Hamro Sanchar

जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन

प्रकाशित : २०८१/१/५ गते

जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको छ । जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा बुधबारदेखि हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको हो ।

जाजरकोट जिल्ला जन्मेका, हुर्केका र पढेका प्राध्यापक डा. दिर्घराज आरसीले हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन गरेका हुन् । जन्म भुमीप्रतिको मायाले आफुलाई शिविरका माध्यामबाट २६ बर्षपछि जाजरकोट पुर्याएको प्रा. डा. आरसीले भनाइ राखेका थिए । शिविर उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै डा. आरसीले आफ्नो जन्मभुमीमा केही न केही गरौं भन्ने लागेर व्यक्तिगत लगानीमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन गरिएको बताए । गत कातिक १७ गते गएको भुकम्पबाट घाईते भएका व्यक्ति र आर्थिक अभावले हाडजोर्नी र नसा रोगका विरामीहरु जिल्ला भन्दा बाहिर गएर प्रारम्भिक चेकजाँच गर्न नसकेका विरामीहरुका लागि शिविरले ठुलै मद्दत गर्ने डा. आरसीले भनाई राखेका थिए ।

दुई दिनसम्म चल्ने शिविरले न्युतम ५०० भन्दा बढि बिरामीको चेक जाँच गर्ने लक्ष्य राखेको जानकारी दिदै डा. आरसीले विरामीहरुको संख्या बढेमा शिविर संचालन गर्ने दिनलाई पनि बढाउन सकिने बताएका थिए । १ दिनमा ३०० विरामीको स्वास्थ्य जाँच गर्न सकिने बताउदै डा. आरसीले २ दिनसम्म चल्ने शिविरबाट ६०० भन्दा बढि बिरामीको स्वास्थ्य जाँच गर्न सकिने भनाई राखेका थिए ।

काठमाण्डौंको नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलका डाईरेक्टर डा. आरसीको आयोजनामा संचालन गरिएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरमा अन्य प्राध्यापक डाक्टरहरुले आर्थिक तथा प्राविधिक सहयोग रहेका छन् । उनले संचालन गरेको शिविरमा जाजरकोट जिल्ला अस्पताल, लुम्बिनी गार्डेन फाउण्डेशन काठमाडौं, योगेश्वर स्मृति प्रतिष्ठान काठमाडौं, नेपाल रेडक्रस सोसाइटी जाजरकोट र भेरी नगरपालिकाले सहयोग गरेको जनाईएको छ ।

शिविरको पहिलो दिनमै ५०० भन्दा बढि हाडजोर्नी र नसा रोगका विरामीले नाम दर्ता गराई सकेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्