Hamro Sanchar

न धारा, न पानी तर सुन्दर धारापानी

प्रकाशित : २०८०/१२/१ गते

कृष्ण बहादुर गिरी

जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक सुन्दरीको नाकको डाँडी जस्तो हरियाली डाँडाको नाम हो, ‘धारपानी’ । यो गाउँपालिकाको बीच भागमा पर्ने र परापूर्व काल देखि नै एक प्रख्यात जात्रा लाग्ने ठाउँ पनि हो । जहाँबाट दैलेख, सुर्खेत, सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालिकोट जिल्ला र जाजरकोट जिल्लाका सबै स्थानीय तहसम्मका केहि भूःभाग र बिभिन्न जिल्लामा रहेका हिम श्रृखलाहरु देख्न सकिन्छ । यो भौगोलिक रुपमा बिकट भए पनि  प्राकृतिक रुपमा  एक सुन्दर मनोरम ठाउँ हो । गाउँपालिकाको केन्द्र नजिकै रहेको ठाउँ भएकाले प्रायः प्रकृति प्रेमीहरु बेला मौकामा गइरहने गर्छन । कहिले कसो जोडी बनाएर प्रेमी, प्रेमिकाहरु र समुहमा साथी, भाइहरु जाने गरेको पनि देखिन्छ । त्यहिँबाट दिनभर टहलिने, खाजा खाने र वनभोज गरी रमाउने गरेको पनि पाइन्छ ।

अहिले शिशिर ऋतु सकिन र बसन्त ऋतु लाग्नै लाग्दा अझ त्यो ठाउँको महत्व झन बढिरहेको छ । यो पंक्तिकार स्वयंमलाई पनि सिर्जना, रचना गर्नका लागि उपयुक्त ठाउँ भएकाले बेला मौकामा जाने, सोच्ने, बिचार गर्ने  गरिन्छ । जस्को परिणाम स्वरुप आज उक्त स्थान र आसपासको क्षेत्रलाई समेटेर यो लेख मार्फत सानो चर्चा गर्ने प्रयास गरेको छु । यस ठाउँका बारेमा लेख्ने, बोल्ने काम खासै कसैबाट नभए पनि २०४०।०४२ सालतिर एक पटक देउडा गायक, कलाकार स्वर्गिय शेर बहादुर अधिकारीले आफ्नो गित मार्फत देउली, धारपानी र चिनकम्द जाजरकोटका ऐतिहाँसिक र पर्यटकिय स्थल हुन र यी ठाउँहरुमा स्थानीय मेलाजात्रा लाग्दछन भनेर उति बेला नै राष्ट्रिय संचार माध्यम रेडियो नेपालको, तत्कालिन प्रतिभा साँझ कार्यक्रम मार्फत परिचय दिएको मैले सुनेको हुँ । आज त्यहि ठाउँमा आफू पुगेर अतितलाई सम्झन पाउदा यस बिषयमा लेख्ने प्रयत्न गरें ।

धारपानी प्राकृतिक रुपमा सुन्दर र रमणिय स्थान हो रहेछ भनेर त्यतिबेला नै मैले पहिलो पटक सुनेको थिएँ । धेरै पटक  यस ठाउँलाई चिनाउन खोजिए पनि अनुकुल समय नमिलेको ले खासै यसका बारेमा लेख्ने तथा चर्चा गर्ने काम भएको थिएन ।२८ गते ग्यालपो ल्होसार पर्वमा नेपाल सरकारले दिएको बिदाको समय उपयोग गर्दै यस ठाउँलाई अझ बढि चिन्ने, चिनाउने उद्देश्यले यो सानो प्रयास गर्न पुगें ।

