Hamro Sanchar

हाडजोर्नीका ११ जना गम्भीर विरामी अप्रेशनका लागि रिफर

प्रकाशित : २०८१/१/८ गते

जाजरकोट
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा संचालन भएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरबाट हाडजोर्नीका ११ जना गम्भीर विरामीको रिफर गरिएको छ । अप्रेशनका लागि ११ जना हाडजोर्नीका विरामीलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको हो ।

प्राध्यापक डा. दिर्घराज आरसीले जाजरकोटमा संचालन गरेको दुई दिने निशुल्क हाडजोर्नी तथा नसा रोग उपचार शिविरबाट गम्भीर प्रकृतिका ११ जना हाडजोर्नीका बिरामीलाई रिफर गरिएको भेरी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक दिपक वलीले जानकारी दिए । जनस्वास्थ्य निरिक्षक वलीले दिएको जानकारी अनुसार उक्त शिविरबाट हात, खुट्टाका हड्डीनै सडि सकेका ११ जना विरामी फेला परेका थिए । हड्डी सम्बन्धिको अप्रेशन गर्नुपर्ने गाउँका ११ जना विरामीलाई शिविरले उचारको लागि विरामीलाई अनुकुल पर्ने ठाउँमा गएर अप्रेशन गर्न रिफर गरिएको वलीले बताए । उपचारको लागि जिल्ला भन्दा बाहिर जानुपर्ने हड्डी फुटेका, चर्केका, नसा सम्बन्धिका कयौं रोगीहरु शिविरले पहिचान गरेको थियो ।

जाजरकोट जिल्ला अस्पतालमा संचालन गरिएको उक्त शिविरबाट ८५० जना हाडजोर्नी तथा नसा रोगका विरामीले स्वास्थ्य जाँच सेवा लिएको वलीले बताए । शिविरबाट १७८ जनाले स्वास्थ्य जाँचसंगै एक्सरे सेवा लिएका थिए भने, ९० जनाले स्वास्थ्य जाँचसंगै ल्याप जाँचको सेवा लिएका थिए । १८० जनाले स्वास्थ्य जाँचसंगै फिजियोथेरापी सेवा लिएका थिए । स्वास्थ्य जाँच गराएका सबैले निशुल्क औषधि प्राप्त गरेको जनस्वास्थ्य निरिक्षक वलीले बताए ।

१० लाख भन्दा बढि व्यक्तिगत लगानीमा प्राध्यापक डा. आरसीले जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन गरेका थिए । उक्त शिविरमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवकहरुको खाना, बास खर्च, केही औषधि, ल्याप र स्वास्थ्य परामर्श सेवामा भेरी नगरपालिकाले सहयोग गरेको जनस्वास्थ्य निरिक्षक वलीले बताए । जाजरकोट जिल्ला अस्पतालले भवन उपलब्ध गराएर शिविरलाई सहयोग गरेको थियो भने, नेपाल रेडक्रस सोसाइटी जाजरकोटले स्वयमसेवक परिचालन गरेर शिविरलाई सहयोग गरेको थियो । त्यसैगरी योगेश्वर स्मृति प्रतिष्ठान काठमाडौंले प्रचार प्रसार गरेर शिविरलाई सहयोग गरेको जनस्वास्थ्य निरिक्षक वलीले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्