Hamro Sanchar

भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्गताको सहारा बन्यो इको फन्ड

प्रकाशित : २०८१/१/२७ गते

जाजरकोट

रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ चौरकी लक्ष्मी बटाला विगत ५ बर्ष पहिले लडेर दुवै हात, खुट्टा नचल्ने अपाङ्ग हुन् । गत कातिक १७ गतेको मध्ये राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले घर बस्न लाइक नभएपछि लक्ष्मीलाई ओत लगाउने बासको अभावमा परिवारले सास्ती खेप्नु परिरहेको थियो । उनलाई पकाएर खुवाउने चुलो थिएन । दिसा–पिसाव गराउनलाई सौचालय थिएन् । न्योना कपडा, व्हीलचेयरको अभावमा सास्ति खेपिरहेकी लक्ष्मीलाइ युरोपेलि यूनियनको आर्थिक सहयोगमा सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको साझेदारीमा सञ्चालित (नेपाल इको) जाजरकोट भुकम्प प्रतिकार्य परियोजनाले न्यानो टेन्ट, न्यानो कपडा, चुलो, सोलार बत्ति, शौचालय, खानेपानी ड्रम, बाल्टी, व्हीलचेयर, नगद नगद लगाएतका राहत सामाग्री हस्तान्तरण गरेपछि सहजता पैदा भएको छ ।

लक्ष्मी जस्तै केहि दिन पहिला सुत्केरी भएर दुई बच्चा जन्माएकी रुकुमपश्चिमकै सानोभेरी गाउँपालिका–१ चाइनाबगरकी सन्ध्या पुन भुकम्पले घर भत्काएपछि घरबास विहिन भएकी थिइन् । घर भत्किदा मुस्किलले आफु र आफ्ना दुइ बचाको ज्यान जोगाएकी थिइन् । उनलाई पनि ओत लाग्ने न्यानो बास, शरिरमा लगाउने न्यानो कपडाकै अभावले सास्ती खेपि रहेकी थिईन् ।

 

मध्ये रातिमा भुकम्प जानेवेलामा तीन भाइ अपाङ्ग छोरासंग रुकुमपश्चिम सानोभेरी गाउँपालिका–४ खालचौरकी सिता खत्री घरमै सुतिरहेकी थिइन् । अपाङ्ग छोराहरुसंग सुतिरहेको घर भुकम्प आएर भत्काउला भन्ने कल्पना समेत नगरेकी सिता मध्ये राति तीन भाइ छोरालाइ घर बाहिर निकालेर छिमेकीहरुले सुन्नेगरी बरबराएकी थिईन । भुकम्पले चर्किएको घरमा ओत लाग्ने ठाउँ नभएपछि बस्ने बास, न्यानो कपडा, पकाउनलाइ चुलो र दिसा–पिसावको लागि शौचालयकै अभावमा सिता पिरोलिएकी थिइन् ।

भुकम्प जानेवेलामा रुकुमपश्चिम सानोभेरी गाउँपालिका–४ गोलचौरकी विमला वलीको पेटमा बच्चा थियो । भिरालो जमिनको घर भुकम्पले भत्काएपछि ओत लाग्ने सजिलो ठाउँ नपाएर विमला पिडीत भएकी थिइन् ।

दुधे बच्चालाई काँखमा च्यापेर सुतिरहेकी जाजरकोट भेरी नगरपालिका–१ रिम्नाकी पशुपति पुन भुकम्पले घर हल्लाएपछि झस्किएकी थिइन् । भुकम्पको कम्पनले निन्द्राबाट ब्युझिएकी पशुपति बच्चालाइ काँखमा च्यापेर हत्तन पत्त बाहिर निक्एिपछि उनको घर भत्किएर जिरोमा पुगेको थियो ।

एकाएक मध्येराति आएको भुकम्पले स्थानीय र बाहिरको भनेर कसैलाइ छुट्याएन् । विगत एक बर्ष पहिलादेखि रिम्नामा बस्दै आएकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाकी मुनपुरा जेठारा बसेको घर भुकम्पले ध्वंस्त बनाएको थियो । दुधे बच्चालाई काँखमा च्यापेर दौडिएर ज्यान जोगाएकी जेठारालाई बस्ने बास, खाने गाँस, लगाउने कपडाको अभावमा भौतारिएकी थिइन् । जेठारालाइ युरोपेलि यूनियनको आर्थिक सहयोगमा सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा सञ्चालित (नेपाल इको) जाजरकोट भुकम्प प्रतिकार्य परियोजनाले न्यानो टेन्ट, न्यानो कपडा, चुलो, सोलार बत्ति, शौचालय, खानेपानी ड्रम, बाल्टी, नगद नगद लगाएतका राहत सामाग्री हस्तान्तरण गरेपछि सहजता पैदा भएको छ ।

पहाडी क्षेत्र विकास अभियान, जाजरकोट मार्फत पाएको न्यानो टेन्ट भित्रै चाइनाबगरकी जुम्ल्या बच्चाकी आमा सन्ध्या पुनले सिलाइ कटाई व्यवसाय सुरु गरेकी छन् । टेन्ट भित्रै सिलाइ कटाइ व्यवसाय सुरु गरेपछि जीवन धान्नलाई आय आर्जन गर्न सजिलो भएको सन्ध्याले बताएकी छन् ।

पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले भुकम्प प्रभावित २ वर्ष मुनिका बालबालिका (क) र (ख) वर्गका अपाङ्गता भएका व्यक्ति र ५ महिना भन्दा माथिको गर्भवती भएका घरधुरीलाइ जाजरकोटको भेरी नगरपालिका वडा नं. १ मा १०५, वडा नं. २ मा ३८, वडा नं. ३ मा २२, वडा नं. ४ मा ५५ गरी २२० घरपरिवार, कुशे गाउँपालिका वडा नं. ७ मा ६३ घरपरिवार र रुकुमपश्चिमको सानोभेरी गाउँपालिका वडा नं. १ र वडा नं. ४ का ११७ घरपरिवार गरी जम्मा ४०० घरपरिवारलाई नगद सहितको उक्त सामाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक रत्न डाँगीले जानकारी दिएका छन् । परियोजना संयोजक डाँगीले दिएको जानकारी अनुसार पहाडी क्षेत्र विकास अभियानले ४०० घरपरिवारलाई न्यानो कपडा, ४१६ घरपरिवारलाई शौचालय निमार्ण सामाग्री वितरण गरेको छ । त्यसैगरी पहाडी क्षेत्र विकास अभियानले ४०० घरपरिवारलाई सरसफाईको सामाग्रीहरु खरिद गर्न प्रति महिना ५ हजारका दरले तीन महिनासम्म नगद सहयोग गरेको छ । भुकम्पबाट अपाङ्गता भएका ५३ जनालाई सहायता यन्त्र वितरण गर्नुको साथै सन्देशमुलक पम्पलेट वितरण र रेडियो एफ.एमबाट ३ महिनासम्म जनचेतनामुलक संन्देश प्रस्सारण गरेको छ । त्यसैगरी पहाडी क्षेत्र विकास अभियानले पानी सुद्धिकरण एक्वाटेव टयावलेट वितरण गर्नुको साथै पारासामाजिक कार्यकर्ता मार्फत मनोपरामर्श सेसन, घरभेट कार्यक्रम जोखिममा रहेका वालवालिकाहरुलाई परामर्श सेवा दिएको छ ।

पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ र ४, रुकुमपश्चिमको आठबीकोट नगरपालिका वडा नं. ११ का ५ महिना भन्दा माथिका गर्भवती महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति र २ बर्ष भन्दा कम उमेरका बालबालिका भएका ४०० घरपरिवारलाइ नगद सहित न्यानो टेन्ट, न्यानो कपडा, चुलो, सोलार बत्ति, शौचालय, खानेपानी ड्रम, बाल्टी लगाएतका राहत सामाग्री वितरण गरिएको परियोजना संयोजक हृदय खनालले जानकारी दिएका छन् ।

पाँचतारा युवा संरक्षक मञ्चले नलगाड नगरपालिका वडा नं. ३ का १५५, वडा नं. ४ का १४१, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ११ का १५० घरपरिवारलाइ नगद सहित उक्त राहत सामाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक खनालले जानकारी दिएका छन् । जाजरकोट भुकम्प प्रतिकार्य परियोजनाबाट ४०० घरपरिवारका ५९१ जना महिला, ५९४ जना पुरुष, ६८४ जना बालबालिका गरी जम्मा १ हजार ८६९ जना लाभाम्बित भएको परियोजना संयोजक खनालले बताएका छन् ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट मार्फत संचालित जाजरकोट भुकम्प प्रतिकार्य परियोजनाले संचालन गरेका क्रियाकलापहरुको संयुक्त अनुगमन यही बैसाख २२ गते गरिएको थियो । रुकुमपश्चिम आठबीसकोट नगरपालिकाका उपप्रमख धन कुमारी शाहीको नेतृत्वमा नगरपालिकाको अनुमन समितिको सिंङ्गो टीम, विषयगत शाखा प्रमुख, पाँचतारा युवा संरक्षक मञ्चका उपाध्यक्ष आशा कार्कीको नेतृत्वमा वोर्ड सदस्य, परियोजनामा कार्यरत कर्मचारीहरुको संयुक्त टोलीले अनुगमन गरेको गरेको थियो । भुकम्पीय विपद व्यवस्थापनका कयौं चरणहरु पुरा भइसकेको बताउदै नगर उपप्रमुख शाहीले अब संघ, प्रदेश र स्थानीय तह मात्र नभएर सवै दातृ निकायले पुर्ननिर्माणमा केन्द्रित हुनुपर्ने भनाई राखेकी थिईन् ।

त्यैगरी पहाडी क्षेत्र विकास अभियान जाजरकोट मार्फत संचालित जाजरकोट भुकम्प प्रतिकार्य परियोजनाले संचालन गरेका क्रियाकलापहरुको संयुक्त अनुगमन जाजरकोटको भेरी नगरपालिकामा यही बैसाख २१ गते गरिएको थियो भने, रुकुमपश्चिमको सानोभेरी गाउँपालिकामा यही बैसाख २३ गते गरिएको थियो । भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीको नेतृत्वमा नगर अनुगमन समितिका सदस्य, विषयगत शाखा प्रमुख, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहको नेतृत्वमा वोर्ड सदस्यहरु, परियोजनामा कार्यरत कर्मचारीले भेरी नगरपालिकाको वडा नं. १, ३ र ४ मा संयुक्त अनुगमन गरेका थिए । त्यसैगरी रुकुमपश्चिमको सानोभेरी गाउँपालिकाका अध्यक्ष बिर्ष बहादुर विष्टको नेतृत्वमा गाउँ अनुगमन समितिका सदस्य, विषयगत शाखाका प्रमुख, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहको नेतृत्वमा वोर्ड सदस्यहरु, परियोजनामा कार्यरत कर्मचारीले सानोभेरी गाउँपालिकाको वडा नं. १ र ४ मा संयुक्त अनुगमन गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्