यो ठाउँ आफैमा प्रर्यटन प्रबर्द्धन र विकासको लागि एक रणनैतिक महत्वको ठाउँ पनि हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ बमोजिम पालिकाको केन्द्र निर्धारणका लागि स्थान गाउँसभाले तोक्ने ब्यबस्था बमोजिम लामो बहस र छलफल पश्चात उक्त स्थल धारपानी क्षेत्रलाई लक्षित गरी नजिकैको गाउँ भार्मलाई गाउँपालिकाको प्रशासनिक केन्द्र तोकिएको छ । जग्गा जमिन, पानी, बस्ती र बाटोघाटोको सुबिधालाई हेरेर गाउँपालिकाको प्रशासनिक केन्द्र, भार्मलाई तोक्नु उपयुक्त नै लाग्यो । चारैतिरको भौगोलिक दूरि हेर्दा भार्म गाउँ केन्द्र भागमा नै छ । त्यहि भएर पनि यस ठाउँलाई प्रशासनिक केन्द्र तोक्न उपयुक्त ठानिएछ। हुन त कुशे गाउँपालिकामा आवास गर्न, बस्ती बसाल्न, कार्यालय स्थापना गर्न, स्कुल, कलेज बनाउनका लागि थुप्रै यस्ता लोभलाग्दा ठाउँहरु छन । तर पनि गाउँपालिकाको सबै बस्तिलाई मध्यबिन्दु पर्ने र नजिकमा प्रर्यटकिय स्थल भएका ठाउँहरु त्यति छैनन् । ती मध्यको उपयुक्त ठाउँ यहि नै हो जस्तो लाग्यो ।अन्तिम चरणमा निष्कर्षमा पुगेपछि यस ठाँउका बारेमा आम सहमति हुन गएछ प्रशासनिक केन्द्र स्थापनाका लागि । तसर्थ यसलाई एक सकरात्मक पक्ष मान्नुपर्छ ।

तर अपसोच ! अहिलेसम्म बर्षौं बितिसक्यो कतिपय स्थानीय तहले अझै  केन्द्रको टुङ्गो लगाउन सकेका छैनन् । कहिले काँहि यहाँका जनप्रतिनिधिहरु भन्ने गर्नु हुन्छ, केन्द्र निर्धारण गर्दा त्यति सहज भएन । आफ्नै टिम तथा बाहिरको टिमलाई मिलाउन धौ, धौ भयो । निर्णय गरेको छ महिनासम्म पनि कतै असुन्तुष्ट पक्षबाट आक्रमण हुन्छ कि ? भन्ने डरले बाटो तर्केर हिड्नु पर्ने अबस्था आयो रे ! केहि सरकारी समानहरु त खोसिए पनि भनेर रमाइलो प्रसंग सुनाउनु हुन्छ ।

धारपानी क्षेत्रको विकास गर्न कुशे गाउँपालिका र कर्णाली प्रदेश सरकारले सडक निर्माण तथा बद्युत जडान र पर्यटन प्रबर्द्धन सम्बन्धि कामका लागि बर्षेनी बजेट लगानी गरिरहेको छ । कुशे गाउँपालिकाको प्रवेशद्वारको रुपमा रहेको क्षेत्र बाटुले देखि गाउँपालिका केन्द्र भार्म हुदै कुशे पाटनसम्म जोड्नका लागि रेखांकन गरि बनाउन लागिएको पर्यटन मार्गमा सडक निर्माणका काम भइरहेका छन । यस क्षेत्रमा भएको सडक बिस्तारको कामले थुप्रै आशाहरु पलाउन थालेको देखिन्छ। यो सडकलाई गाउँपालिकाले पर्यटन मार्गको नाम दिएको छ । राप्ती रारा करिडोर र मध्यपहाडी लोक मार्गको नजिकबाटै आमन्ने सामुन्ने हुदैं जुम्लाको कर्णाली राजमार्गसँग जोड्न पुग्ने लक्ष्यका साथ सुरुवात गरिएको यो सडक, विकासका लागि रणनीतिक महत्वको सडक हुने अनुमान गरिएको छ । अहिले गाउँपालिकाको केन्द्र हुदै, अझै माथि १० किलो मिटरसम्म सडकको ट्रयाक ओपन समेत भइसकेको छ । अब यो सडक धारपानी, चुके डाँडा, बांगा डाडा, पाथीभरे, सरूकाँध, गोरु ओडार, नदाइ डाव हुदै कुशे पाटनलाई छिचोलेर जुम्ला पुगि कर्णाली राजमार्ग सँग जोडिन पुग्नेछ । त्यसैले यस मार्गलाई विकास रणनीतिक महत्वको मार्ग  भनिएको छ ।

