Hamro Sanchar

प्रजिअ सुनारलाई सम्मान गरेर त्रिभुवन मावि खलंगाले मनायो ७१ औं बार्षिकोत्सव

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/११/१९ गते
जाजरकोट

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान गरेर त्रिभुवन माध्यामिक विद्यालय, खलंगाले सनिबार ७१ औं बार्षिकोत्सव मनाएको छ । एसएलसी सम्मको पढाई त्रिभुवन माविबाट पुरा गरेर नेपाल सरकारको उपसचिव पदमा पुग्न सफल प्रजिअ सुनारलाई विद्यालयले सम्मान गरेको हो ।

प्रजिअ सुनारलाई विद्यालयले दोसल्ला ओढाउनुको साथै फुलमाला र अविरले सम्मान गरिएको थियो । विद्यालयको ७१ आंै बार्षिकोत्सव समारोहमा प्रजिअ सुनारलाई सम्मान गरिएको हो । त्यसैगरी ३७ बर्ष सेवा गरेका विद्यालय कर्मचारी मोहन जंग खत्रीलाई विद्यालयले सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

७१ औं बार्षिकोत्सव समारोहमा विभिन्न छात्रवृति पुरस्कार वितरण गर्नुको साथै विभिन्न खेल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । गीत, नृत्य सहितका विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको बार्षिकोत्सव समारोहमा त्रिभुवन माध्यामिक बिद्यालय अरुको नभएर आफ्नो विद्यालय भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले भनाई राखेका थिए । कक्षा ८ देखि १० सम्मको पढाई यसै विद्यालयबाट पुरा गरेको बताउदै नगर प्रमुख घर्तीले त्रिभुवन माविलाई शैक्षिक हवका रुपमा विकास गर्नुपर्ने बताएका थिए । भौतिक संरचनाको विकासले मात्र विद्यालयको शैक्षिक सुधार हुन नसक्ने बताउदै प्रमुख घर्तीले युग सुहाउदो प्रविधिमैत्री शिक्षण हुन आवश्यक रहेको भनाई राखेका थिए । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई लागु औषध दुव्र्यसनबाट बचाउन, जीवन विज्ञान जस्ता मनोपरामर्श, योग तथा व्याम शालाको प्रयोग गर्नु गराउनु पर्नेमा नगर प्रमुख घर्तीले जोड दिएका थिए ।

बार्षिकोत्सवको अबसरमा आफुलाई सम्मान गरेकोमा गर्वानुभुति भएको बताउदै प्रमुख जिल्ला अधिकारी सुनारले विद्यालय परिवारलाई धन्यवाद दिएका थिए । यस विद्यालयको आफु विद्यार्थी हुदा र हालको अबस्थालाई तुलना गर्दा पक्की भवन, खेलमैदान, शौचालय, खानेपानी धारा जडान लगाएत नयाँ बनेका भौतिक संरचनाले विगतको भन्दा आज गुणात्मक विकास भएको प्रजिअ सुनारले भनाई राखेका थिए । विद्यार्थीहरुको विभिन्न प्रस्तुतीले विगतको तुलनामा आज शिक्षण सिकाईमा पनि सुधार भएको बताउदै प्रजिअ सुनारले विद्यार्थीहरुमा आत्मानुशासनको कमि, फितलो विद्यालय प्रशासनका कारण अपेक्षा गरे अनुसार विद्यालयको विकास हुन नसकेकोमा औल्याएका थिए । जिल्लाकै जेठो विद्यालय हुनुको नाताले जिल्लाको शैक्षिक विकास तथा शैक्षिक सुधारको नेतृत्व पनि त्रिभुवन माविलेनै गर्नुपर्ने प्रजिअ सुनारले बताएका थिए । त्रिभुवन माविले समग्र जिल्लाको मनोविज्ञानलाई आकर्षित गर्नुपर्नेमा प्रजिअ सुनारले जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता विसी वलीको अध्यक्षतामा आयोजित बार्षिकोत्सव समारोहका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंह, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार बहादुर शाह, भेरी नगरपालिका–४ का पूर्व वडाअध्यक्ष खम्ब जंग शाह, भेरी ज्ञानोदय क्याम्पस प्रमख बलराम भण्डारी, विद्यालय बाल क्लवका अध्यक्ष प्रवीण प्रकास रावत लगाएतले महत्वपूर्ण भनाई राखेका थिए । उक्त समारोहमा विद्यालय प्रधानाध्यापक भक्त बहादुर मल्लले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय शिक्षिका पार्वती थापा संचालिका रहेको समारोहमा स्वागत भाषण विद्यालय शिक्षक रामप्रसाद घर्तीले गरेका थिए ।

७१ औं बार्षिकोत्सवको अबसरमा विद्यालयले तीन दिन पहिलेदेखि विभिन्न खेलकुद लगाएतका प्रतियोगिताको आयोजना गरेको थियो । उक्त विभिन्न प्रतियोगितामा ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।

२००९ साल फागुन १९ गते स्थापना भएको त्रिभुवन माध्यामिक विद्यालयले समाज रुपान्तरण, देशको विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने जनशक्ति उत्पादन गरेको त्रिभुवन मावि खलंगाले जनाएको छ । देशको नीति निर्माणको तहमा पुगेका शक्ति बहादुर बस्नेत लगाएत कर्णाली प्रदेश सरकार संचालनको तहमा पुगेका गणेश प्रसाद सिंह, वेदराज सिंह, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती लगाएत जिल्लाका अन्य नगर तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षहरुलाई त्रिभुवन मावि खलंगाले शिक्षा प्रदान गरेको बताईएको छ ।

त्रिभुवन मावि खलंगाबाट शिक्षा प्राप्त गरेर राष्ट्रसेवकको उच्च तहमा पुगेका चक्र बहादुर विसी, पुष्पराज शाही, राम बहादुर शाही, सुरेश सुनार लगाएत कयौं डाक्टर, इन्जिनियरहरुको नाम विद्यालयले उल्लेख गर्ने गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्