कोभिड–१९ को दोस्रो लहरमा आईतबारसम्म जाजरकोट जिल्लामा १ हजार ४२२ जनालाई कोरोना संक्रमण भएको छ । गत बर्ष संक्रमित १११ जनालाई जोड्दा जाजरकोटमा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ ।
पिसीआर र एन्टीजेन बिधिबाट गत बर्षदेखि हालसम्म १० हजार ७८ जनालाई गरिएको परीक्षणबाट १ हजार ५३३ जनालाई कोरोना पुष्टि भएको हो । ५० शैया घोषणा गरिएको तर, ३१ शैया संचालनमा रहेको जिल्ला अस्पताललाई कोभिड–१९ उपचारको जिम्मेवारी दिएको छ । जिल्ला अस्पतालमा आबश्यक पर्ने जनशक्ति, औषधि र उपकरणको व्यवस्थापनको लागि नीतिगत निर्णय र आर्थिक व्यवस्थापन नेपाल सरकार र कर्णाली प्रदेश सरकारले गरेको छ । युनिसेफ, विश्व खाद्य कार्यक्रम लगाएतका दातृ निकाय, समाजसेवी, राजनैतिककर्मीहरुले पनि कोरोना उपचारको लागि जाजरकोट जिल्ला अस्पताललाई सहयोग गरेका छन् । स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालमा कोरोना उपचार तथा आँखा सेवा विस्तारमा खटिने जनशक्तिको पदपुर्ती, स्वास्थ्य सामाग्री खरिद तथा ढुवानी, बिरामीको उपचार शुल्कमा मनपरि गरेको पाईएको छ । मनपरी गर्नेमा स्वास्थ्य सेवा कार्यालयका व्यवस्थाकको मुख्य हात रहेको छ ।
सुचना गोप्यमा राखेर पदपुर्ती
आँखा सेवा विस्तार तथा व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयको नाममा १२ लाख निकासा दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैसीले जानकारी दिए । निमित्त व्यवस्थापक जैसीले निकासा भएको १२ लाख बजेटबाट मासिक ३७ हजार ८७० तलब पाउने गरी सातौं तहका नेत्र बिशेषज्ञ सन्जय थपलियालाई यहि जेठ १६ गते नियुक्ति गरेका छन् भने, अहेव पढकी गिता अधिकारीलाई मासिक २६ हजार ६१० तलब पाउने गरी नेत्र सहायक पदमा नियुक्ति गरेका छन् ।
नेत्र बिशेषज्ञ र नेत्र सहायक नियुक्तिका लागि आफ्नै संयोजकत्वमा पदपुर्ति समिति बनाएर ७ दिनको सुचना पाटीका टाँस गरेको व्यवस्थापक जैसीले बताए । लकडाउनको समयमा प्रकाशित गरेको सुचना कुनै पनि पत्रपत्रिका र स्वास्थ्य सेवा कार्यालयको फेसबुक पेजबाट पनि सार्बजनिक नगरेर सम्बन्धित व्यक्तिको मेलमा पठाएको व्यवस्थापक जैसीले स्वीकार गरेका छन् । कर्णाली प्रदेश सरकारको करार सेवा मापदण्डमा रहेर छनौट समितिले गरेको सिफारिसमा पदपुर्ति समितिले नियुक्ति दिएको उनले बताए ।
सरकारी मापदण्ड अनुसार मासिक तलब पाउनेगरी जेठ १६ गते नियुक्तिपत्र बुझेका नेत्र बिशेषज्ञ र नेत्र सहायकले नेत्र सेवामा काम नगरेरै तलब पाउने भएका छन् । आबश्यक पर्ने स्वास्थ्य सामाग्री र औषधि नभएपछि उनीहरुले नेत्र सेवा संचालन गर्न नसकेका हुन् । नेत्र सेवा संचालन गर्नका लागि काठमाडौंबाट आबश्यक सामाग्री र औषधि खरिद भईरहेको तर, जिल्लामा आई नपुगेको व्यवस्थापक जैसीले बताए ।
कोभिड–१९ को जनशक्ति व्यवस्थापनमा मनपरी तरिकाले ५ जनालाई नियुक्ति
कोभिड–१५ को जनशक्ति व्यवस्थापनमा सुचना नै प्रकाशन नगरी ५ जना कर्मचारीलाई नियुक्ति गरेको व्यवस्थापक जैसीले स्वीकार गरेका छन् । बार्षिक १ लाख भन्दा कम तलब खाने कर्मचारीलाई कार्यालय प्रमुखले सिधै नियुक्ति गर्न पाउने खरिद ऐन–२०६३ ले गरेको व्यवस्था अनुसार ५ जना कर्मचारीलाई नियुक्ति गरेको व्यवस्थापक जैसीले जानकारी दिएका छन् ।