 उन्नति र विकास सँग सम्बन्धित एक सान्दर्भिक भनाइ छ ।” भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो काम हो, कर्मको तुफान पैदा गर, भाग्यको ढोका आफै खुल्छ ” । भने जस्तै अब कर्म नगरि भाग्य खुल्ने अबस्था छैन । भाग्य खुल्नलाई कर्म नै गर्नुपर्ने छ, न कि मुड्की कस्ने, न बजार्ने क्रियाकलापले समृद्धि देख्न पाइनेछ ? सहज, समथर ठाउँ भन्दा पाखा, पखेरा, बन जंगल , डाँडाकाँडामा संभावना खोज्नु छ । नेपालको बहुसंख्यक ठाउँ यस्तै प्रकृतिका छन ।यस्तै ठाउँ परिबेशबाट जिवन स्तर बदल्न सक्नुछ, असल राजनितिज्ञले अब यस्तै अप्ठेरोमा अवसर खोज्नु पर्नेछ । त्यहि भएर समृद्धि खोज्ने क्रममा यो धारपानी क्षेत्र जस्ता ठाँउको चर्चा गर्दै विकासका संभावना र अवसर पहिचान गर्नुछ ।

शहरको भिडभाड, हो हल्ला, कोलाहल भन्दा यो ठाउँ निकै टाढा छ । त्यहाँ पुगिसकेपछि एकान्त शान्त वातावरणको अनुभुति हुन्छ । मन चंचल हुन्छ, चंचल मनले कर्म गर्ने उर्जा दिन्छ । उर्जा प्राप्तिका लागि कुनै देश, बिदेश धाउनु पर्दैन । त्यो उर्जा यतै आफ्नै ठाउँमा पाउन सकिन्छ । यहाँ घाम र पानीबाट बच्न शहरका जस्ता अग्ला र सिमेन्टका पक्कि घर छैनन् । देवार, ठिंगो, बाझ, रयाझ, खर्सु, काउला जस्ता पक्कि रुखहरु छन । ती रुखले केहि हदसम्म घाम ,पानी छेक्छन र मान्छेलाई ओत लाग्ने ठाँउ दिन्छन । यहाँ शहरको जस्तो धुलो, धुवाँ र ढुँडी हुदैन । लेकमा लाग्ने शीत सहितको कुइरो, बादल अनि सफा हावा र दिनभर घमाइलो घाम छ।यहाँ गाडी, मोटर, जिप, बाइकका, आवाज र तीनका हर्न बज्दैनन् । न्याउली, ढुकुर, डाक्रे, काग, कोइली, टिउरो,’ काफल पाक्यो’ चरीका आवाज सुनिन्छन ।यहाँ शहर बजारका जस्ता रंगी चंगी लाई खाई आएका मानिस देखिदैनन् । केवल रातोचोली र हरियो सारीमा सजिएकि महिला जस्तै देखिने गुराँस, बुरुस र पैंयुका बोट भेटिन्छन ।यी नै बोट, बिरुवाले सुगम र शहरको आनन्द तथा सन्तुष्टि दिइरहेका छन । यी दृश्य शहरका जस्ता बनिबनाउ र लाखौं खर्चबाट बनाइएका दृश्य होइनन् । प्रकृतिले हामीलाई निःशुल्क दिएका बरदान हुन । यसरी पाएको बरदानलाई किन उपयोग नगर्ने ? कहिले गर्ने ? सन्तुष्टि र समृद्धि यस्मै छैन र ? अवश्य छ, हुनुपर्छ ।

