News Portal

जाजरकोटमा सक्रिय कोरोना संक्रमित ५४२ जना

३८९ जना संन्चो भएर घर फर्के

८२३ पटक

जाजरकोट जिल्लामा बिहिबार सक्रिय कोरोना संक्रमित ५४२ जना पुगेका छन । भने, ३८९ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यालयले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण अनुसार हालसम्म ६ जनालाई थप उपचारको लागि जिल्ला भन्दा बाहिर रिफर गरिएको छ भने, २ जना संक्रमितको जिल्लामै मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा जिल्ला भन्दा बाहिर बाँके जिल्लामा मृत्यु भएको थियो ।

हालसम्म जिल्लामा ६ हजार ७०६ जनालाई गरिएको पिसीआर परीक्षणबाट ४८४ जनालाई कोरोना पुष्टी भएको ११ चैत २०७६ देखि ६ जेठ २०७८ सम्मको प्रकाशित दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । पिसीआर परिक्षणबाट कोरोना पुष्टी भएका ४८४ जनामध्ये १११ जनाले कोरोना जितेर घर फर्केका छन् भने, सक्रिय संक्रमित ३७३ जनाले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । त्यसैगरी १ हजार ६०६ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ४८० जनालाई कोरोना पुष्टी भएको थियो । एन्टीजेनबाट कोरोना पुष्टी भएका ४८० जनामध्ये २७८ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् भने, १९४ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

भेरी नगरपालिकामा ९१ जनाले कोराना जिते
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहर पश्चात भेरी नगरपालिकामा ९१ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । ३९६ जना संक्रमितहरुले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । ५५९ जनामा गरिएको पिसीआर परीक्षणबाट ३२४ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निशा थापा केसीले जानकारी दिएकी छन । त्यसैगरी ४९८ जनामा गरिएको एन्टीजेन परिक्षणबाट १६० जनालाई कोरोना पुष्टी भएको थापाले बताईन । पिसीआर र एन्टीजेन दुई वटै बिधीबाट १ हजार ५७ जनामा गरिएको परिक्षणबाट ४८४ जनलाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखाले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरेको छ ।

होम आईशोलेसनमा रहेर उपचार गराई रहेका ४६५ जना मध्ये ६७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने, २ जनाको मृत्यु भएको छ । ३९६ जना सक्रिय संक्रमितहरुले अझैपनि होम आईशोलेसनमै रहेर उपचार गराई रहेका छन् । नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका २८ जना संक्रमितहरु मध्ये २४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४ जना थप उपचारको लागि रिफर गरिएको छ ।

बारेकोटमा २७ जना सक्रिय संक्रमित
बारेकोट गाउँपालिकामा हालसम्म ५० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २७ जनालाई कोरोना पुष्टी भएको गाउँ स्वास्थ्य शाखा प्रमुख बीरराज सिंहले जानकारी दिएका छन् । सिंहले दिएको जानकारी अनुसार सक्रिय संक्रमित २७ जना मध्ये ५ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र लिम्साको आइशोलेसनमा राखेर उपचार भई रहेको छ भने, बाँकी २२ जना संक्रमितहरु होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको आईशोलेसनमा रहेर उपचार गराई रहेकाहरु मध्ये बैंकका कर्मचारी र लिम्सा प्रहरी चौकीमा कार्यरत प्रहरी रहेका छन् ।

कुशेमा १४ जना सक्रिय संक्रमित, २ जना डिस्चार्ज
कुशे गाउँपालिकामा हालसम्म २१५ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १४ जनालाई कोरोना पुष्टी भएको गाउँ नगर स्वास्थ्य शाखाका प्रमुख अमर जंग शाहले जानकारी दिएका छन् । संक्रमित १४ जना मध्ये २ जना सन्चो भएर घर फर्की सकेका छन शाहले भने–‘एक जनालाई थप उपचारको लागि हिजो राति नै जिल्ला अस्पताल जाजरकोटमा रिफर गरेका छौं, ११ जना सक्रिय संक्रमितले होम आईशोलेसन मै रहेर उपचार गराई रहनु भएको छ ।’

छेडागाडमा १८ जना संक्रमित थपिए
छेडागाड नगरपालिकाको विभिन्न ठाउँमा बिहिबार ७९ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १७ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत अहेब राम बहादुर थापाले जानकारी दिएका छन् । त्यसैगरी छेडागाड नगर अस्पतालमा बिहिबार १६ जनामा गरिएको एन्टीजेन परिक्षणबाट १ जनालाई कोरोना पुष्टी भएको नगर अस्पतालमा कार्यरत कुन्ता गिरीले जानकारी दिएकी छन् । छेडागाडमा बिहिबार मात्रै १८ जना सक्रिय संक्रमित थप भएका छन् ।

यो समाचार तयार पार्नेवेलासम्म नलगाड नगरपालिका, जुनीचाँदे र शिवालय गाउँपालिकाबाट कोरोना परिक्षण तथा उपचार सम्बन्धिको कुनै पिन जानकारी प्राप्त भएको छैन ।

प्रतिकृया दिनुहोस्