News Portal

जाजरकोटमा कोरोनाले थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो ४

९३० पटक

जिल्लामा एक जना कोरोना संक्रमितको बिहिबार राती मृत्यु भएको छ । नलगाड नगरपालिकाको दल्लीमा रहेको आईशोलसनमा रहेर उपचार गराई रहेका संक्रमितको राति मृत्यु भएको हो ।

मृत्यु हुने संक्रमितमा नलगाड नगरपालिका–७ का ८६ बर्षिय पुरुष रहेका छन् । उनलाई यही जेड ८ गते कोरोना पुष्टी भएपछि नगरपालिकाले दल्लीमा स्थापना गरेको आईशोलेसनमा राखेर उपचार गराई राखेको थियो । उपचारमै रहेका ८६ बर्षिय पुरुषको गयराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ८६ बर्षिय परुषसंगै नलगाड नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यो भन्दा अगाडी नलगाड नगरपालिका–११ का वडा सदस्यको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

कोरोना संक्रमण जिल्लामै पुष्टी भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । यो भन्दा अगाडी भेरी नगरपालिकाका एक जना संक्रमितको उपचारका क्रममा नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो भने, अर्का संक्रमितको जिल्ला अस्पताल खलंगामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

जाजरकोटमा ५१ जना संक्रमित थपिए, ८ जना डिस्चार्ज
२४ घण्टाको समयमा जिल्लामा ५१ जनालाई कोरोना पुष्टी भएको छ भने, ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट शुक्रबार जिल्लामा ५१ जनालाई कोरोना पुष्टी भएको हो । एन्टीजेन परीक्षणबाटै कोरोना पुष्टी भएका ८ जनाले शुक्रबार कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

शुक्रबार जिल्लामा ५५७ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । जिल्लामा हालसम्म १ हजार २१८ जनालाई कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले शुक्रबार प्रकाशित गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरेको छ । उक्त प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा ६४८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । १० जनालाई थप उपचारको लागि जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । हालसम्म जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको प्रतिवेदन विवरणले देखाएको छ । उक्त प्रतिवेदन विवरण ११ चैत २०७६ देखि जेठ १४ २०७८ सम्मको हो । जिल्लामै कोरोना पुष्टी भएका १ जनाको उपचारका क्रममा नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । जिल्लामै कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

छेडागाडमा हालसम्म १२९ जनालाई कोरोना पुष्टी
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरबाट हालसम्म छेडागाड नगरपालिकामा १२९ जना संक्रमित भएका छन् । पिसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट १२९ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत अहेव रामबहादुर थापाले जानकारी दिएका छन् । अहेव थापाले दिएको जानकारी अनुसार पिसीआर परीक्षणको लागि संकलन गरिएको २१० जनाको स्वाब मध्ये १०६ जनाको रिर्पोट आउन बाँकी छ भने, आएको रिर्पोट अनुसार ६८ जनालाई कोरोना पुष्टी भएको थियो । त्यसैगरी २२७ जनालाई गरिएको एन्टीजेन परीक्षबाट ६१ जनालाई कोरोना पुष्टी भएको शुक्रबार प्रकाशित कोभिड–१९ को दैनिक प्रतिवेदन समरी विवरणमा उल्लेख गरिएको छ ।

छेडागाड नगर अस्पतालको आईशोलेसनमा शुक्रबार एक जना कोरोना संक्रमितलाई अक्सिजन दिएको अस्पतालमा कार्यरत कुन्ता गिरीले जानकारी दिएकी छन् । उक्त संक्रमित बिरामीलाई अक्सिजन नदिदा अक्सिजनको मात्रा ८९ रहेको र अक्सिजन दिदा अक्सिजनको मात्रा ९६ पुगेको गिरीले बताएकी छन् ।

भेरीमा २ जनालाई कोरोना पुष्टी
भेरी नगरपालिमा २४ घण्टामा गरिएको परीक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको छ । शुक्रबार १२ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक तथा जनस्वास्थ्य निरिक्षक निशा थापा केसीले जानकारी दिईएकी छन् ।

भेरी नगरपालिकाले शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरण अनुसार नगरपालिकामा हालसम्म ५५२ जनालाई कोरोना पुष्टी भएको छ । भेरीमा हालसम्म २१६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, शुक्रबार ३०६ जना सक्रिय संक्रमित रहेका छन् । ३०५ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, १ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन । थप उपचारको लागि हालसम्म ४ जनालाई रिफर गरिएको छ भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

पिसीआर परीक्षणको लागि हालसम्म भेरी नगर स्वास्थ्य शाखाले ५९८ जनाको स्वाव संकलन गरेको थियो । पिसीआर बिधिबाट गरिएको परीक्षबाट ३२७ जनालाई कोरोना पुष्टी भएको थियो भने, ल्याव प्रयोगशाला सुर्खेतबाट ३९ जनाको रिर्पोट आउन अझै बाँकी रहेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी ६५४ जनामा गरिएको एन्टीजेन परीक्षणबाट २२५ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदन बिबरणले देखाएको छ ।

बारेकोटमा हालसम्म ७१ जनालाई कोरोना पुष्टी
बारेकोट गाउँपालिकामा कोभिड–१९ को दोस्रो लहरमा ७१ जनालाई कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका कोभिड फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले दिएको जानकारी अनुसार १९८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ७१ जनालाई कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी भएकाहरु मध्ये २७ जना महिला र ४४ जना पुरुष रहेका थिए । हालसम्म २७ जना निको भएर डिस्चार्ज भएका छन् भने, शुक्रबार बारेकोटमा ४४ जना सक्रिय संक्रमित रहेका छन् । ४४ जना सक्रिय संक्रमितहरु मध्ये १४ जनाले गाउँपालिकाको आईशोलसनमा रहेर उपचार गराई रहेका छन् भने, ३० जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेको बारेकोट गाउँपालिकाले शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ ।

दैनिक रुपमा कोभिड–१९ को प्रतिवेदन विवरण प्रकाशन गर्दै आएको नलगाड नगरपालिकाले शुक्रबार यो समाचार तयार पार्दासम्म दैनिक प्रतिवेदन बिबरण प्रकाशन गरेको छैन । त्यसैगरी कुशे, शिवालय र जुनीचाँदे गाउँपालिकाले पनि शुक्रबार कोभिड सम्बन्धि आधिकारीक जानकारी दिएका छैनन् ।

प्रतिकृया दिनुहोस्