News Portal

स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दियो १० वटा अक्सिन सिलिण्डर

४८३ पटक

बारेकोट गाउँपालिकाको लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले १० वटा अक्सिजन सिलिण्डर सहित आबश्यक औषधि दिएको छ । तिव्र रुपमा फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमित बिरामीहरुको उपचारलाई सहज बनाउन स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सालाई १० वटा अक्सिजन सिलिण्डर सहित आबश्यक औषधि दिएको हो ।

कोरोना सम्बन्धिको १० टराली औषधि र १० वटा अक्सिजन सिलिण्डर लिएर स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसी आफै सोमबार प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा पुगेका थिए । बारेकोटमा यतिवेला कोरोना संक्रमणको प्रभाव बढ्दो क्रममा रहेको जानकारी दिदै गाउँ स्वास्थ्य शाखाका संयोजक बीरराज सिंहले असहज अबस्थामा अक्सिजन सिलिण्डर सहित औषधि सहयोग गरेकोमा स्वास्थ्य सेवा कार्यालयलाई धन्यवाद दिएका छन् । जुम्ला र डोल्पाको सिमानासंग जोडिएको बारेकोट जिल्लाकै भौगलिक रुपमा बिकट गाउँपालिका भएको बताउदै स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले जिल्लाका सबै नागरिकहरुलाई स्वास्थ्य सुरक्षाको अनुभुति दिलाउन आफु अक्सिजन सिलिण्डर र औषधि सहित बारेकोट पुगेको बताए ।

स्वास्थ्य सेवा कार्यालयले सबै प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुलाई अविभावकत्व प्रदान गरिरहेको बताउदै प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जटिल अबस्थामा स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापकको उपस्थितिले आफुहरुको आत्मबल बढेको बताईन् । स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रलाई दिएको आबश्यक औषधि र अक्सिजन सिलिण्डरले स्वाथ्यकर्मीहरुको मात्र नभएर उपचारमा रहेका कोरोना संक्रमित बिरामीहरुको आत्मबललाई माथि उठाउने काम भएको अनमी रोकायको भनाई रहेको छ । स्वास्थ्य सेवा कार्यालयले १० वटा अक्सिजन सिलिण्डर दिएपछि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा २८ वटा अक्सिजन सिलिण्डर संख्या पुगेको छ । २८ वटा मध्ये ३ वटा सिलिण्डर खाली रहेका छन् भने, २ वटा प्रयोग भईरहेका छन् । अक्सिनजन सहितका २३ वटा सिलिण्डरलाई सुरक्षित तरिकाले स्टोर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साले जनाएको छ ।

प्रतिकृया दिनुहोस्