Hamro Sanchar

जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

प्रकाशित : २०८०/१२/१८ गते

जाजरकोट
जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो ।

१९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो पटक भलिवल कपको आयोजना गरिएको शहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए । आयोजना गरिएको भलिवल कपले भलिवल खेलमा जिल्लालाई योगदान गर्नुको साथै निराशा र कुन्ठाबाट आर्जित युवाहरुको दिमागमा आशा जगाउने अध्यक्ष विश्वकर्माले दावी गरेका छन् । अन्डर–१९ भलिवल कप–२०८० को जानकारी गर्न सनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष विश्वकर्माले यही चैत २४ गतेदेखि २७ गतेसम्म भलिवल टुनामेन्टको आयोजना गरिएको बताए । उक्त भलिवल कप जिल्ला सदरमुकाम खलंगामा संचालन गरिने उनले बताएका छन् ।

अन्डर–१९ भलिवल कप–२०८० को मुख्य उदेश्य भलिबल खेल क्षेत्रमा खेलाडी उत्पादन गर्ने, खेल क्षेत्रमा लगानी गर्ने प्रणालीको विकास गर्ने, युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने र खेल क्षेत्रलाई व्यवसायिक रुपमा स्थापित गर्न पहल गर्ने, युवाहरुलाई खेलकुदको माध्यमबाट धुम्रपान, मध्यपान र लागुऔषध सेवनको कुलतबाट जोगाउने, युवाहरुमा स्वस्थ प्रतिस्पर्धाको भावनाको विकास गराइ समाज निर्माण कार्यमा सक्रिय गराउने, खेलकुदको माध्यमबाट युवाहरुको क्षमता विकास गर्ने, राज्य प्रति जिम्मेवार बनाउने, स्थानीय तह र युवाहरु बिचको सम्बन्धलाई विस्तार गर्न पुलको काम गर्ने, युवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म ख्याति बनाउन सहयोग गर्ने, खेल मार्फत सहिदको गरिमालाई उच्च सम्मान गर्ने, खेल मार्फत सहिदको गरिमालाई उचो बनाउने र खेलाडीको पहिचानलाई सहिद स्मृतिसंग जोड्ने रहेको अध्यक्ष विश्वकर्माले बताए ।

उक्त भलिवल कपमा जिल्ला भित्रकै खेलाडीले मात्र भाग लिन पाउने, कपमा भाग लिने खेलाडी १९ बर्ष मुनीका हुनुपर्ने, कपमा भाग लिने खेलाडीहरुले अनिवार्य सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने, खेलाडीले जन्मदर्ता, नागरिकता वा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने, खेलाडी अनिवार्य खेल पोशाकमा हुनु पर्ने लगाएतका नियमहरु कप संचालनका लागि तयारी गरिएको टुनामेन्ट संचालक समितिका अध्यक्ष विबश विक्रम शाहले जानकारी दिएका छन् ।

उक्त भलिवल टुनामेन्टको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३५ हजार, तृतिय पुरस्कार २५ हजार रहेको अध्यक्ष विश्वकर्माले बताएका छन् । त्यसैगरी सर्वाेत्कृष्ट खेलाडीलाई ५ हजार, वेस्ट स्पाइकरलाई २५ सय, वेस्ट सेटर २५ सय, वेस्ट ब्लकर २५ सय, वेस्ट डिफेन्सर २५ सय, इमर्जिङ प्लेयर २५ सय र वेस्ट प्रशिक्षकलाई एक हजार पुरुस्कारको व्यवस्था गरिएको उनले बताएका छन् । ४ दिनसम्म खलंगामा संचालन गरिने उक्त भलिवल कपमा ३ लाख खर्च हुन सक्ने अनुमान गरिएको अध्यक्ष विश्वकर्माले बताएका छन् । शहिद स्मृति युवा क्लवले आगामी प्रत्येक बर्षहरुमा भलिवल टुनामेन्ट संचालन गर्ने आयोजक समितिले बताएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्