Hamro Sanchar

तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

प्रकाशित : २०८१/२/१७ गते

जाजरकोट
तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो ।

नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । जनप्रतिनीधि र कर्मचारीलाई अन्तर्राष्ट्रिय जीवन कला प्रशिक्षक वि.के. रमन भट्टराइ र अन्तर्राष्ट्रिय उत्प्रेरक बक्ता तथा योग प्रशिक्षक सिमोन न्यौपाने योग–ध्यान र उर्जा सम्बन्धिको दुइ दिनको प्रशिक्षण दिएका थिए ।

बुधबार र बिहिबारको प्रशिक्षणबाट प्राप्त गरेको योग–ध्यान र उर्जा कार्यक्रमले नगरपालिकाका सवै जनप्रतिनीधि र कर्मचारीहरुमा सकारात्मक जीवन रुपान्तरण गर्न मद्दत पुग्ने नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताएका छन् । मुस्कान सहितको सार्वजनिक सेवा प्रवाह गर्न घर नजिकको सरकार स्थानीय तहका जनप्रतिनीधि र कर्मचारी सकारात्मक रुपान्तरण हुन आबश्यक रहेको बताउदै नगरप्रमुख घर्तीले पहिलो चरणमा जनप्रतिनीधि र कर्मचारीहरुको लागि योग–ध्यान र उर्जा कार्यक्रमको आयोजना गरिएको बताए । योग–ध्यान र उर्जा कार्यक्रमलाई भेरी नगरपालिकाका सबै वडाका सबै घरधुरीसम्ममा पुर्याउने योजना रहेको जानकारी दिदै नगर प्रमुख घर्तीले जीवनको सुख र मनको दुखले दैनिक रुपमा बढ्दै गएको डिप्रेशनको समस्यालाई समाधान गर्न योग–ध्यान र उर्जा अनिवार्य भएको भनाई राखेका थिए ।

आगामी १० बर्षमा डिप्रेशनको समस्या विश्वमै ५० प्रतिशतले बृद्धि हुन सक्ने पक्षपन गरिएको जानकारी दिदै योग प्रशिक्षक सिमोन न्यौपानेले मानव स्वास्थ्य दैनिक कमजोर बन्दै गएको र समस्या दैनिक बलियो बन्दै गएको बताए । मानव जीवनमा स्वस्थ, शान्ति र समृद्धि आबश्यक रहेको बताउदै प्रशिक्षक न्यौपानेले स्वस्थ रहनलाई हामीले शरिरलाई दुःख दिनुपर्ने र शान्ति पैदा गर्नलाई मनलाई सुख दिनुपर्ने भनाई राखेका थिए । शरिरलाई दुख दिन र मनलाई सुख दिन योग–ध्यानले महत्वपूर्ण भुमिका खेल्ने प्रशिक्षक न्यौपानेको भनाई रहेको थियो ।

मानव शरिर उर्जाबाट संचालित भएको बताउदै विश्व प्रेरक प्रशिक्षक रमन भट्टराइले नेतृत्व क्षमता पनि उर्जाबाटै पैदा हुने भनाई राखेका थिए । सक्रियता, कृयाशिलता, निरन्तरता र व्यस्तताबाट उर्जा पैदा हुने बताउदै प्रशिक्षक भट्टराइले व्यस्ततालेनै मनमा शान्ति, विचार र शरिरमा उर्जा पैदा हुने भनाई राखेका थिए । मनमा पैदा हुने शान्ति, विचार र शरिरमा पैदा हुने उर्जा र व्यवस्तताबाटै लागुऔषध दुव्र्यसनी जस्ता कुलतहरुलाई न्युनिकरण गर्न सकिने सबैभन्दा उत्तम उपाय भएको प्रशिक्षक भट्टराइले बताएका थिए ।

मानव शरिर, मष्तिस्कलाइ उर्जाशिल बनाउनुको साथै सन्तुलित बनाउन गरिने योग–ध्यान, प्रणायम जस्ता कार्यले लागुऔषध दुव्र्यसनीलाई कम गर्न सकिने महत्वपूर्ण औजारका रुपमा लिन सकिने भेरी नगरपालिकाले बताएको छ । चालु आर्थिक बर्षमा भेरी नगरपालिकाले लागुऔषध दुव्र्यसन नियन्त्रण एवं रोकथामका लागि युवा जागरण तथा परिचालन कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्