News Portal

जाजरकोट उपचार शाखामा जडान हुन सकेन अक्सिजन प्लान्ट

१००५ पटक

स्वास्थ्य सेवा कार्यालय जाजरकोटले नेपटेक मेडिकल सप्लायर्स प्राली, लाजिम्पाट काठमाडौंलाई कारबाही गर्न सार्बजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंलाई पत्र लेखेको छ । स्वास्थ्य सेवा कार्यालयको उपचार शाखामा निर्धारित समयमा सप्लायर्सले अक्सिजन प्लान्ट जडान गर्न नसकेको भन्दै स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले शुक्रबार सार्बजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको हो ।

स्वास्थ्य सेवा कार्यालय, जाजरकोट अन्तरगत रहेको उपचार शाखामा रुघाखोकी, ज्वरो, टाईफाइड, ग्याष्टिक, टाउको दुख्ने, दाँत सम्बन्धिका विरामी, हातखुट्टा भाँचिएका, गर्भजाँच, सुत्केरी, सेतोपानी बग्ने, पेट दुख्ने, आङखस्ने जस्ता स्त्रीरोगका विरामी, दम, प्रेसर, मधुमेया, हाडजोर्नी, नसा सम्बन्धिका दिर्घ रोगीहरुले दैनिक ७० देखि ९५ जना बिरामीहरुले उपचार गराउने गरेका छन् । ३१ शैया सन्चालनमा रहेको उपचार शाखामा १५ देअि २० जना बिरामीले दैनिक बेडमा रहेर उपचार गराई रहेका हुन्छन् ।

झाडा पखाला, शाईन फ्लु, मौसमी रुघाखोकी जस्ता स्वास्थ्य प्रकोपहरुबाट पटक पटक प्रभावित भएर जाजरकोटका सयौं नागरिकले ज्यान गुमाई सकेका छन् । यतिवेला विश्वव्याधी कोरोना भाईरस संक्रमणबाट जाजरकोट नराम्रोसंग प्रभावित भएको छ । हजारौं नागरिकहरु कोरोना भाईरसको संक्रमणबाट प्रभावित भएका छन् भने, दर्जन भन्दा बढि नागरिकले ज्यान गुमाई सकेका छन् ।

श्वास प्रश्वास सम्बन्धिका विरामीहरुको उपचारमा प्राण वायुको रुपमा लिने गरिएको अक्सिज प्लान्ट उपचार शाखामा जडान हुन नसकेर स्वास्थ्य सेवा कार्यालयको नाममा आएको ४० लाख बजेट फ्रिज भएर जाने भएको छ । उपचार शाखामा अक्सिजन प्लान्ट जडान गर्ने जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्स प्राली, लाजिम्पाट काठमाडौंलाई कारबाही गर्न सार्बजनिक खरिद अनुगमन कार्यालयलाई स्वास्थ्य सेवा कायालयले पत्र लेखेपछि कार्यालयको नाममा आएको ४० लाख बजेट कार्यान्वयन नभएर फ्रिज जाने भएको हो ।

तोकिएको समयमा अक्सिजन प्लान्ट जडान गर्न नसक्ने सप्लायर्सको २ लाख ९१ हजार ४३० रुपैया धरौटी जफत गरेर राजश्व खातामा दाखिला गर्नुको साथै सप्लायर्सलाई कारबाही गर्न सार्बजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाई सकेको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैसीले जानकारी दिएका छन् । अनुगमन कार्यालयलाई लेखेको पत्र भने निमित्त व्यवस्थापक जैसीले देखाउन मानिरहेका छैनन् । निर्धारित समयमा अक्सिज प्लान्ट जडान गर्न नसक्ने सप्लायर्सलाई कारबाही गर्न अनुगमन कार्यालयलाई लेखिएको पत्र सार्बजनिक सरोकारको बिषय हुदाहुदै पनि व्यवस्थापक जैसीले शुक्रबार पत्र देखाउन मानेनन् । उनले सप्लायर्सको धरौटी स्वास्थ्य सेवा कार्यालयले जफत गर्ने, फर्मलाई कालो सुचीमा राख्न सार्बजनिक खरिद अनुगमन कार्यालयलाई अनुरोध गरिएको बताए ।

फिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट खरिद, आपुर्ती र जडान गर्नेगरी स्वास्थ्य सेवा कार्यालयसंग नेपटेक मेडिकल सप्लायर्स प्राली, लाजिम्पाट काठमाडौंका प्रोपराईटर नर बहादुर लिम्बुले ३१ चैत २०७७ मा सम्झौता गरेका थिए । भ्याट सहित ३६ लाख ८५ हजार लागतमा काम सम्पन्न गर्नेगरी गरिएको सम्झौता पत्रमा १५ जेठ २०७८ मा अक्सिजन प्लान्ट खरिद, ढुवानी तथा जडान गरिसक्ने उल्लेख गरिएको छ । कुनै कारणबस तोकिएको समयमा सामान ढुवानी गर्न नसकिएमा ५ दिनको म्याद थप गर्न सकिने भनेर सम्झौता पत्रमा उल्लेख गरिएको हुदा जेठ १६ गतेसम्म अक्सिजन प्लान्ट खरिद, ढुवानी गर्न नसकेको सप्लायर्सलाई जेठ २० गतेसम्म कार्यालयले म्याद थप गरेको व्यवस्थापक जैसीले भनाई राखेका छन् ।

