Hamro Sanchar

तल्लुबगरमा आँखा जाँच, चश्मा तथा औषधि वितरण

प्रकाशित : २०८०/१२/१६ गते

जाजरकोट
नलगाड नगरपालिका–१२ तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरिएको छ । नलगाड नगरपालिकाको समन्वयमा नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशले संचालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले विहिबार तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरेको हो ।

समुदाय स्तरमा गरिएको आँखा जाँच, चश्मा तथा औषधि वितरण कार्यक्रमबाट १४७ जना नागरिकले सेवा प्राप्त गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिएकी छन् । नेत्र सहायक टंक हमालले १४७ जनाको आँखा जाँच गरेका थिए । आँखा जाँच गराएका १४७ जनामध्ये ६९ जना महिला रहेका थिए भने, ७८ जना पुरुष रहेका थिए । नलगाड नगरपालिका– १० –११ –१२ र १३ नम्बर वडाका ६० देखि ८० बर्षसम्मका जेष्ठनागरिकहरु आँखा जाँच गराउन तल्लुबगरमा पुगेका थिए ।

उक्त आँखा जाँच, चश्मा तथा औषधि वितरण कार्यक्रममा न्युन दृष्टी भएका ५७ जनालाई चश्मा वितरण गरिएको सामुदायिक संयोजक सुनारले बताएकी छन् । सामुदायिक संयोजक सुनारले बताए अनुसार आँखा चिलाउने, पोल्ने, केचा लाग्ने, आँशु बग्ने जस्ता समस्या भएका १३१ जनालाई औषधि वितरण गरिएको छ । २७ जनालाई मोतिविन्दु शल्यक्रियाको लागि रिफर गरिएको छ ।

तल्लुबगरको उक्त आँखा जाँच, चश्मा वितरण तथा औषधि वितरण कार्यक्रम विहिबार नलगाड नगरपालिका–३ का वडा अध्यक्ष तथा कावा नगरप्रमुख कौशी बहादुर बिष्ठले रिभन काटेर उद्घाटन गरेका थिए । जनताको घरदैलोमै पुगेर मान्छेलाई दृष्य ज्ञान हासिल गराउने आँखा जस्तो महत्वपूर्ण अंगको सेवा प्रवाह गर्ने अबसर प्राप्त भएकोमा कावा नगर प्रमुख विष्ठले खुशी व्यक्त गरेका थिए । आँखा सम्बन्धिका विभिन्न सेवा प्रवाहमा नगरपालिकालाई सहयोग गरेकोमा शुखी व्यक्त गर्दै कावा नगर प्रमुख विष्ठले नेपाल नेत्र ज्योति संघलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्