News Portal

जाजरकोटमा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो तीन

१०२६ पटक

जाजरकोटमा एक जना कोरोना संक्रमितको मंगलबार मृत्य भएको छ । जिल्ला अस्पतालमा उपचार गराई रहेका भेरी नगरपालिका–७ दोकानाका ७६ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको मंगलबार दिउसो साढी तीन बजे मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् । गत बैसाख २५ गते स्याली बजारमा गरिएको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टी भएका ७८ बर्षिय मृतक होम आईशोलेसनमै बसेर उपचार गराई रहेका थिए, महामारी फोकलपर्सन खत्रीले भने–‘उहाँलाई गाह्रो भएपछि उपचारका लागि आज दिउसो साढी एक बजे जिल्ला अस्पतालमा पुर्याईएको थियो, उपचार गर्दा गर्दै दिउसो साढी तीन बजेतिर उहाँको मृत्यु भएको हो ।’

उपचारका क्रममा मंगलबार मृत्यु भएका संक्रमित सहित जाजरकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत बैसाख तेस्रो सातामा भेरी नगरपालिका–४ सिर्जना टोलकी ४५ बर्षिय एक महिलाको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने, सोही सातामा नलगाड नगरपालिका–११ का वडा सदस्यको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

उपचारका क्रममा मंगलबार जिल्ला अस्पतालमा मृत्यु भएका ७८ बर्षिय संक्रमितको लास भाेली नेपाली सेनाले ब्यबस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका छन् ।

जाजरकोट जिल्लामा ११ चैत २०७६ देखि ४ जेठ २०७८ सम्म ८९७ जना कोरोना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा संक्रमित ८९७ जना मध्ये हालसम्म ३४९ जना सन्चो भएर घर फर्केको उल्लेख गरिएको छ भने, जिल्लामा ५४१ जना सक्रिय संमित रहेको आज प्रकाशित दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ । त्यसैगरी उपचारका लागि ५ जना संक्रमितलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको, एक जनाको जिल्ला मै मृत्यु भएको र एक जना जिल्ला भन्दा बाहिर बाँके जिल्लामा उपचारका क्रममा मृत्यु भएको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्