नियुक्ति गरिएका ५ जना कर्मचारीमा ३ जना कार्यालय सहयोगी, १ जना अनमी र १ जना अहेव रहेका छन् । नियुक्ति गरिएका अहेव नेपालगञ्जका रमेश कुवँर हुन् भने, अनमी बसन्ता बिसी जुनीचाँदे गाउँपालिकाकी हुन् । नियुक्ति गरिएका कार्यालय सहयोगीमा भेरी नगरपालिका कै सुरेश शाही, विमला पुन वली रहेका छन् भने, जुनीचाँदेका हस्त बहादुर शाही रहेका छन् ।
कोभिड–१९ जनशक्ति व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयका नाममा ५ लाख निकासा दिएको थियो, त्यति बजेटबाट हामीले कर्मचारी नियुक्ति गरेका हौं व्यवस्थापक जैसीले भने । उनीहरुलाई पनि जेठ १६ गते नै नियुक्ति गरेको व्यवस्थापक जैसीले जानकारी दिए ।
नियुक्ती गरिएका ५ जना मध्ये २ जना मात्र नियमित काममा रहेको छन् भने, बाँकी ३ जना बेला–मौकामा कार्यालयमा आएर हाजिरी लगाउने गरेको नाम खुलाउन नचाहने सर्तमा त्यहि कार्यरत एक जना कर्मचारीले जानकारी दिएका छन् ।
औषधी तथा स्वास्थ्य सामाग्री ढुवानीमा हाइलेक्स गाडी प्रयोग
कोभिड–१९ को औषधी खरिदमा कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयको नाममा ८ लाख निकासा दिएको व्यवस्थापक जैसीले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयले दुई चरणमा ८ लाखको कोभिड–१९ को औषधि खरिद गरिसकेको व्यवस्थापक जैसीले जानकारी दिएका छन् । उक्त औषधि र रिफिलिङ्ग गरिएका अक्सिजन सिलिण्डरहरु नेपालगञ्जबाट ढुवानी गर्न हाईलेक्स गाडी प्रयोग गरेको निमित्त व्यवस्थापक जैसीले जानकारी दिए । उक्त गाडीको भाँडा एक पटकमा १४ हजार भाँडा तिर्ने गरि सम्झौता गरिएको जैसीले बताए । एक पटकमा १० वटा अक्सिजन सिलिण्डर मात्र ढुवानी गर्ने गरेको हाईलेक्स गाडीलाई बैसाख २२ गतेदेखि जेठ १६ गतेसम्म दैनिक प्रयोग गरेको व्यवस्थापक जैसीको भनाई रहेको छ ।
अस्पताल र अन्य सरकारी निकायको कोभिड–१९ को सामान ढुवानी गर्ने जिम्मा विश्व खाद्य कार्यक्रमले लिएको भएता पनि स्वास्थ्य सेवा कार्यालयले अक्सिजन सिलिण्डर र औषधि ढुवानी गर्न बैसाख २२ गतेदेखि जेठ १६ गतेसम्म हाईलेक्स गाडीलाई प्रयोग गरिएको थियो । कार्यालयले प्रयोग गरेको वान टेष्ट हाईलेक्स गाडी बाँकेको कोहलपुर स्थित निराज राईको हो ।
दाताको सहयोग पुगेन बिरामीसम्म
सरकारी अस्पतालका अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्दा लाग्ने सबै सुल्क तिर्ने गरी युनिसेफले जिम्मेवारी लिएको छ । तर, जाजरकोट जिल्ला अस्पतालका अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न थुप्रै समाजसेवी, संघ÷संस्था, राजनैतिकर्मीहरुले स्वास्थ्य सेवा कार्यालयलाई रकम दिएका छन् । उक्त सहयोग संक्रमित बिरामीसम्म पुग्न सकेको छैन् । आर्थिक हिसावले विपन्न, उपचारमा शुल्क तिर्न नसक्ने संक्रमित विरामीहरुका लागि भनेर समाजसेवी तथा सहयोगी दाताहरुले अस्पताललाई सहयोग गरेका थिए । सिलिण्डर रिफिल गर्न अस्पताललाई सहयोग गर्नेहरुमा पत्रकार जनक केसीले १८ वटा सिलिण्डर रिफिलिङ्ग गर्न १५ हजार, सौगात बिक्रम शाहले १८ वटा सिलिण्डर रिफिलिङ्ग गर्न १५ हजार, “अक्सिजन सिलिण्डरको लागि मेरो हजार” अभियान मार्फत पत्रकार भरत शर्मा र सरोज वलीले १५० वटा सिलिण्डर रिफिलिङ्ग गर्न ९० हजार, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले १८ वटा सिलिण्डर रिफिलिङ्ग गर्न १५ हजार र नेत्र विक्रम चन्द (विप्लव) महासचिव रहेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), जाजरकोटले ३० वटा सिलिण्डर रिफिलिङ्ग गर्न २२ हजार रकम सहयोग गरेका छन् ।
