Hamro Sanchar

भेरी नगरपालिकाद्धारा लागुऔषध दुव्र्यसनीबाट जोगाउन युवाका लागि सिप विकास तालिम

प्रकाशित : २०८१/३/२ गते

जाजरकोट
लागुऔषध दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो ।

युवा, युवतिहरुको लागि भेरी नगरपालिकाले १४० घण्टे कम्प्युटर तथा हाउस वायरिङ्ग तालिम संचालन गरेको छ । भेरी शिवालय टेक्निकल कलेज प्रा.लि. को प्राविधिक सहयोगमा भेरी नगरपालिकाले सनिबारदेखि जिल्ला सदरमुकाम खलंगामा सिप विकास तालिम संचालन गरेको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त दुवै तालिमको संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

लागुऔषध दुव्र्यसनीको समस्याले समाजलाई नराम्रोसंग गाँजेको भेरी नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले भनाई राखेका थिए । भुसको आगो जस्तै भित्रभित्रै सल्किएको लागुऔषध दुव्र्यसनीको समस्यालाई समाधान गर्न हरेक नागरिक स्वरोजगार बन्नुपर्नेमा शाखा प्रमुख पुनले जोड दिएका थिए । सबैले जागिर खाएर मात्र रोजगार बन्न नसकिने बताउदै शाखा प्रमुख पुनले यू–टुव संचालन गरेर, फोटो र भिडियो खिचेर पनि स्वरोजगार बन्न सकिने बताएका थिए । कम्प्युटर तालिमबाट सिकेको सिपबाट विभिन्न फोटो डिजाइन गर्न सकिने, अनलाइन फारामहरु भर्न सकिने, टाइप, प्रिन्ट जस्ता कामहरु गरेर मनग्य पैसा कमाउन सकिने ढोका खुल्ने बताउदै शाखा प्रमुख पुनले हाउस वायरिङ्ग तालिमबाट सिकेको सिपबाट तिव्र गतिमा अगाडी बढेको विद्युतिकरणले सिलाइ, कटाइका मेसिन, कपडामा लगाउने आइरन, कपाल आइरन गर्ने, कपाल काट्ने जस्ता मेशिनहरु पनि विद्युतबाटै संचालन हुने गरेको बताएका थिए । बढ्दो उर्जा खपतको उपभोक्ता संख्या बृद्धि हुदै गएको बताउदै शाखा प्रमुख पुनले हाउस वायरिङ्ग तालिमले स्वरोजगार बन्न सकिने बलियो आधार बन्ने भनाइ राखेका थिए । दैनिक ७ घण्टाको समय लिएर २१ दिनसम्म संचालन गरिने कम्प्युटर तथा हाउस वायरिङ्ग तालिमका सहभागीहरुलाइ शाखा प्रमुख पुनले सतप्रतिशत समय दिन आग्राह गरेका थिए ।

उक्त दुई छुट्टा छुट्टै तालिममा भेरी नगर कार्यापालिकाको कार्यालयको सिफारिसमा तीन–तीन जना र १३ वटै वडा कार्यालयको सिफारिसमा एक–एक जना गरी कम्प्युटर तालिममा १६ जना र हाउस वायरिङ्ग तालिममा १६ जना सहभागीले भाग लिएको नगर शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत स्रोत शिक्षक प्रेम बहादुर खत्रीले जानकारी दिएका थिए ।

प्राविधिक शिक्षा आजको आबश्यकता भएको बताउदै भेरी शिवालय टेक्निकल कलेज प्रा.लि. का संचालक प्रवीण विकले प्राविधिक शिक्षाले कसैलाइ पनि भोकै बस्न नदिने ठोकुवा गरेका थिए । कम्प्युटर शिक्षा कृषि, भेटनरी, वन, शिक्षा लगाएतका सवै क्षेत्रमा उपयोगी रहेको बताउदै प्रा.लि. संचालक विकले हाउस वायरिङ्ग तालिमले आजको प्रविधि संचालनका लागि विद्युतको अनिवार्यतालाइ आपुर्ति गर्ने भनाइ राखेका थिए । १४० घण्टे कम्प्युटर तथा हाउस वायरिङ्ग तालिमका सहभागी सवैको खाना, बस्नको व्यवस्था पनि गरिएको जानकारी दिदै प्रा.लि. संचालक विकले निश्चिन्तका साथ तालिममा सहभागी हुन सहभागीहरुलाइ आग्रह गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्