Hamro Sanchar

लागुऔषध दुव्र्यसन विरुद्ध भेरीमा नमुना युवा नगरसभाको अभ्यास

प्रकाशित : २०८१/३/२१ गते

जाजरकोट
भेरी नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास गरिएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध युवा जागरण पैदा गर्न नमुना युवा नगरसभाको अभ्यास गरिएको हो । १६ देखि २४ बर्ष उम्मेर समुहका युवाहरुले नमुना युवा नगरसभाको अभ्यास गरेका थिए ।

नगरपालिकाको सभाहलमा संचालन गरिएको नमुना युवा नगरसभा अभ्यास कार्यक्रममा सभाअध्यक्ष प्रमिता खत्रीले भेरी नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन । सभाअध्यक्ष खत्रीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा आर्थिक विकास अन्तरगत कृषि, पशुपन्छी, पर्यटन, सहकारी तथा व्यापार, साना तथा मझौला उद्योग संचालन गर्ने, करका दायरा निर्धारण गर्ने, सामाजिक विकास अन्तरगत शिक्षा, खेलकुद, संस्कृति प्रवद्र्धन, स्थानीय युवा परिषद गठन, स्वास्थ्य, लैगिंक समानता तथा समावेशिकरण, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार विकास अन्तरगत सडक, मोटरेवल पुल, भवन, विद्युत तथा बैकल्पिक उर्जा, सिंचाइ, वातावरण तथा विपद व्यवस्थापन अन्तरगत वातावरण प्रदुषणको व्यवस्थापन, भुकम्प, बाढी, पहिरो जस्ता जोखिम व्यवस्थापन, संस्थागत सेवा प्रवाह र सुशासनका विषयलाइ समाबेश गरेकी थिइन् ।

उक्त बार्षिक नीति तथा कार्यक्रम माथि सभा सदस्य अमिसा सिं सुनार, अम्बिका वली, कल्पना पुन, एलिना पुन, जमुना केएम, जय बहादुर चन्द, टविन कार्की, सुभाष पुन लगाएतका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । सभा सदस्यहरुले उठाएका खानेपानी, युवा रोजगारी, बालविबाह, आत्मा हत्या, वातावरण प्रदुषण जस्ता सवालहरुको जवाफ सभाअध्यक्ष खत्रीले दिएकी थिईन् । नमुना युवा नगरसभा अभ्यास कार्यक्रमका नगर उपप्रमुख यमुना कार्कीले सभामा नगरपालिकाको आर्थिक विधेयक–२०८१ र विनियोजन विधेयक–२०८१ प्रस्तुत गरेकी थिइन् । उपप्रमुख कार्कीले सभामा प्रस्तुत गरेका आर्थिक र विनियोजन दुवै विधेयक माथि दफावार छलफल गर्नुको साथै ध्वंनी मतदानद्धारा एक मतले पास गरिएको थियो ।

सभा अध्यक्ष खत्रीको रुलिगंमा सभामा सदस्य शर्मिला रोकायले बाढी पहिरो र प्राकृतिक प्रकोप व्यवस्थापन सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी थिइन भने, टविन कार्कीले स्थानीय युवा ऐन ल्याउनुको साथै स्थानीय युवा परिषद गठन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभा सदस्य कार्कीले भेरी नगरपालिकालाइ २०८५ सालमा लागुऔषध दुव्र्यसन मुक्त नगरपालिका घोषणा गरियोस भनि संकल्प प्रताव प्रस्तुत गरेका थिए । सभाअध्यक्ष खत्रीको रुलिंगमा सभामा प्रस्तुत सार्वजनिक महत्वका र शंकल्प प्रस्तावका पक्ष–विपक्षमा सभा सदस्य चाँदनी बोहोरा, आशिस विक, अमिसा सिं सुनार, रचना वली, दिक्षा शाही, एलिना पुनमगरले धारणा राखेका थिए ।

अभ्यास गरिएको नमुना युवा नगरसभाले युवाहरुलाइ जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुको साथै युवाहरुलाइ विषयबस्तुमा केन्द्रित हुन सिकाएको भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले भनाइ राखेकी थिइन । नमुना युवा नगरसभा अभ्यास कार्यक्रमले युवाहरुलाई समस्याहरुको पहिचान गर्न सक्ने क्षमताको विकास गराएको बताउदै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले युवाहरुलाइ समस्या समाधानका उपायहरु पहिल्याउन सक्ने क्षमताको विकास गराएको भनाइ राखेका थिए । कार्यक्रमले युवाहरुमा सामुहिक भावनाको जागृत गरेको बताउदै अधिकृत घर्तीले कार्यक्रमले फङसनमा भएको नगरसभा तथा नगरकार्यपालिकालाइ शिक्षा हासिल गराउने पाठशाला बनेको बताएका थिए ।

उक्त नमुना युवा नगरसभा अभ्यास कार्यक्रम संचालन गर्नको लागि तीन दिन पहिलेदेखि प्रश्क्षिण तालिम संचालन गरिएको थियो । भेरी नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त तालिमको सहजीकरण सहिद स्मृति युवा क्लव जाजरकोटले गरेको थियो । सहजकर्ता प्रकाश उपाध्याय मार्फत सहिद स्मृति युवा क्लव जाजरकोटले तालिमको सहजीकरण गरेको थियो । तालिममा १५ जना युवा र २३ जना युवति गरी जम्मा ३८ जना युवाले भाग लिएको सहिद स्मृति युवा क्लव जाजरकोटका अध्यक्ष प्रेम विश्वकर्माले जानकारी दिए ।

नगर सभा भनेको जननिर्वाचित प्रतिनीधिहरुको सर्वोच्व निकाय भएको बताउदै नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले युवाहरुले अभ्यास गरेको नमुना युवा नगरसभा अभ्यासले युवाहरुमा नयाँ जागररण पैदा गरेको बताए । युवा जागरणलेनै नगरपालिकाले संचालन गरेको लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा रोकथामको अभियानलाइ सफल बनाउन मद्दत पुग्नेमा शाखा प्रमुख पुनले विश्वास व्यक्त गरेका थिए ।

२४ बर्षसम्मको उम्मेर भनेको अध्ययन गर्ने, समाजका लागि केही न केही योगदान गर्ने उम्मेर भएको बताउदै सहजकर्ता उपाध्यायले उक्त नमुना युवा नगरसभा अभ्यास कार्यक्रमबाट दिक्षित कुनै पनि सहभागीले नेपाल सरकारले मनाउदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रि दिवसहरु र स्थानीय तहले संचालन गरेका अभियानहरुमा सहभागी हुनुपर्ने भनाइ राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्