरुलाई लक्षित गरेर नेपाल परिवार नियोजन संघले जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर संचालन गरेको थियो । भुकम्पले अति प्रभावित भेरी र नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर संचालन गरेको नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन् । सम्मपन्न बृहत प्रजनन् स्वास्थ्य शिविरबाट ३ हजार ८ सय ४५ जना महिला, ५ सय ८५ जना महिला गरी ४ हजार ४ सय ३० जनाले सेवा लिएको प्रबन्धक खनालले बताए । उक्त शिविरहरुबाट ७० जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा पाएको प्रबन्धक खनालले बताए ।

भुकम्प गए लगतै जिल्लामा कार्यक्रम संचालन गरेको नेपाल परिवार नियोजन संघले समुदाय स्तरका भुकम्प प्रभावित व्यक्ति तथा विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य, सरसफाई लगायतका स्वास्थ्य सम्बन्धि ६५ वटा स्थानमा सचेतना मुलक कार्यक्रम संचालन गरेको प्रबन्धक खनालले बताए । उक्त सचेतना मुलक ६५ वटा कार्यक्रमबाट ३ हजार ५०० जना दिक्षित भएको नेपाल परिवार नियोजन संघले जनाएको छ ।

शिविरबाट २ हजार ४ सय ३५ जनाले पाठेघरको मुखको क्यान्सर जाँच, ३ हजार ३ सय ६० जनाले स्त्री रोग, १ हजार ५ सय ७४ जनाले यौनजन्य संक्रमणको उपचार, ३ सय ४५ जनाले परिवार नियोजनको लामो अवधिको साधन इम्प्लान्ट, ८ जना आईयूसिडी, ५७ जना पाठेघर खसेका महिला, ४ सय २० जना बच्चा, १ सय २२ जना गर्भवती महिला, ४० जनाले भिडिओ एक्सरे सेवा लिएका थिए । साथै कार्यक्रमले ५९ जना सुत्केरी महिलाहरुलाई मर्यादा सामग्री वितरण गरेको थियो ।

विपद्को समयमा प्रजनन स्वास्थ्य सेवा बढी आवश्यकता हुने भएको हुदाँ शिविर संचालन गरिएको कार्यक्रमले जनाएको छ । शिविरबाट लैङ्गिक हिंसा, गर्भवती महिला, सुत्केरी महिला, किशोर–किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सेवा तथा परामर्श सेवा, यौन रोग तथा एच. आई. भि. एड्स सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा प्रदान गरिएको प्रबन्धक खनालले बताए ।

स्त्री रोग बिशेषज्ञ डा. हेमा छन्त्याल, डा. अस्मिता पाठक, डा. अमित लाम्गादे लगायतको स्वास्थ्यकर्मीको टोलीले उक्त शिविरहरु मार्फत सेवा प्रदान गरेको नेपाल परिवार नियोजन संघले जनाएको छ ।

जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसँग नेपाल परिवार नियोजन संघले कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदान गरेको छ । बिहिबार आयोजना गरिएको समिक्षा तथा अनुभव आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको अध्यक्षतामा गरिएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माको प्रमुख आथित्यतामा आयोजना गरिएको समिक्षा तथा अनुभव आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय अधिकारी कलम बहादुर महतारा, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक डा. दयाराम यादव, नेपाल परिवार नियोजन संघका डा. ओम महर्जन, मुल्यांङ्कण तथा अनुगमन प्रबन्धक चेतराज जोशी लगायतका जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका डाक्टर ओम महर्जनले परियोजनाको उद्धेश्य अनुरुप जाजरकोट जिल्लामा भूकम्प पश्चात सञ्चालित कार्यक्रमको उद्धेश्यबारे प्रकाश पारेका थिए भने, अनुगमन तथा मुल्यांङ्कण प्रबन्धक चेतराज जोशीले कार्यक्रमले प्रवाह गरेको बस्तु तथा सेवाबारे जानकारी दिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्