Hamro Sanchar

जाजरकोटमा दाँत र कान सम्बन्धि विशेषज्ञ स्वास्थ्य शिविर संचालन

प्रकाशित : २०८१/१/१५ गते

जाजरकोट
जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको हो ।

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती र प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सनिबार उक्त शिविरको उद्घाटन गरेका थिए । विगत तीन बर्षदेखि विभिन्न परियोजना र कार्यक्रम मार्फत गोर्खा वेल्फेयर ट्रष्ट नेपालले भेरी नगरपालिकासंग सहकार्य गर्दै आएको बताउदै नगर प्रमुख घर्तीले समग्र जिल्लाबासीको लागि दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेकोमा गोर्खा वेल्फेयर ट्रष्ट नेपाललाई धन्यवाद दिएका थिए । साथै नगर प्रमुख घर्तीले शिविर सफलताको कामना गरेका थिए ।

देशका अन्य जिल्लाको तुलनामा जाजरकोट जिल्लाको मानव विकास सुचाङ्क धेरै पछि रहेको बताउदै प्रजिअ आचार्यले जाजरकोट जिल्लाको स्वास्थ्य सुचक झनै पछि रहेको भनाई राखेका थिए । स्वास्थ्य सुचकहरु पछि रहेको जिल्लामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेकोमा प्रजिअ आचार्यले गोर्खा वेल्फेयर ट्रष्ट नेपाललाई धन्यवाद दिएका थिए ।

दाँत र कान सम्बन्धिका बिरामी भएर पनि जिल्ला सदरमुकामसम्म आएर स्वास्थ्य पहुँच राख्न नसक्ने, आर्थिक अभावले जिल्ला भन्दा बाहिरका अस्पतालमा गएर दाँत र कानको उपचार गर्न नसक्ने व्यक्तिहरुका लागि यो शिविर केन्द्रित रहेको गोर्खा वेल्फेयर ट्रष्ट नेपालमा कार्यरत डा. देउमन लिम्बूले भनाई राखेका थिए । सनिबारदेखि सोमबारसम्म तीन दिन चल्ने उक्त शिविरले ६५८ जना विरामीको स्वास्थ्य परीक्षण गर्नुको साथै उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको गोर्खा वेल्फेयर ट्रष्ट नेपालका परियोजना व्यवस्थापक जय लिम्बुले भनाई राखेका थिए । उक्त शिविरबाट उपचार सम्पन्न हुन नसकेका १२ जना विरामीलाई गोर्खा वेल्फेयर ट्रष्ट नेपालले सम्पूर्ण उपचार खर्च ब्यहोर्ने गरी सुविधा सम्पन्न अस्पतालमा लिए उपचार गर्ने योजना रहेको परियोजना व्यवस्थापक लिम्बुले बताएका थिए ।

२१ जना चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरिएको शिविरमा दाँत भर्ने, उखाल्ने, सफा गर्ने र कृतिम दाँत लगाउने लगाएतका सेवा प्रवाह गरिने बताइएको छ । त्यसैगरी कानको जाँच, निशुल्क श्रवण यन्त्र वितरण र कानको शल्यक्रिया सेवा प्रवाह गरिने शिविर आयोजक संस्था गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बताएको छ ।

शिविरमा विरामीहरुको भिडभाडलाई कम गर्नुको साथै उपचारलाई व्यवस्थित गर्न जिल्लाका पालिकाका विरामीहरुको समय तालिका निर्धारण गरिएको छ । शिविर संचालन भएको पहिलो दिन तथा सनिबार बारेकोट र जुनीचाँदे गाउँपालिकाका विरामीहरुलाई उपचार गरिने बताइएको छ भने, दोस्रो दिन तथा आईतबार शिवालय, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका विरामीहरुलाई उपचार गर्ने समय तालिका निर्धारण गरिएको छ । शिविरको तेस्रो दिन तथा सोमबार नलगाड र भेरी नगरपालिकाका विरामीहरुलाई उपचार गरिने समय तालिका टाँस गरिएको छ । विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म शिविर संचालन गरिने आयोजक संस्थाले बताएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्