News Portal

जाजरकोटमा २४ घण्टाको समयमा १४४ जना डिस्चार्ज, ४८ जना संक्रमित थपिए

४७४ पटक

जिल्लामा २४ घण्टाको समयमा १४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४८ जना सक्रिय संक्रमित थपिएका छन् । थपिएका ४८ जना संक्रमितहरु एन्टीजेन परीक्षणबाट कोरोना पुष्टी भएका हुन् ।

जिल्लामा हालसम्म १ हजार १६७ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । कोरोना पुष्टी भएका १ हजार १६७ जना मध्ये ६४० जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालयले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरेको छ । जिल्लामा बिहिबार ५१५ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । दैनिक प्रतिवेदन बिबरणका अनुसार हालसम्म थप उपचारका लागि १० जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको देखाईएको छ । जिल्लामा हालसम्म २ जना संक्रमितको जिल्लामै मृत्यु भएको प्रतिवेदन विवरणले देखाएको छ । त्यसैगरी एक जना उपचारको क्रममा बाँकेको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालयले दिएको उक्त बिबरण ११ चैत २०७६ देखि १३ जेठ २०७८ सम्मको हो ।

बारेकोटमा १८ जना संक्रमित थपिए, २ जना डिस्चार्ज
बारेकोट गाउँपालिमा बिहिबार १८ जना कोरोना संक्रमित थपिएका छन् भने, २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । बारेकोट गाउँपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या ६५ जना पुगेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत मोहन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले दिएको जानकारी अनुसार बारेकोटमा हालसम्म २६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३० जना सक्रिय संक्रमितले होम आईशोलेसन र ९ जना सक्रिय संक्रमितले गाउँपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । बिहिबार बारेकोट गाउँपालिकामा ३९ जना सक्रिय संक्रमित रहेका छन् । बिहिबार ४१ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १८ जनालाई कोरोना पुष्टी भएको हो ।

भेरीमा ९ जनालाई कोरोना पुष्टी, ८ जना डिस्चार्ज
भेरी नगरपालिमा २४ घण्टामा गरिएको परीक्षणबाट ९ जनालाई कोरोना पुष्टी भएको छ भने, ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

बिहिबार १९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९ जनालाई कोरोना पुष्टी भएको भेरी नगर स्वास्थ्य सह–संयोजक तथा जनस्वास्थ्य निरिक्षक निशा थापा केसीले जानकारी दिईएकी छन् ।

भेरी नगरपालिकाले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरण अनुसार नगरपालिकामा हालसम्म ५५० जनालाई कोरोना पुष्टी भएको छ । भेरीमा हालसम्म २१६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३०४ जना सक्रिय संक्रमितहरुले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि हालसम्म ४ जनालाई रिफर गरिएको छ भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

पिसीआर परीक्षणको लागि हालसम्म भेरी नगर स्वास्थ्य शाखाले ५९८ जनाको स्वाव संकलन गरेको थियो । पिसीआर बिधिबाट गरिएको परीक्षबाट ३२७ जनालाई कोरोना पुष्टी भएको थियो भने, ल्याव प्रयोगशाला सुर्खेतबाट ३९ जनाको रिर्पोट आउन अझै बाँकी रहेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी ६४२ जनामा गरिएको एन्टीजेन परीक्षणबाट २२३ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदन बिबरणमा देखाईएको छ ।

नलगाडमा ४ जनालाई कोरोना पुष्टी
नलगाड नगरपालिकामा २४ घण्टामा गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको छ । बिहिबार ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको नलगाड नगरपालिकाले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म ९८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ५१ जनालाई कोरोना पुष्टी भएको प्रतिवेदन विवरणले देखाएको छ । हालसम्म ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ७ जनालाई थप उपचारको लागि रिफर गरिएको छ । एक जना संक्रमितको मृत्यु भएको थियो । बिहिबार नलगाड नगरपालिकामा २७ जना सक्रिय सक्रिमितले आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । २७ जना सक्रिय संक्रमितहरु मध्ये १८ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ९ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

जुनीचाँदेमा १६ जनालाई कोरोना पुष्टी
जुनीचाँदे गाउँपालिका–३ मा बिहिबार गरिएको परीक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएको छ । ३९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएको गाउँ स्वास्थ्य शाखा संयोजक प्रेम शाहीले जानकारी दिएका छन् । बिहिबार कोरोना पुष्टी हुनेहरुमा गाउँपालिकाका जनप्रतिनीधि, १२ कर्मचारी र स्थानीय नागरिक रहेको संयोजक शाहीले बताएका छन् । जुनीचाँदे गाउँपालिकामा एक हप्ताको लागि गाउँपालिकाले सम्पूर्ण सार्बजनिक सेवाका कामलाई बन्द गरिएको सुचना प्रकाशित गरिएको छ । हालसम्म गरिएको परीक्षणबाट जुनीचाँदेमा ५३ जनालाई कोरोना पुष्टी भएको शाहीले बताए । संयोजक शाहीले दिएका जानकारी अनुसार हालसम्म जुनीचाँदेमा २ जनाले कोरोना जिते डिस्चार्ज भएका छन् भने, २ जनालाई नेपालगञ्ज र २ जना सुर्खेत गरेर ४ जनालाई रिफर गरिएको छ ।

यो समाचार तयार गर्दासम्म छेडागाड नगरपालिका, कुशे गाउँपालिका र शिवालय गाउँपालिकाबाट कोरोना संक्रमण सम्बन्धिको आधिकारिक जानकारी प्राप्त भएको छैन ।

प्रतिकृया दिनुहोस्