Hamro Sanchar

एसइइको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय विद्यार्थी परीक्षामा सहभागी

प्रकाशित : २०८०/१२/१५ गते

जाजरकोट
एसइइ परीक्षाको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २२ वटा केन्द्रमा संचालन गरिएको परीक्षाको पहिलो दिन ४ हजार ५ सय ६ जना विद्यार्थी सहभागी भएका हुन् ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । नियमित र ग्रडबृद्धि तर्फका गरेर ४ हजार ५ सय ६ जना विद्यार्थीले परीक्षामा भाग लिएका छन् भने, १८४ जना विद्यार्थी अपसेन्ट भएका छन् । जिल्लाका २२ वटा परीक्षा केन्द्रमा नियमित तर्फका ४ हजार ६०२ र ग्रेटबृद्धि तर्फका ६७ जना गरी जम्मा परीक्षा दिने विद्यार्थीहरुको संख्या ४ हजार ६६९ जना रहेको थियो ।

२ हजार २७० छात्रा र २ हजार १८५ छात्रा गरी जम्मा ४ हजार ४५५ जना विद्यार्थीले नियमित तर्फको परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका सुचना अधिकारी तथा परीक्षा शाखाका प्रमुख तिलक भट्टराइले जानकारी दिएका छन् । सुचना अधिकारी भट्टराईले दिएको जानकारी अनुसार २७ जना छात्रा र २४ जना छात्र गरी जम्मा ५१ जना विद्यार्थी ग्रेडबृद्धिको परीक्षामा सहभागी भएका छन् । ७४ जना छात्रा र ७१ जना छात्र गरी जम्मा १४५ जना नियमित तर्फका विद्यार्थी परीक्षामा सहभागी हुनसकेका छैनन् भने, २० जना छात्रा र १९ जना छात्र गरी जम्मा ३९ जना ग्रेडबृद्धि तर्फका विद्यार्थी परीक्षामा सहभागी हुन नसकेको सुचना अधिकारी भट्टराईले बताएका छन् ।

जिल्लाका २२ वटै केन्द्रमा परीक्षाको पहिलो दिन शान्तिपूर्ण र मर्यादित तरिकाले परीक्षा सम्पन्न भएको भट्टराईले बताएका छन् । लक्ष्मी प्राप्ती माध्यामिक विद्यालय खुर्पा परीक्षा केन्द्रमा एक–दुई जना फर्जी विद्यार्थीले परीक्षा दिने गरेको बाहेक जिल्लाका सबै परीक्षा केन्द्रमा मर्यादित तरिकाले परीक्षा संचालन भएको सुचना अधिकारी भट्टराइले दावी गरेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्