 प्रकृतिको यस्तो बरदान हुँदाहुँदै पनि यो ठाउँमा बसेर दुई पैसा कमाइ गर्नेले शहर खोज्न थाले । काम गर्न आउने कर्मचारीले तुरुन्त सरुवा माग्न थाले । युवाहरुले सुबिधा खोज्न शहरमा जाने र उतै रुमलिन खोजे । यहि देखासिकि ले शहरको रहर हो ? या अन्य कुनै कारणले हो ? यस्ता सुन्दर ठाउँ पनि ओझेलमा पर्न थालेका छन । खै कुरा बुझेको ? युवा, साहु, कर्मचारी तथा जनप्रतिनीधिले ‘अप्ठेरोमा नै अबसर हुन्छ भन्ने’ ।

यति चर्चा गर्दागर्दै पनि यो धारपानी क्षेत्रमा केहि अपुगताहरु छन । शीर्षकमा भनिए जस्तै ‘ न धारा न पानी तर सुन्दर धारपानी ।’ धारा र पानी नभएर पनि कसरी सुन्दर र चर्चीत भयो होला यो ठाउँ ? केन्द्र नै बनाउन जनप्रतिनीधिको ध्यान कसरी खिच्यो होला ? धेरै प्रश्नहरु छन । हुनत यहाँ थुप्रै यस्ता मेल नखाने नाम भएका ठाउँहरु छन । जस्तै  ‘फूलचाँउली’ जहाँ अग्लो लेक छ । त्यहाँ धान नै फल्दैन चामल कसरी पाउनु ? चामल नभइ फूलचाँउली ? अनि त्यहि ठाउँको नाम फुलचाँउली ।त्यस्तै अर्को ठाउँ ‘हानेसल्ला’ सल्लाले केलाई हान्यो होला ? किन हान्यो होला ? त्यहि सल्लाको नाम हानेसल्ला । यो त एउटा बिरुवा हो, मेलखाने नाम भयो र ? अर्को ‘चुकेडाँडा’ जहाँ चुकको केहि नामोनिशाना नै छैन, त्यो ‘चुकेडाँडा’ । अर्को ‘फूलबारी’ जहाँ फुल पनि छैन, बारी पनि छैन, त्यहाँ ‘फूलबारी’? यस्ता धेरै ठाउँहरु छन।नाम अनुसारको बिशेषता नमिल्ने।साच्चै नाम अनुसारको ठाउँ भइदिए कति राम्रो हुन्थ्यो होला ? मानिस त्यति टाढिने, हतारिने र सरुवा माग्ने थिएनन् होला ? भन्न खोजेको के हो भने ? धारपानी डाँडामा, धारा र पानी प्रशस्त भएको भए यस्को महत्व अझ अर्कै हुने थियो।आजभोली यस ठाउँमा पानीको अत्यधिक अभाव छ । न कतैबाट ल्याउने ठाउँ छ, न मुहान नै छन ।यो त भयो धारपानीमा पानीको कुरा । अब रह्यो धारपानीको नजिक रहेको गाउँ भार्म र सो गाउँमा भएको प्रशासनिक केन्द्र भार्ममा पानीको अवस्था ।