नेपटेक मेडिकल सप्लायर्सलाई जेठ २० गतेसम्म म्याद थप गरेको कार्यालयले जेठ २१ गते तीन दिन भित्र स्पष्टिकरण पेश गर्न पत्र लेखेको थियो । २४ घण्टा भित्रै स्पष्टिकरण पेश गर्न भनेर कार्यालयले जेठ ३१ गते नेपटेकलाई दोस्रो पटक स्पष्टिकरण पत्र लेखेको थियो । सपष्टिकरणको चित्त बुझ्दो जवाफ नआएको हुदा नेपटेकले राखेको धरौटी जफत गरेर फर्मलाई कालो सुचीमा राख्न अनुगमन कार्यालयलाई पत्र लेख्नु परेको व्यवस्थापक जैसीले बताएका छन् ।

जाजरकोट उपचार शाखा र सुर्खेत आयुर्वेद उपचार शाखाको फिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट खरिद, आपुर्ती र जडान गर्ने जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्स प्रालीले इण्डियाको एमबीएस कम्पनीले उत्पादन गरेको अक्सिजन प्लान्ट ल्याउने भएको हुदा कोरोना भाइरसको संक्रमणले नेपाल भन्दा इण्डियामा कडा लकडाउन हुनुको साथै त्यही समयमा इण्डियामा उत्पादन भएका कुनै पनि कोभिड सम्बन्धिका स्वास्थ्य सामाग्री र औषधीहरु बाहिर देशमा जान नदिने भारत सरकारले निर्णय गरेको हुदा भनेकै समयमा अक्सिजन प्लान्टका सामान पुर्याउन नसकिएको प्रोपराईटर नर बहादुर लिम्बुले बताए ।

सुर्खेत आयुर्वेद उपचार शाखामा अक्सिजन प्लान्ट जडान गर्ने म्याद थप भएको जानकारी दिदै प्रोपराईटर लिम्बुले कोभिड महामारीको दोस्रो लहर चल्नु भन्दा पहिले गरिएको ठेक्का सम्झौतालाई न्युनतम असार मसान्तसम्म म्याद थप गर्नुपर्ने त्यसो नगरेर कार्यालयले कारबाहीको लागि सार्बजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्नु दुखद पक्ष भएको बताए । इण्डियाको एमबीएस कम्पनीको नेपालमा आधिकारीक डिलर काठमाडौंको एसआरए भएको जानकारी दिदै लिम्बुले स्वास्थ्य सेवा कार्यालयसंग एसआरएका प्रोपराइटर जयन्त बर्मालाई कुरा गराउदा पनि कार्यालयले म्याद थप गर्न नमानेको जानकारी दिए । जाजरकोटको उपचार शाखामा जडान गर्ने भनिएको अक्सिज प्लान्टको बजेट कोभिड–१९ नियन्त्रण अन्तरगतको नभएर नियमित बजेट अन्तरगत भएको हुदा असार मसान्तसम्म म्याद थप गर्नुपर्ने लिम्बुले भनाई राखेका छन् । नागरिक समाजका अगुवा र पत्रकारहरुको दवावलाई थेग्न नसकेर असार मसान्तसम्म म्याद थप गर्न नसकेको व्यवस्थापक जैसीले आफुलाई जानकारी दिएको प्रोपराईटर लिम्बुले बताए ।

काठमाडौंमा रहेको बिभुति डिलरको डिजाईनमा कर्णालीका १० वटै जिल्लामा चाईनिज कम्पनीले उत्पादन गरेको सिङगल फेस बिद्युत क्षमताबाट संचालन हुने अक्सिजन प्लान्ट जडान गर्ने योजनामा प्रत्येक जिल्लामा ४० लाख बजेट व्यवस्था गरिएको नेपटेक मेडिकल सप्लायर्स प्रालीमा कार्यरत गगन शाहीले बताए । थ्रि फेस विद्युत क्षमताबाट संचालन हुने पाइपलाईन बिस्तार गर्दा झण्डै ३० वटा बेडमा अक्सिजन दिन मिल्ने, भेन्टिलेडर बेडमा पनि प्रयोग गर्न सकिने, प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्टको सम्झौतालाई तोडेर सिङगल फेस विद्युत क्षमताबाट संचालन हुने, सिलिण्डर रिफिल गर्न नै नमिल्ने, पाईप लाईन बिस्तार गरेर १२ देखि १५ वटा बेडमा मात्र अक्सिजन दिन मिल्ने अक्सिजन प्लान्ट ल्याउनका लागि त्यसो गरिएको हुन सक्ने शाहीले भनाई राखेका छन् ।

प्रतिकृया दिनुहोस्