News Portal

जाजरकोटमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

२५३ पटक

जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा शुक्रबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । ह्याण्डी क्याप इन्टरनेशनलको आर्थिक सहयोगमा संचालित अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य–पुर्नस्थापना तथा आर्थिक–सामाजिक सेवा पहुँचवृद्धि परियोजनाको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजनामा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य–पुर्नस्थापना तथा आर्थिक–सामाजिक सेवा पहुँचवृद्धि परियोजनाले हालसम्म संचालन गरेका कृयाकलापको जानकारी परियोजना संयोजक गगन खड्काले गराएका थिए भने, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरिरहेका परियोजनाहरुको जानकारी कार्यक्रम निर्देशक टेक बहादुर सुनारले गराएका थिए ।

बैठकमा आफ्नो धारणा राख्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गत कातिक १७ गतेको भुकम्पबाट जिल्लाले ठुलो जनधनको क्षेती व्यहोरेको बताएका थिए । यतिवेला मनसुनजन्य बर्षाको सामाना गरिरहनु परेको बताउदै प्रजिअ अधिकारीले भुकम्पको प्राकम्पनले चिरा चिरा भएको भुगोल अविरल बर्षाले बाढी, पहिरोको उच्च जोखिममा रहेको भनाइ राखेका थिए । नागरिकको ज्यान जोगाउनु मुख्य विषय भएको बताउदै प्रजिअ अधिकारीले केही दिन अगाडी घर भत्किएर पुरिएका छेडागाड–१२ का ८ जनाको सकुशल उद्धार, पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे–३ का १२ घरपरिवारका ६५ जनालाइ सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बिषयको चर्चा गरेका थिए ।

समुदाय स्तरमा परियोजनाले गरेका राम्रो कामको दीगोपनका लागि स्थानीय तहले आन्तरिकीकरण गर्नुपर्नेमा जोड दिदै प्रजिअ अधिकारीले मागका आधारमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए । विपद प्रतिकार्यमा ठुला ठुला कार्यप्रगति देखाउदै आएका परियोजनाहरुले यतिवेला आफ्नो थातथलो छोडेर अस्थायी रुपमा अर्को ठाउँमा सारिएका १२ घरपरिवारका ६५ जना नागरिकको विषयमा बोल्न नसकेकको प्रजिअ अधिकारीले भनाइ राखेका थिए । यतिवेला सबै अग्नी परीक्षामा रहेको बताउदै प्रजिअ अधिकारीले मनसुनजन्य विपदप्रति सजक रहनुको साथै विपद सामानाको पूर्वतयारीमा लाग्न सबैलाइ आग्रह गरेका थिए ।

मुलुक संघीयतामा गइसकेपछि समन्वयमा अन्यौलता पैदा भएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट अध्यक्ष छवी पन्तले भनाइ राखेका थिए । विपद तथा प्रकोपको अबस्थामा फन्ट लाइनमा रहेर काम गर्ने निकायहरु बीचमा समन्वय तथा सहकार्य हुन नसक्नु दुखद भएको अध्यक्ष पन्तले बताएका थिए । अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरु धेरै भएतापनि समन्वय हुन नसकेको बताउदै अध्यक्ष पन्तले आयोजित बैठकले समन्वय तथा सहकार्य गर्नमा योगदान गर्ने बताएका थिए । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा अपाङ्गता प्रतिशत २.२ भइरहेको अबस्थामा जाजरकोट जिल्लामा अपाङ्गताको प्रतिशत ५ रहनु दुखद भएको अध्यक्ष पन्तले भनाइ राखेका थिए ।

वडा कार्यालयको सिफारिसमा लाभग्राही छनौट गर्ने मात्र नभएर अति विपन्नलाइ सेवा प्रवाहबाट छुटाउन नहुने नलगाड नगरपालिकाका कावा प्रमुख कौशी बहादुर विष्ठले भनाइ राखेका थिए । लाभग्राही छनौट गर्दा वडा अध्यक्षहरु जिम्मेवार हुनुपर्ने भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले भनाइ राखेकी थिइन् ।

सेवा प्रवाहबाट छुटेका आतिविपन्न अपाङ्गता भएका व्यक्तिलाइ परियोजनाले समेट्नुपर्ने भेरी नगरपालिकामा कार्यरत महिला निरिक्षक सारदा शर्माले भनाइ राखेकी थिइन् । परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पैरवी गर्नुपर्ने सिआरसी नेपालका प्रतिनीधि युवराज गौतमले भनाइ राखेका थिए ।

परियोजनाले सम्पन्न गरेका कामलाइ दीगो बनाउन चुनैति देखिएको गैरसरकारी संस्था महासंघका कावा अध्यक्ष सहदेव बस्नेतले भनाइ राखेका थिए । स्थानीय निकायले पूर्वतयारीका साथ जिम्मेवारी लिनुपर्ने भनाइ राख्दै कावा अध्यक्ष बस्नेतले स्थानीय तहहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

स्थानीय प्राथमिकता र मागमा आधारित कार्यक्रम संचालन गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले भनाइ राखेका थिए । सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेका कामको प्रशंसा गरेको बताउदै प्रमुख खत्रीले समन्वय र सहकार्यमा काम गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । पाँचतारा युवा संरक्षक मञ्चले गरेका सबै कामहरु प्रशंसा गर्न लायक भएको बताउदै प्रमुख खत्रीले आगामी दिनहरूमा पनि पाँचतारा युवा संरक्षक मञ्चलाई पूर्ण साथ तथा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्