Hamro Sanchar

लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न दुइ दिने तनाव व्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न

प्रकाशित : २०८१/३/२० गते

जाजरकोट
भेरी नगरपालिकाको आयोजनामा दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले दुइ दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न गरेको हो ।

दुइ दिनसम्म चलेको कार्यशालाको पहिलो दिन तनाव व्यवस्थापन सम्बन्धी छलफल गर्नुको साथै शरिरका सबै अंगहरुको थेरापी गराइएको थियो भने, कार्यशालाको दोस्रो दिन खुसी विज्ञान सम्बन्धी छलफल गर्नुको साथै विभिन्न थेरापीहरु गराइएको थियो ।

न्युनतम तनाव र उच्चतम खुसीले भरिएको जीवन निर्माण गर्न तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला संचालन गरिएको कार्यशालाका सहजकर्ता तथा जीवन विज्ञानका प्रशिक्षक, शिक्षा तथा विकास केन्द्रका संयोजक होमनाथ आचार्यले बताएका थिए । जसले जीवनमा धेरै पसिना बगाउछ, उसले जीवन कहिल्यै आशु बगाउन नपर्ने बताउदै सहजकर्ता आचार्यले मानिसको शरिरले आफै उत्पादन गर्ने स्टेज हर्मोनको अन्त्य गर्न तनाव व्यवस्थापन गर्नुपर्ने भनाइ राखेका थिए ।

आमा, बुवाको आपसी प्रेम र खुसीको कारण हामी यस धर्तीमा जन्मिएको बताउदै आचार्यले तनावले मान्छेलाइ ८० प्रतिशत रोग लाग्ने, ७५ देखि ९० प्रतिशत अस्पताल धाउने अबस्थामा पुर्याएको बताएका थिए । तनावले स्वासको गति छिटो–छिटो बढ्ने, मन अस्थिर हुने, बारबार बिर्सिने, झर्को लाग्ने, अति डराउने, अति लजाउने, शोक तथा चिन्ता बढ्दै जाने, निरास हुने, अनावश्यक कुरामा चासो बढाउने, समयको दुरुपयोग गर्ने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, कर्तव्य तथा जिम्मेवारी पुरा नगर्ने, अपेक्षाहरु प्ुरा नहुनु, अस्पष्ट तथा नकारात्मक लक्ष्य राख्नु, इच्छा र आवश्यकताको ज्ञान नहुनु लगाएतका लक्षणहरु देखापर्ने बताउदै आचार्यले योगाभ्यास सहितको नियमित प्रणायाम गर्ने गर्नाले तनाव व्यवस्थापन हुने भनाइ राखेका थिए ।

योगाभ्यास सहितको नमस्ते प्रणायाम, पिज प्रणायाम, हाँस्य प्रणायाम, हुँकार प्रणायाम र उर्जा–ध्यानले मानव जीवनमा नयाँ स्फुर्ती पैदा गर्ने सहजकर्ता आचार्यले ठोकुवा गरेका थिए । लामो तथा गहिरो स्वास लिने र फाल्ने, प्रयाप्त पानी पिउने, हाँस्ने, नाच्ने, ताली बजाउने, नयाँ नयाँ कुराहरु सिक्ने, नसाजन्य दुव्र्यसनबाट अलग रहने, शरिरलाइ प्रकृतिमैत्री बनाउने, नियमित योगाभ्यास सहितको प्रणायाम र ध्यान गरेर मनको तनावलाइ हटाउन सकिने आचार्यले बताएका थिए । मानव शरिरलाइ स्वस्थ राख्न मुलाधार चक्र, स्वादिष्ठान चक्र, मनिपूर चक्र, अनाहद चक्र, विशुद्धि चक्र, आज्ञा चक्र र सहश्रार चक्र सहितका ७ वटा उर्जा केन्द्रलाइ सक्रिय राख्नुपर्ने सहजकर्ता आचार्यले बताएका थिए ।

आजका मानिसले जीवनमा खोजेको मुख्य कुरानै खुसी भएको आचार्यले बताएका थिए । मान्छे जीवनको बाल्यकालमा सबैभन्दा बढि खुसी रहने बताउदै सहजकर्ता आचार्यले उर्जा–ध्यानबाट मात्र मान्छेले खुसी पौप्त गर्न सक्ने ठोकुवा गरेका थिए । खुसी भएर गरिएको कर्मबाट मात्र मान्छेले उन्नती, प्रगति सहितको सफलता हासिल गर्न सक्ने बताउदै आचार्यले सकारात्मक सोचको विकासबाट मात्र मान्छेले खुसी प्राप्त गर्ने भनाइ राखेका थिए ।

बारम्बार तुलना गर्नु, आफन्त, छिमेकी र साथीहरुसंगको सम्बन्ध विगार्नु, आफुसंग भएको कुरालाइ नदेख्नु, अभावमा मात्र ध्यान दिनु, निरासावादी सोच बनाउनु, कम्जोरीमा मात्र ध्यान दिनु खुसीका बाधक भएको बताउदै आचार्यले आफुसंग जे छ त्यसको पहिचान गर्नुको साथै त्यसको सम्मान गर्ने, आफुसंग जे छ, त्यसको बढोत्तरीका लागि कर्म गर्ने, जे प्राप्त भयो त्यसको सम्मान र स्वीकार गर्ने, नराम्रो घटनाप्रति सकारात्मक तथा सुधारात्मक धारणा निर्माण गर्ने, कुनैपनि घटना तथा परिस्थितिलाइ पाठ र अबसरका रुपमा लिने, प्रगतिका लागि मेहेनत, संघर्ष र त्यागको अनिवार्यतालाइ बोध गर्नाले जीवनमा सबैभन्दा बढि खुसी प्राप्त हुने बताएका थिए ।

सोमबार र मंगलबार दुइ दिनसम्म चलेको कार्यशालामा भेरी नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी सहित एक सय ५० बढीको सहभागिता रहेको नगर विपद ब्यवस्थापन शाखाका प्रमुख यज्ञनाथ गौतमले जानकारी दिएका छन । माथिल्लो थाप्ले रिद्धिसिद्धि होटलको सभाहलमा आयोजित कार्यशालामा धारणा राख्दै नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागुऔषध दुव्र्यसनी विरुद्ध विशेष युवा परिचालन अभियान संचालन गरेको बताए । उक्त लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान अन्तरगत योग–प्रणायाम र ध्यान सम्बन्धी कार्यशाला संचालन गरिएको शाखा प्रमुख पुनले बताए ।

कार्यशालाका सहभागी ज्ञानु शर्मा, पार्वती थापा, भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीपक वली, कौशिला बटाला, सिता दवाडी लगाएतका सहभागीहरुले अनुभुतिजन्य भनाइ राखेका थिए । लागुऔषध दुव्र्यसनबाट युवाहरुलाइ जोगाउन भेरी नगरपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्