भवानी शाही
‘बा’, तिमीले अङ्गुलीमा समाइ
गाउँभरी डुलाएको
मलाई खुब याद आयो
रित्तो गोजिलाई पनि
आशाका विचारहरुले भुलाएको
मलाई खुब याद आयो
झा देव ! लाग्दा
बारीका काल्ना काल्नामा
डोर्याएको खुब याद आयो
एक हातमा लालटिन अर्कोले
मलाई च्यापी
तिमीले प्रौढ पढाएको
खुब याद आयो
तिम्रा च्यातिएको कोटको गोजिका
कुना कुनामा राखी
मलाई पिपलमेट ल्याएको
खुब याद आयो !
तिमीलाई थाहा छ बा ?
आज म पनि त
बचेराहरुलाई चारो ओसार्ने ठाउँमा पुगे
वर्षौं पछि हाम्रो रगत जोडिएको
गाउँमा पुगे
जाबोमा पिसाउन लगेर
हामी पानीघट्ट गएको
तिमीसङ्गको सफर हेरे
तिम्रो देह अनि मेरो दुनियाँ बगाउने
निठुरी बगर हेरे
म स्कुलबाट फर्किदा तिमी ओटीमा बसेर
बाटो कुरिरहने घर हेरे
तिम्रो बर्कोले मेरो कद छोपी
आँगनको डिलमा बस्दा
उदाउँने सूर्यको प्रहर हेरे
मलाई मेरो बचपन खुब याद आयो
अनि तिम्रो भगवान रुपि स्वरुप
याद आयो !
‘बा’ ! तिमी मेरो सिर्जनामा
अट्न नसक्ने विधा हौ
दुर्गमको अररो भिरमा
आफ्नै छाति गोरेटो बनाउन सक्ने
मेरा लागि सुबिधा हौ
मलाई सबै याद छ,
किताबका झिल्लिहरुमा
मेरो भबिस्य कोर्ने
तिमीले अक्षर चिनाएको याद छ
कौशीमा बसी गजल गाएझैँ
मेरा खुसी र सफलताका
शेर सुनाएको याद छ
यी सब सिकाएर तिमीले सिकाउन भुलेको
एक यस्तो दृश्य पनि याद
एउटा यस्तो सुनाउन भुलेको
शेर पनि याद छ कि
म छिट्टै निदाउनेछु
निदाएपछि ब्युझिन जानेकै छैन भनी
मेरो स्वर्ग तिम्रो गन्तव्य ठानेकै छैन भनी
जे भएपनि ‘बा’ मलाई तिम्रो कुरो
झन याद आउछ
तिमी बिना टुहुरा भएको
मन याद आउछ !!
(लेखकः –शाही जनज्योति माध्यामिक विद्यालय, ठाकुरबाबा–६ बर्दियाकी शिक्षक हुन् ।)