News Portal

पहिरोको उच्च जोखिमा रहेका १२ घरपरिवार स्थानान्तरण

१५८ पटक

जाजरकोट
पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिकाका १२ घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेपछि उनीहरुलाइ सुरक्षित स्थानमा सारिएको हो ।

स्यालादेखि झण्डै ३०० मिटरको दुरीमा पश्चिममा रहेको मग्रा भन्ने स्थानमा बुधबार सारिएको जिल्ला प्रहरी प्रमुख पुरुषोतम प्रसाद भण्डारीले जानकारी दिएका छन् । गाउँपालिकासंगको समन्वयमा १२ घरपरिवारका ६५ जनालाइ सारिएको नेपाल प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार जुनीचाँदे गाउँपालिका–३ स्यालाका सितला टमटाका ९ जना, सरा टमटाका ६ जना, सुनिता चंदराका ५ जना, झुपा तिरुवाका ११ जना, पुतला टमटाका ५ जना, सर्मिला टमटाका ५ जना, पुतला नेपालीका ६ जना, राजु टमटाका ५ जना, जैकुरा टमटाका ५ जना, गिता नेपालीका ४ जना, लालसरा टमटाका ३ जना र पदम टमटाका १ जना गरी जम्मा ६५ जनालाइ सुरक्षित स्थलमा सारिएको छ ।

सुरक्षित स्थानमा सारिएका १२ घरपरिवारका लागि जुनीचाँदे गाउँपालिकाले त्रिपालको व्यवस्था गरेको बुझिएको छ । भुकम्पको प्राकम्पणले चिरा चिरा परेको जाजरकोट जिल्लाको सिङ्गै भुगोल अविरल मनसुनका कारण बाढी, पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको भनाइ रहेको छ । मनसुनजन्य बर्षाले जिल्लाको कुनैपनि ठाउँको कुनैपनि भुगोल तथा बस्तीमा खतरा हुन सक्ने बताउदै प्रजिअ अधिकारीले झट्पट् झोला तयारी अबस्थामा राख्नुको साथै सबैलाइ सचेतता अपनाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्