Hamro Sanchar

१७ औं गणतन्त्र दिवसको अबसरमा सिता भण्डारीलाइ नागरिक सम्मान

प्रकाशित : २०८१/२/१५ गते

जाजरकोट
१७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो ।

भेरी नगरपालिका–४ बाहुनबारा निबासी समाजसेवी भण्डारीलाइ नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह र वडा नं. ४ का वडाअध्यक्ष बशन्त प्रसाद शर्माको संयुक्त हस्ताक्षर भएको सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियो । २०३५ सालमा तत्कालिन पञ्चायतको वर्गिय संगठन नेपाल महिला संगठनको अध्यक्ष भएर भण्डारीले बृहत एकताको अभियान सुरुवात गरेको नागरिक समाजका संयोजक शाहले बताए । तत्कालिन अबस्थामा भण्डारीले खलंगा स्थित तल्लो थाप्लेमा नारी शिल्पकलाको नाममा जग्गा लिनुको साथै महिलाको सिप तथा क्षमता विकासमा योदान पुर्याएको संयोजक शाहले चर्चा गरेका थिए ।

खलंगामै आफ्नो नाममा रहेको जग्गालाई राममन्दीरको नाममा दान गरी आध्यात्मिक तथा धार्मिक कार्य सुरुवात गरेकी भण्डारीले दाङ्ग तुल्सीपुरको रौजारमा व्यक्तिगत लगानीमा शिवमन्दीर निर्माण गरेकी छन् । आफ्ना बुवा टीका भण्डारीको नामा अक्ष्यकोष स्थापना गरी कोषको व्याजबाट प्रतिबर्ष त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार ५ जना विद्यार्थीलाइ भण्डारीले छात्रबृति प्रदान गर्दै आएकी छन् ।

निस्वार्थ रुपमा समाज सेवाभावको अभाव भइरहेको वेला भण्डारीले कल्याणकारी काम गरेर आफुलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै आएकी छन् । हालै उनले महिलामैत्री सुरक्षित स्थलका लागि व्यक्तिगत जग्गा दान गरेकी छन् । केही दिन पहिला भण्डारीले दान गरेको जग्गामा भुकम्प प्रभावित महिलाहरुको लागि महिलामैत्री सुरीक्षत भवन निर्माण गरिएको छ । ८० बर्ष भन्दा बढि उम्मेरमा पुगेकी भण्डारीले २०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा भाग लिएकी थिइन् ।


Tagged
प्रतिकृया दिनुहोस्