यहाँको बजार क्षेत्र जहाँ १५–२० घर बस्ती छ । त्यो बस्तीमा भएको जनसंख्या, बजार, ब्यापारी, ग्राहक, गाउँपालिकामा रहेका ५० देखि ६० जना कर्मचारी, सुरक्षाकर्मी, बैंक बित्तिय संस्थाका कर्मचारी, दैनिक जसो आउने सेवाग्राहि र अन्य ब्यक्तिको आवत, जावतलाई अड्कल गर्दा एकदिनमा करिब चार, पाँचसय मानिसहरुको चहल, पहल हुने देखिन्छ । यति जनसंख्यालाई पानी चाहिने त भयो नि ? स्वभावैले बजार क्षेत्रमा पानी प्रशस्त हुनु पर्ने हो, तर छैन। त्यहि भएर पानीको ब्यबस्था गर्न भनेर गाउँपालिकाले एक बर्ष अघि यस ठाउँमा धेरै टाढा देखि लेकबाट एक लाइन पाइप बराबर आउने पानीको ब्यबस्था गरेर आठ, दसवटा धारा बनाएको थियो ।धारामा पानी पनि आएको हो । तर बिडम्बना त्यो योजना तीन महिना पनि नटिकेर  बनेका धाराले घाम तापिरहेका छन, पानी छैन । आज पानी जोड्यो भोली कसैले बीचमा पाइप काटिदिन्छ । यसो किन गरेको भन्दा ? हामीले काम गरेको पैसा पाएका छैनौ त्यसैले हो भन्छन । पैसा किन नदिएको भनि समितिलाई सोद्धा प्राविधिक मुल्याँकन कम भयो अनि योजनाको रकम घटेको कारणले दिन सकिएन भन्छन ।प्राविधिकसँग बुझ्दा हाम्रो गाउँपालिकाको दररेट अनुसार नै हो  मूल्याँकन गरि रकम भुक्तानी दिएको भन्ने जवाफ आउँछ । खास बास्तविकता के हो ? बुझ्नै सकिएको छैन ।

सरदरमा एक जना मानिसलाई चौबीस घण्टामा कम्तीमा नुहाउने, खाने र लुगाधुने गरी एक सय लिटरसम्म पानीको आवश्यक्ता पर्छ  होला ? यसरी हिसाब गर्दा करिब दैनिक पाँचसय मानिसका लागि पचास देखि साठी हजार लिटर पानीको आवश्यक्ता हुने हो यहाँ ।तर त्यो पानीको अभाव लेकको पानीले पूर्ति गर्ला भनिएको थियो बिविध कारणले लेकको पानी नआउदा अहिले यहि समयमा नै पानीको हाहाकार हुन थालिरहेको छ । उक्त पानीको आवश्क्तालाई परिपूर्ति गर्न यस गाउँको बजार क्षेत्रमा दुई, तीनवटा स्थानीय मुहान छन ।ती तीनवटै मुहानको पानीको हिसाब गर्दा अहिले प्रति मिनेट पाँच लिटरसम्म पानी जम्मा हुन्छ  ।यसरी दिनभरको समयमा दस घण्टा जतिलाई हिसाब गरी पानीजम्मा गर्दा सालाखाला तीन हजार लिटर मात्र पानी आपूर्ति हुने देखियो । यसबाट के स्पष्ट हुन्छ भने, पानीको आवश्यक्ता कति रहेछ र आपूर्ति कसरी भइरहेकोछ ? यी तथ्य अनुसार पानी र तेल एकै हुने जस्तो देखियो । अझ खडेरीमा अवस्था झन के होला ?

यसर्थ अब अभाव मात्रै देखाएर समस्याको समाधान हुदैन, बिकल्पको खोजि गर्नुपर्छ ।मेरो बिचारमा सार्वजनिक धारामा पानी ल्याउने सरकारी नीति  असफल हुन थालिसकेको छ । एक आध ठाउँ बाहेक धेरै जसो सार्वजनिक धारामा प्रायः पानी चुहिएको देखिदैन ।ठाउँ ठाँउबाट पाइप छुटाएर, काटेर ब्यक्ति, ब्यक्तिको घरमा लिने, नीजि धारा बनाउने चलन ब्याप्त छ ।यसरी हामी चल्यौं भने किन सार्वजनिक धारा बनाउने ? त्यसो भए अब कर लिएर नीजि धारा दिने ब्यबस्था गर्नुपर्छ ।अव सडक र खानेपानीको विकास मोडेल फेर्नुपर्छ । खोलाको पानी लिफ्ट सिष्टमबाट माथि गाउँमा ल्याउने र पहाडलाई प्वाल (सुरुङ्ग) पारेर सडक बनाउने जस्ता योजना ल्याइयो भने अनि मात्र सफल र प्रभावकारी विकास हुनसक्छ ।