भेरी नगरपालिकाका अक्सिजन सिलिण्डर प्रयोग गरेर बिरामीबाट पैसा असुली
भेरी नगरपालिकाका अक्जिन सिलिण्डर प्रयोग गरेर अस्पतालले विरामीबाट रकम असुली गरेको छ । नगरपालिकाका ५ वटा अक्सिजन सिलिण्डर प्रयोग गरेर कोभिडका बिरामीबाट प्रतिघण्टाको १०० रुपैया शुल्क असुल गरेको व्यवस्थापक जैसीले जानकारी दिएका छन् । बिरामीलाई प्रयोग गरिएका औषधि, ल्याव परीक्षणको पनि शुल्क लिने गरेको जिल्ला अस्पतालले कतिजना कोभिडका विरामीलाई उपचार गरेको भन्ने रेकर्ड पनि राख्न सकेको छैन । हालसम्म ८४ जना कोभिडका बिरामीलाई उपचार गरेको अनुमान गरेको अस्पतालमा जेठ ५ गतेदेखि हालसम्मको रेकर्डमा ४३ जना बिरामीलाई उपचार गरेको व्यवस्थापक जैसीले बताए ।
कोभिडका विरामीलाई प्यारा सिटामोल, जिन्क, भिटामिन सि, भिटामिन बि कम्पलेक्स, क्यालभिड, एमडिआई आस्थालिन, रोटा क्याप कडेकोर्ट, प्रोड्निसोलोन, लोप्रेमोलिकुलर वईट हेपारिन, सेक्ट्रियक्जोन, ट्याजोपिप, डेक्मामेधासोन लगाएतका औषधिहरु प्रयोग गरेर कोभिडका बिरामीहरुबाट अस्पतालले पैसा उठाएको छ । औषधी खरिद गर्न कर्णाली प्रदेश सरकारले ८ लाख निकासा दिएको रकमले खरिद गरिएको औषधि प्रयोग गरेर विरामीहरुबाट अस्पतालले रकम अशुली गरेका छ । गत बैसाख २० गते प्रकाशित राजपत्रमा कोभिड–१९ का शंकास्पद तथा संक्रमितको उपचार निशुल्क गर्ने भनेर उल्लेख गरिएको भएता पनि जिल्ला अस्पतालले युनिसेफ, समाजसेवी, विभिन्न संघ÷संस्था, राजनैतिककर्मी र नगरपालिकाले रिफिलिङ्ग गर्न गरेको सहयोगका अक्सिजन सिलिण्डर प्रयोग गरेर विरामीबाट शुल्क उठाएको छ ।
एक जना विरामीलाई प्रतिदिन झण्डै ७ हजार ५०० रुपैयाको औषधि लाग्ने अनुमान गरेर विरामीबाट रकम असुल गर्ने गरेको अस्पतालले ९६ घण्टा अक्सिजन प्रयोग गरेका बिरामीबाट १३० घण्टाको शुल्क लिएको एक जना संक्रमितले जानकारी दिएका छन् । एक जना नरसिंहले धेरै जना विरामीलाई हेर्नुपर्ने अबस्था भएको हुदा अक्सिजन प्रयोग गरेको समय कुनै बिरामीलाई प्रयोग गरेभन्दा बढि र कुनै विरामीलाई प्रयोग गरेको भन्दा कम हुन गएको स्टाफ नर्स नेप्लिजा पुनले जानकारी दिईन् । उपचार गराएर अस्पताललाई सबै भन्दा बढि पैसा तिर्ने कोभिडका विरामीले एक लाख भन्दा बढि र कम तिर्नेले १० हजारसम्म तिरेको पत्रकार बद्री पन्तले बताएका छन् ।
उपचार सुरु गरेदेखि नै बिरामीहरुबाट अक्सिजन, औषधि र ल्यावको पैसा असुल गर्दै आएको अस्पतालले एक हप्ता पहिलाबाट मात्र पैसा असुल गर्न छोडेको छ । निशुल्क उपचार गर्न थालेपछि अस्पतालमा ४–५ जना कोभिड–१९ संक्रमित विरामीले मात्र उपचार गरेका छन् । आईतबार देखि उक्त अस्पतालमा एक जना संक्रमितले मात्र उपचार गराई रहेका छन् ।