News Portal

पाँच दिने अल्टिमेटम सहित भेरी नगरपालिकामा नागरिक समाजले बुझायो ज्ञापन पत्र

२०७ पटक

जाजरकोट
नागरिक समाज जाजरकोटले बिहिबार पाँच दिने अल्टिमेटम सहित भेरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । खलंगाको ठाँटी बजार स्थिति पिपलचौतारा नजिकको सार्वजनिक बाटो बन्द गरेपछि नागरिक समाज जाजरकोटले भेरी नगरपालिकामा पाँच दिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएको हो ।

३ नम्बर वडा कार्यालय भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले भवन निर्माण गर्दा सार्वजनिक बाटो बन्द गरेको थियो । परापुर्व कालदेखिको हुँलाकी बाटोलाइ बन्द गरेर वडा कार्यालयको भवन निर्माण गरिएको छ । ठाँटी (बाघखोर) बाटोबाटै जिल्ला सदरमुकाम खलंगादेखि साविकका ढिमे, पैक, अर्छानी, टालेगाउँ, रामिडाँडा, रोकायगाउँ, नायकबाडा, सक्ला गाविसमा जाने हुँलाक डाँक चलान गर्ने गरिएको थियो । हाल जिल्ला सडक सञ्जाल अन्तरगत खनिएका सडकहरुबाट हुँलाक डाँक चलान गरिएता पनि पानीनाउला, कोटखोला, स्याला, रिसाङ लगाएत सदरमुकाम आसपासका नागरिकहरुले त्यही बन्द गरिएको बाटोलाइ प्रयोग गर्दै आएका थिए ।

किसानले उत्पाद गरेको दुध, दही, फलफुल तथा तरकारी बजारसम्म पुर्याउन दैनिक यसै बाटोलाइ प्रयोग गर्दै आएका थिए । शिक्षा, स्वास्थ्य लगाएतको सेवा लिनलाइ गर्भवति महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक बाटोलाइ पूर्णरुपमा बन्द गरेर भवन निर्माण गर्न नहुने नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहको भनाइ रहेको । उक्त बाटो बन्द भएपछि दैनिक उपभोग्य बस्तुको किनमेल गर्न बजारसम्म आउन र जान नागरिकहरुले सास्ती खेप्नु परिरहेको छ ।

नगर प्रमुखलाइ सम्बोधन गरिएको ज्ञापन पत्रमा भनिएको छ–‘विभिन्न गाउंवस्तीहरुवाट सदरमुकाम प्रवेश गर्ने विभिन्न नाका मध्य तत्कालीन वाघखोर र हाल ठांटी भनिने नाकामा आउन सयौं वर्षदेखि प्रयोग भैरहेको सार्वजनिक वाटो वन्द भएर कृषक, महिला, वालवालिका, जेष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्ति लगायतका सयौं मानिसलाई असहज भैरहेको विषय अवगत नै होला ।’

साविकको धर्मशाला भएको स्थानमा भेरी नगरपालिकाको ३ नंवर वडा कार्यालय निर्माण गर्दा निस्किएको माटो पूर्न परम्परागत बाटो वन्द गर्दा सर्वसाधारणलाई मर्का परेकोले भरपर्दो निकास दिन वडा कार्यालय भवनका निर्माण व्यवसायी, भेरी नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय र ३ नंवर वडा कार्यालयमा स्थानीय वासिन्दाहरुले अनुरोध गरिरहेको समेत स्मरण गराउंदछौं बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

राजेन्द्र विक्रम शाह, जनक केसी, बर्ण बहादुर खत्री, देवेन्द्र प्रसाद शर्मा, कमारो नेपाली, टविन कार्की, नीम बहादुर डाँगी, कर्ण केसी, कुशलराज थापा, जगत शाह, खिम बहादुर खत्री, गणेश बहादुर शाहले हस्ताक्षर गरेको ज्ञापन पत्रको अन्तमा भनिएको छ–‘भेरी नगरपालिकाले स्थानीय नागरिकको मागलाई हालसम्म वेवास्ता गरेको अवस्था विद्यमान रहेकाले नागरिकको सार्वजनिक आवागमनको मौलिक अधिकार र स्थानीय नागरिकका मागप्रति स्थानीय सरकारको जवाफदेहीताप्रति ध्यानाकर्षण गराउंदै ५ दिन भित्र बाटोको उपयुक्त निकास दिन यो ज्ञापन पत्र मार्फत विशेष आग्रह गर्दछौं ।’

नगरिक समाज, जाजरकोटले बुझाएको उक्त ज्ञापन पत्रलाइ बुझ्दै भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले उक्त बाटो बन्द भएको बिषयमा नगरपालिकाको ध्याननाकर्षण भएको बताइन । खलंगा भित्र सार्वजनिक जम्मा मिचेर निर्माण गरिएका ५२ वटा घरहरुमध्ये केही घरहरु ठाँटीमा रहेको बताउदै उप–प्रमुख जैसीले वडा कार्यालय भवन शिलन्यास गर्नेवेला उक्त ५२ वटा घरहरु भत्काउने बिषय अगाडी बढेको हुनाले बाटो बन्द भएको तर्क गरेकी थिइन् । उच्च अदालतले गरेको अन्तरिम आदेश अनुसार हालै ५२ घरहरु नभत्किने भएपछि बन्द भएको बाटो खोल्न नगरपालिका तयार गरेको उप–प्रमुख जैसीले जिक्किर गरेकी थिइन् । लामो समयसम्म नगरप्रमुख जिल्ला भन्दा बाहिर रहेको बताउदै उप–प्रमुख जैसीले नीतिगत निर्णय गर्ने अधिकार आफुसंग नभएको भनाइ राखेकी थिइन् । बन्द भएको बाटो खोल्नका लागि बजेट सुनिश्चित गर्न नीतिगत निर्णयको आबश्यक पर्ने बताउदै उप–प्रमुख जैसीले बजेट सुनिश्चि नहुदा बाटो खोल्न ढिलाइ भएको भनाइ राखेकि थिइन ।

प्रतिकृया दिनुहोस्