भार्ममा तत्काल खानेपानीको समस्या समाधान गर्नका लागि पारिश्रमिक नपाएका श्रमिकहरुको पहिचान गरि ज्याला दिनुपर्छ । पाइपलाई खुला ठाउँमा नराखि भूमिगत गराउनु पर्छ ।कडा चट्टान भएको ठाउँमा फलामे पाइप राख्ने ब्यबस्था मिलाउनु पर्छ । पानी तथा लाइन हेर्न चौकिदार ब्यबस्था गर्नुपर्छ, भने स्थानीय स्तरमा रहेका स्थायी मुहानहरुलाई  संरक्षण गरि समय अनुसार पानी बितरण गर्ने ब्यबस्था मिलाउने काम गरियो भने केहि हदसम्म पानीको मात्रा आपूर्ति हुने र उपभोगतालाई सहज हुनेछ । भविश्यमा लिफ्ट सिस्टमबाट नै पानी ल्याउनु पर्छ, खोलाको पानी माथि गाउँमा।न मुहानको टंटा, न पानीको अभाव ।

नेपालको संम्विधानको भाग-३ को मौलिक हक सम्बन्धि ब्यबस्थाको धारा ३५ को (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने ब्यबस्थाले राज्य र सरकारको भूमिकालाई ‌औंल्याएको छ। खानेपानीको महत्वलाई इङ्गित गर्छ साथै कानुनी प्रश्न पनि उठ्छ ।अर्को तर्फ मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने भनिएको छ । तर पानीको अभावमा सरसफाइ नगरि मुस्कान सहित सेवा प्रवाह गर्ने गरियो भने के होला ? कर्मचारीबाट कतै दुर्गन्ध फैलिइ सेवाग्राही आकर्षित हुनुको साटो टाढिने त होइनन् ? यसमा बिचार पुर्याउनु पर्छ । पानी आधारभूत आवश्यक्ता हो । सेवा प्रबाहका लागि पनि दैनिक पानी आवश्यक छ । तसर्थ अब राज्य तथा सरकारले नागरिकको  मौलिक हक भित्र पानी पाउने अधिकार छ भन्ने बुझ्नुपर्छ ।

त्यसैले अब देखि ब्यक्ति तथा ठाउँको नाम सकभर राम्रो नै राखौं ।त्यहि नाम अनुसारको विशेषता पनि थपौं, सुबिधा पनि बढाऔं । न कि धारा र पानी नभइ धारपानी राख्ने, सानो अभावले सुन्दर धारपानी हुनबाट रोक्ने नगरौं । सचेत बर्गले बरु तिब्र गतिमा यस्ता अभावलाई बेलैमा संम्बोधन गर्ने गरौं । यसो भयो भने कर्मचारीले छिट्टै सरुवा माग्ने छैनन् । साहुले अन्यत्र लगानी गर्ने छैनन् । युवाहरु शहरमा रुमलिने छैनन्।केन्द्रमा सरकार छिन, छिनमा बदलिए जस्तै कर्मचारी संयन्त्र र समाज बदलिने छैन । गतिमा अघि बढ्ने छ । नाउँ अनुसारको ठाउँपनि सुन्दर र बसौं बसौं जस्तो हुनेछ । अब  हर दिन, हर रात आफू बसेकै ठाउँमा सुबिधा थपि मिहिनेत गरेर बसौं, खुसी टाढा नखोजौं, आफ्नै वरिपरी खोज्न सिकौं । चेतनाका लागि !

(लेखक गिरी कुशे गाउँपालिका को शिक्षा,युवा तथा खेलकुद शाखामा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस्