News Portal

जाजरकोटमा कोरोना संक्रमितहरुको उपचारमा थप व्यवस्थापन

६२० पटक

जाजरकोटमा कोभिड–१९ संक्रमितहरुको उपचारमा थप व्यबस्थापन गर्न थालिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले तिब्र रुप लिन थालेपछि उपचार व्यवस्थापन थप गर्न लागिएको हो ।

सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताललाई कोभिड–१९ उपचार अस्पतामा विकास गरिएको छ । सोमबारसम्म ३ वटा आईसीयू कक्षमा अक्सिजन सहितका ३३ र साधारण ७० वटा गरी १०३ वटा आईशोलेसन बेडलाई बुधबार १२२ वटा बेड पुर्याइएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । कार्यालयले अक्सिजन सहितका ३३ वटा र साधारण ८९ वटा बेडको आइशोलेसनको ब्यबस्था गरिएको जनाएको छ ।

एक भेन्टिलेटर कक्षमा एक वटा एचडीयू बेड संख्यालाई १० वटामा पुर्याईएको जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । त्यसैगरी जिल्लाका सबै पालिका र अस्पतालमा गरी ७५ वटा अक्सिजन सिलिण्डर रहेको जिल्लामा ९० वटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको प्रकाशित दैनिक प्रतिवेदन विवरणले देखाएको छ ।

त्यसैगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतले कार्यक्रमबाट रकमान्तर गरेको बजेटबाट ४० वटा कन्सन्ट्रेटर सहितका अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी भई रहेको भेरी नगरपालिकाले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको दैनिक प्रतिवेदन विवरण अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ९२० जना पुगेको छ । ११ चैत २०७६ देखि ५ जेठ २०७८ सम्मको प्रकाशित दैनिक प्रतिवेदन विवरणमा ३७० जना सन्चो भएर घर फर्केका छन् भने, ५४२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी जिल्ला भन्दा बाहिर रिफर गरिएका संक्रमित ६ जना रहेका छन् भने, २ जना संक्रमितको जिल्लामै मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा जिल्ला भन्दा बाहिर बाँके जिल्लामा मृत्यु भएको छ ।

त्यसैगरी भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरण अनुसार दोस्रो लहर पश्चात भेरी नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या ४८१ जना पुगेको छ । ८७ जना सन्चो भएर घर फर्केका छन् भने, ४०० जना सक्रिय संक्रमितहरुले होम आईशोलेसनमा रहेर उपचार गराई रहेको जनस्वास्थ्य निरिक्षक निशा थापा केसीले जानकारी दिएकी छन् । जनस्वास्थ्य निरिक्षक निशाले दिएको जानकारी अनुसार होम आईशोलेसनमा रहेर उपचार गराएका ४६५ जना संक्रमित मध्ये ६३ जनालाई सन्चो भएर डिस्चार्ज भएका छन् भने, २ जनाको मृत्यु भएको छ । त्यसैगरी नगर आईशोलेसनमा रहेर उपचार गराई रहेका २८ जना संक्रमितहरु मध्ये ४ जनालाई रिफर गरिएको छ भने, २४ जना सन्चो भएर घर फर्केका छन् । पिसीआर परिक्षणको लागि ५५९ जनाको स्वाब संकलन गरेको नगर स्वास्थ्य शाखाले ४९१ जनाको एन्टीजेन परीक्षण गरिसकेको छ ।

भेरी नगर स्वास्थ्य शाखाले परीक्षणका लागि यही जेठ १ गते वडा नं. २ र ४ का १२० जनाको स्वाव संकलन गरेर ल्याब प्रयोगशाला सुर्खेतमा पठाएको थियो । ९६ जनाको स्वाब परीक्षणको रिर्पोट बुधबार आईपुगेको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । ९६ जनामा गरिएको स्वाब परिक्षणबाट ३७ जनालाई कोरोना पुष्टी भएको छ भने, २४ जनाको रिर्पोट आउन अझै बाँकी रहेको नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव यज्ञनाथ गौतमले जानकारी दिएका छन ।

छेडागाड नगर अस्पतालमा बुधबार ३ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १ जनालाई कोरोना पुष्टी भएको नगर अस्पतालमा कार्यरत कुन्ता गिरीले जानकारी दिएकी छन् । त्यसैगरी बुधबार झाप्रा स्वास्थ्य चौकीले २० जनालाई गरेको एन्टीजेन परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएको छेडागाड नगर स्वास्थ्य शाखाका कार्यरत अहेब रामबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्