२४ घण्टाको समयमा बारेकोट गाउँपालिकामा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको हो ।
एन्टीजेन विधिबाट आईतबार ११ जनालाई गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले बताएकी छन् । कोरोना पुष्टि भएका ५ जना मध्ये २ जना महिला र ३ जना पुरुष रहेका छन् अनमी रोकायले भनिन्–‘हालसम्म बारेकोटमा ५०५ जनालाई गरिएको परीक्षणबाट १६६ जनालाई कोरोना पुष्टि भएको थियो ।’
कोरोना पुष्टि भएका १६६ जना मध्ये ६२ जना महिला रहेका छन् भने, १०४ जना पुरुष रहेका छन् । स्वास्थ्यकर्मीहरुको निगरानीमा ८७ जना संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेको प्राथमिक स्वास्थ्य केन्द्र र आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले आईतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका ७९ जना संक्रमित मध्ये ७० जनाले कोरोना जितेर डिस्चार्ज भएपछि ९ जना संक्रमितको उपचार भई रहेको प्रतिवेदन विवरणले देखाएको छ । दोस्रो पटक गरिएको परीक्षणले कोरोना देखाएकी एक महिलाको संस्थागत आइशोलेसनमा उपचार भई रहेको छ ।