Hamro Sanchar

दुई सय भन्दा बढि बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित : २०८१/३/१९ गते

जाजरकोट
Strenghening opportunities for Adolescent Resilience Continuation (SOAR) परियोजनाले नलगाड नगरपालिका र भेरी नगरपालिकाका २३२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गत कातिक १७ गते राति गएको भुकम्पबाट प्रभावित २३२ जना विद्यार्थीहरुलाई परियोजनाले शैक्षिक सामाग्री वितरण गरेको हो ।

 (SOAR) परियोजना केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले संचालन गरेको परियोजना हो । उक्त परियोजनाले नलगाड नगरपालिका र भेरी नगरपालिकामा कार्यक्रम संचालन गरिरहेको छ ।

परियोजनाले नलगाड नगरपालिका–१ को जन आदर्श प्राथमिक बिद्यालय ज्ञानेचौरमा अध्ययनरत ४५ जना, नलगाड–६ को पिउली स्थित जनप्रिय प्राथमिक बिद्यालयमा अध्ययनरत ८७ जना र भेरी नगरपालिका–२ दारनेटामा अध्ययनरत १०० जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गरिएको उक्त परियोजनाको कार्यक्रम संयोजक निर्मला थापाले जानकारी दिएकी छन् ।

पठनपाठनको समस्यामा परेका भुकम्प पीडित विद्यार्थीहरुलाई केएर नेपालको आर्थिक सहयोग, भेरी नगरपालिका र नलगाड नगरपालिकाको समन्वयमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले अस्थायी शिक्षण सिकाइ केन्द्र स्थापना गरी पठनपाठनको लागि सहज वातावरण निर्माण गरेको कार्यक्रम संयोजक थापाले बताएकी छन् । उक्त बिद्यालयहरुमा अध्ययनरत सबै बिद्यार्थीलाई झोला, बिद्यालय पोसाक, कापी, कलम, ज्यामिती बक्स लगाएतका शैक्षिक सामाग्री वितरण गरेका छौं संयोजक थापाले भनिन– उक्त विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन विभिन्न शिक्षण सिकाइ सामाग्री हस्तान्तरण गरेका छौं ।

विद्यार्थी संख्याको आधारमा शिक्षण सिकाइलाई व्यवस्थित गर्न भेरी नगरपालिकाको दारनेटामा अर्को अस्थायी शिक्षण सिकाइ केन्द्र स्थापना गर्न प्रक्रिया अगाडि बढाइ सकेको पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले जानकारी दिए ।

अस्थायी शिक्षण सिकाइ केन्द्रनै दीर्घकालीन समाधान नभएको बताउदै बिद्यालयमा सबैका छोराछोरी पठनपाठन गर्ने भएकोले विभिन्न समयमा मौसमी समस्याहरु (जाडो समयमा जस्ता पाता भित्र चिसाले कठ्याङग्रीने, गर्मी समयमा जस्ता पाता तातिएर अत्याधिक गर्मी हुने र वर्षाको समयमा आकाशे पानीका कारण जस्तापाताको आवाजले शिक्षकले पढाएको नभुझिने, हावाहुरीका कारण असुरक्षित महसुस गर्ने) हुने भएकोले यसलाई तत्काल समाधान गर्न सबै सरकारी तथा गैरसरकारी निकाय र सम्बन्धित सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न आवश्यक रहेको कार्यक्रम संयोजक थापाले बताएकी छन ।

केएर नेपालको आर्थिक सहयोगमा र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले भेरी नगरपालिका र नलगाड नगरपालिकामा हालसम्म १८ कोठाका ८ वटा अस्थायी शिक्षण सिकाइ केन्द्र निर्माणमा सहयोग गरेको कार्यक्रम संयोजक थापाले बताएकी छन् । अझै अर्को निर्माणको लागी प्रक्रिया अगाडि बढाइ सकेको कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताएका छन । केएर नेपालको साझेदारीमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले हाल ५ वटा परियोजना संचालन गरिएको छ । ५ वटै परियोजना शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेको बताइएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्