News Portal

स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरीमा कार्यशाला गोष्ठी

२८० पटक

भेरी नगरपालिकामा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरी नगरपालिकामा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । आईतबार देखि सुरु भएको उक्त गोष्ठी मंगलबार सम्पन्न भएको हो ।

जलवायु परिवर्तनको असरले प्रभावित कृषि तथा खाद्य सुरक्षा, जलस्रोत तथा उर्जा, वन तथा जैविक विविधता, जनस्वास्थ्य, जलवायु उत्पन्न प्रकोप तथा विपद व्यवस्थापन, शहरी÷ग्रामिण बसोबास तथा पूर्वाधारका क्षेत्रमा विभिन्न क्रियाकलाप संचालन गर्न भेरी नगरपालिका स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न जुटेको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले भनाइ राखेका थिए । नगरपालिकाले निर्माण गर्न लागेको उक्त पञ्चबर्षिय योजनाले जलवायुजन्य प्रभावलाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख घर्तीले विपदजन्य प्रकोपलाई न्युनिकरण गर्न योजना सारथी बन्ने बताएका थिए ।

बाढी, हावाहुरी, असिना, हिमपात, भिषण वर्षा, चट्याङ्ग, खडेरी, शितलहर जलवायु तथा मौसमजन्य प्रकोपमा पर्ने कार्यशाला गोष्ठीका सहजकर्ता विमल कुँवरले जानकारी दिएका थिए । सहजकर्ता कुँवरले दिएको जानकारी अनुसार भूकम्प, ज्वालामुखी, सुनामी र पहिरो भौगर्भिक प्रकोपमा पर्दछन । झाडापखाला, टाइफाइड, कालाजार, डेंगु, बालीनाली तथा पशुपंछीमा लाग्ने रोगहरु जैविक प्रकोप अन्तरगत पर्ने सहजकर्ता कुँवरले बताएका थिए । विभिन्न केमिकल, ग्याँस लिग भएर हुने प्रकोप रासायनिक प्रकोपमा पर्ने जानकारी दिदै सहजकर्ता कुँवरले ठुला ठुला भवनहरु भत्किनु, तटवन्ध फुटनु, जहाज दुर्घटनालाई प्राविधिक प्रकोप मान्न सकिने बताएका थिए । विभिन्न प्रदुषण, मरुभूमिकरण, वन विनास वातावरणीय प्रकोपमा पर्ने बताउदै कुँवरले आगलागी, भिडमा किच्चिनु, द्धन्द जस्ता मानव सृजित घटनालाई अन्य प्रकोपमा राख्न सकिने बताएका थिए ।

विपद जोखिमको हिसावले नेपाल विश्वको २० औं स्थानमा, भूकम्पीय जोखिमको हिसावले ११ औं स्थानमा रहेको कुँवरले बताएका थिए । पानीजन्य प्रकोपको जोखिममा नेपाल ३० औं, जलवायुजन्य जोखिमको हिसावले नेपाल १३ औं स्थानमा रहेको कुँवरले वताए ।

काठमाण्डौ शहर भूकम्पीय जोखिमको पहिलो नम्वरमा रहेको जानकारी दिदै कुँवरले नेपालका २ हजार ३१५ वटा हिमतालमध्ये २२ वटा फुटने अवस्थामा रहेको बताए । सन् १९७१ देखि २०१५ सम्मको तथ्याङ्क अनुसार ४० हजार भन्दा बढीले विभिन्न विपदबाट ज्यान गुमाएको जानकारी दिदै कुँवरले ७५ हजार भन्दा बढी घाईते, ३० लाख प्रभावित, प्रत्येक वर्ष औषतमा ५०० भन्दा बढी विपद्का घटना घटेको बताए । नेपालमा प्रत्येक वर्ष विपदबाट १ हजारको मृत्यु, ८० जना वेपत्ता, ९ हजार ३५० घरधुरीका १३ लाख ३० हजार जनसंख्या प्रभावित, १६ हजार घरपरिवार विस्थापित हुनुको साथै १ अरव भन्दा बढी आर्थिक क्षति हुने गरेको कुँवरले बताए । सरकारले प्रतिबर्ष विपद पूर्व ४० करोड लगानी गर्ने, विपद प्रतिकार्यमा सरकारले प्रतिबर्ष १ अरव ६७ करोड खर्च गर्ने गरेको सहजकर्ता कुँवरले बताएका थिए ।

सन् २०१४ को तथ्याङ्क अनुसार सडक दुर्घटनामा कुल मृत्युदरको ३.१८ प्रतिशत रहेको बताउदै कुँवरले विगत ५ बर्षमा बर्षेनी १० हजार दुर्घटना हुने गरेको बताए । सडक दुघर्टनाबाट प्रतिबर्ष १ हजार ८८९ व्यक्तिले ज्यान गुमाउने, १३ हजार घाईते हुने गरेको बताउदै कुँवरले दैनिक २७ वटा घटनामा ५ जना भन्दा बढीको औषत मृत्यु हुने गरेको बताएका थिए ।

सन् १९७१ देखि २०१५ सम्म विभिन्न महामारीबाट १६ हजार ५६४ जनाले, पहिरोबाट ४ हजार ८३२ जनाले, बाढीबाट ४ हजार ३४४ जनाले, चट्याङ्गबाट विगत ५ बर्षमा प्रतिबर्ष १०३ जना भन्दा बढिको मृत्यु हुनुको साथै कैंयौ संख्यामा घाईते हुने गरेको कुँवरले बताए । शितलहरबाट विगत ५ बर्षमा प्रतिबर्ष ६६ जनाको मृत्यु हुने गरेको, आगलागीबाट विगत ५ बर्षमा प्रतिबर्ष ७१ जनाको मृत्यु हुनुको साथै कैंयौ संख्यामा घाईते हुने गरेको कुँवरले बताए ।

विपद अगाडी न्यूनीकरण तथा पूर्वतयारी गर्नु, विपदको बेला खोज, उद्धार, उपचार, राहत र विपदपछि पुनःस्थापना, पुनःनिर्माणका गतिविधीहरु सुव्यवस्थित तरिकाबाट संचालन गर्न अपनाइने सबै उपायहरु निर्माण गरिने स्थानीय विपद तथा जलवायु उत्थानशिल योजनामा समावेश गरिने बताईएको छ ।

भेरी नगरपालिकाका प्रमुख घर्तीको अध्यक्षतामा सम्पन्न भएको तीन दिने कार्यशाला गोष्ठीको सहजीकरण विमल कुँवरले गरेका थिए । स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरी नगरपालिकालाई गोर्खा वेल्फेर ट्रष्ट नेपालद्धारा संचालित उत्थानशिल खानेपानी, सरसफाई तथा विपद तयारी कार्यक्रमले सहयोग गरेको थियो । उक्त कार्याशाला गोष्ठीको व्यवस्थापन गोर्खा वेल्फेर ट्रष्ट नेपालका प्रतिनीधि सुमेरु त्रिपाटीले गरेका थिए । गोष्ठीमा नगर उपप्रमुख सिता जैसी, वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, राजनीतिक पार्टीका प्रतिनीधि, पत्रकार लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त स्थानीय विपद तथा जलवायु उत्थानशिल योजनाले अबको केही दिनमै पूर्णता पाउने नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्