News Portal

भेरी नगरपालिकामा कोरोना जितेर ५२० जना डिस्चार्ज, सक्रिय संक्रमित ३२ जना

५०० पटक

भेरी नगरपालिकामा आईतबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३२ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

कोरोना संक्रमणबाट जिल्लाको सबै भन्दा बढि प्रभावित भेरी नगरपालिकामा ५५७ जनालाई कोरोना पुष्टि भएको थियो । नयाँ भेरियन्ट सहितको काभिड–१९ को दोस्रो लहरमा भेरी नगरपालिकामा ५५७ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका ५५७ जना मध्ये आईतबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३२ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइशोलेसनमा रहेर उपचार गराई रहेको आईतबार भेरी नगरपालिकाले प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । थप उपचारका लागि भेरी नगर स्वास्थ्य शाखाले ५ जनालाई रिफर गरेको थियो भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

पिसीआर र एन्टीजेन बिधिबाट १ हजार ३०० जनालाई गरिएको परीक्षणबाट ५५७ जनालाई कोरोना पुष्टि भएको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले जानकारी दिईन् । सह–संयोजक थापा केसीले दिएको जानकारी अनुसार पिसीआर बिधिबाट ५९८ जनालाई गरिएको परीक्षणबाट ३३३ जनालाई कोरोना पुष्टि भएको थियो भने, ७०२ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २२४ जनालाई कोरोना पुष्टि भएको थियो ।

भेरी नगरपालिकामा कोरोना नियन्त्रणको क्रममा रहेको जानकारी दिदै नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना सन्चो भयो भनेर डिस्चार्ज भएका संक्रमितहरु ढुक्क हुनुपर्ने अबस्था नरहेको भनाई राखेका छन् । कोरोना निको भएर डिस्चार्ज भएकाहरुले खानपिनलाई सन्तुलित गर्नुको साथै स्वास्थ्यमा ख्याल राख्न सुझाब दिएका छन् । कोरोना निको भएर डिस्चार्ज भएकाहरुमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण हुने जस्ता समस्याहरु आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कालो ढुसी तथा म्याकुरमाइकोसिसको संक्रमण भएमा अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, ज्वरो आउने, आँखा, नाक सुन्निने, रातो हुने वा दुख्ने, आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाक्लो सिंगान आउने र दाँत दुख्ने वा हल्लिने जस्ता समस्याहरु देखा पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कालो ढुसी तथा म्याकुरमाइकोसिसको संक्रमणबाट बच्नका लागि सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको फेरी प्रयोग नगर्ने, नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नु परेमा डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने, पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, मधुमेह भएका बिरामीहरुले सुगर नियन्त्रणमा राख्ने, स्वास्थ्यकर्मीहरुको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने र व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्