Hamro Sanchar

राष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन

प्रकाशित : २०८०/१२/४ गते

जाजरकोट

राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो ।

आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको लगत संकलन तथा निस्सा वितरण लगाएतका कामको विवरण सार्वजनिक गरेका थिए । हालसम्म भूमिहीन दलित १४८ जना, सुकुम्वासी ५६ जना, अव्यवस्थित बसोबासी ६ हजार ४२ जना गरी कुल ५ हजार २ सय ४६ जना रहेका छन् ।

अध्यक्ष रावतका अनुसार, बारेकोट गाउँपालिकामा भूमिहीन दलित १३, भूमिहीन सुकुम्बासी ६ र अव्यवस्थित बसोबासी ४ सय ६ जनाको लगत संकलन गरिएको छ । शिवालय गाउँपालिकामा भूमिहीन दलित ११, भूमिहीन सुकुम्बासी ५, अव्यवस्थित बसोबासी ३ सय ३६ जनाको लगत संकलन गरिएको छ । छेडागाड नगरपालिकामा ३९ भूमिहीन दलित, १३ भूमिहीन सुकुम्बासी र १ हजार ९ सय ७५ अव्यवस्थित बसोबासीको नाम दर्ता गरिएको छ ।

भेरी नगरपालिकामा ४१ भूमिहीन दलित, १७ भूमिहीन सुकुम्बासी, १ हजार ६ सय ७१ अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ । जुनीचाँदे गाउँपालिका भूमिहीन दलित १, अव्यवस्थित बसोबासी ७५ जना, कुशे गाउँपालिकामा भूमिहीन दलित ४, भूमिहीन सुकुम्बासी १ र अव्यवस्थित बसोबासी २४ जनाको लगत संकलन गरिएको अध्यक्ष रावतले बताए । त्यस्तै, नलगाड नगरपालिकामा भूमिहीन दलित ३९, भूमिहीन सुकुम्बासी १४ र अव्यवस्थित बसोबासी १ हजार ५ सय ५५ जनाको लगत संकलन गरिएको छ ।

आयोगले छेडागाड नगरपालिकामा निस्सा वितरण गर्नुको साथै नापजाँचको तयारी गरेको छ भने, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा निस्सा वितरण गरेको छ ।

नलगाड नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरणको काम शुरु गरिएको छ । भुमिहीन दलित, भुमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्दासम्म आयोगले २४ चरणका कामहरु सम्पन्न गर्नुपर्ने बताउदै विज्ञ सदस्य नवराज शाहीले जाजरकोटमा १५ चरणसम्मका काम सम्पन्न भएको जानकारी दिएका थिए । सदस्य शाहीले दिएको जानकारी अनुसार जग्गा प्राप्त गर्न लगत संकलन लगाएका कामहरु गर्नका लागि जिल्लाका सवै पालिकाले फेरी अर्को सुचना प्रकाशित गर्नुपर्ने माग राखेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्