Hamro Sanchar

जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न

प्रकाशित : २०८१/३/८ गते

जाजरकोट
जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा जाजरकोटको आयोजनामा सुक्रबार जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा जाजरकोटका उपाध्यक्ष रति नेपालीको अध्यक्षतामा सम्पन्न भएको जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठकमा दलित बालबालिका तथा युवायुवतिहरुको शैक्षिक अबस्था सुधार गर्न नेपाल छात्रावृति वितरण कार्यक्रमले जाजरकोट जिल्लामा विगत १० बर्षदेखि संचालन गर्दै आएका कृयाकलापका विषयमा छलफल गरिएको थियो ।

जाजरकोट जिल्लाको भेरी, नलगाड, छेडागाड नगरपालिका र कुशे गाउँपालिकाका दलित बालबालिका तथा युवायुवतिहरुलाई छात्रावृति वितरण गर्दै आएको नेपाल छात्रावृति वितरण कार्यक्रमले विशेष लक्षित बालबालिका छात्रवृति, अति जोखिममा परेका बालबालिका छात्रावृति र रोलमोडल विद्यार्थी छात्रवृति वितरण गर्दै आएको कार्यक्रम संयोजक कृष्ण तिरुवाले जानकारी दिएका थिए । कार्यक्रमले ज्योति विकास बैंकको बाल खाता मार्फत उक्त छात्रावृति वितरण गर्दै आएको कार्यक्रम संयोजक तिरुवाले बताएका थिए । जाजरकोटका १२० जना दलित बालबालिकालाई कार्यक्रमले उक्त छात्रावृति वितरण गर्दै आएको कार्यक्रम संयोजक तिरुवाले बताएका थिए । कार्यक्रमले जाजरकोटमा ५ जनालाई कृषि जेटिए पढाएको जानकारी दिदै कार्यक्रम संयोजक तिरुवाले लोकसेवा तयारी कक्षामा पठाएका तीन जनामध्ये एक जनाले गत बर्षनै लोकसेवा आयोगमा नाम निकाली पोष्टिङ्ग भइसकेको बताए ।

त्यसैगरी कार्यक्रमले जाजरकोट जिल्ला निबासी माष्टर्स गरीरहेका एक जना युवालाइ छात्रावृति दिदै आएको जानकारी दिदै कार्यक्रम संयोजक तिरुवाले कार्यक्रमबाट छात्रावृति प्राप्त गरेर पढाइ पुरा गरेका दुइ जनाले सरकारी सेवा प्रवेश गरिसकेको बताएका थिए ।

कार्यक्रमले पारदर्शिता कायम गर्नुको साथै दक्षताको विकास गराउदै आएको बताउदै जिल्ला समन्वय समिति, जाजरकोट प्रमुख काली बहादुर खत्रीले कार्यक्रमलाई थप व्यवस्थित गर्नपर्नेमा जोड दिएका थिए । आधारभुत तहसम्मका दलित बालबालिकाहरुको लागि नेपाल सरकारले छात्रावृतिको व्यवस्था गरेको जानकारी दिदै शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोट प्रमुख लक्ष्मी भण्डारीले मावि स्तरसम्म निशुल्क शिक्षाको व्यवस्था गरेको भनाई राखेकी थिईन् । दलित छात्रावृति सबै स्थानीय तहबाट वितरण गरिने व्यवस्था गरिको जानकारी दिदै इकाइ प्रमुख भण्डारीले डाक्टर, इन्जिनियर र उच्च शिक्षा पढ्नका लागि सरकारले कोटा निर्धारण गरेको बताएकी थिईन् । उक्त कोटाबाट आफ्नो पढाई पुरा गर्नका लागि प्रकाशित सुचनामा निर्धारण गरिएको समय मितिभित्रै आवेदन दिनुपर्ने प्रावधान रहेको इकाइ प्रमुख भण्डारीले भनाई राखेकी थिइन् ।

उक्त समिक्षात्मक बैठकमा जिल्लाको जिम्मेवारी प्राप्त गरेर भक्खरै जाजरकोट आई पुगेका शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोट प्रमुख लक्ष्मी भण्डारी र ज्योति विकास बैंक जाजरकोट प्रमुखलाई खाँदा र टीका लगाएर स्वागत गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्