News Portal

काज सरुवाले सिउनको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा उपचारमा समस्या

५४३ पटक

नलगाड नगरपालिका–१३ सिउनको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रबाट नागरिकले पाउने स्वास्थ्य सेवा प्रभावित भएको छ । उक्त सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत अनमीको काज सरुवा गरेपछि नागरिकले पाउने स्वास्थ्य सेवा प्रभावित भएको हो ।

उक्त सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा एक जना अहेव र एक जना अनमी गरेर दुई जना स्वास्थ्यकर्मी कार्यरत छन् । अहेब मोतिराम बिष्ठ बिरामी भएर हाल उपचारमा भएको नलगाड नगरपालिकाकी उप–प्रमुख बालकुमारी बस्नेतले बताएकी छन् । उप–प्रमुख बस्नेतले दिएको जानकारी अनुसार उक्त सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत अनमी कुशम थापालाई स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले नलगाड नगरपालिका–२ डाडाँगाउँ स्थित स्वास्थ्य चौकीमा काज सरुवा गरेपछि सिउनको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

कोरोना भाईरस संक्रमणको दोस्रो लहरले विश्व प्रभावित भइरहेको वेला डोल्पाको सिमानासंग जोडिएका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको उपप्रमुख बस्नेतको भनाई रहेको छ । गाउँमा डिपो लगाउने, गर्भ जाँच गराउने र संस्थागत सुत्केरी हुन आउने महिलाहरुले महिला स्वास्थ्यकर्मीबाटै स्वास्थ्य सेवा पाउनुपर्ने माग आफुसंग राख्ने गरेको उपप्रमुख बस्नेतले बताईन् । डोल्पाको सिमानासंग जोडिएको सिउन सामुदायिक स्वास्थ्य ईकाई केन्द्रबाट डोपाको त्रिवेणीमा बसोबास गर्ने र नलगाड नगरपालिका–१३ का नागरिकहरुले स्वास्थ्य सेवा लिने गरेको उप–प्रमुख बस्नेतको भनाई रहेको छ । गतबर्ष सुत्केरी हुन सिउन सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा पुगेकी डोल्पा त्रिवेणीकी एक र सिउनकै एक गरी दुई जना महिलाले ज्यान गुमाउनु परेको उपप्रमुख बस्नेतले भनाई राखेकी छन् । बर्थिङसेन्टर र दक्ष जनशक्तिको अभावमा गत बर्ष दुई महिलाले ज्यान गुमाउनु परेको हो उपप्रमुख बस्नेतले भनिन–‘सामुदायिक स्वास्थ्य ईकाई केन्द्र सिउनमा सुत्केरी हुन आएकी बिष्णु विकलाई त्यहाँ सुत्केरी गराउन नसकेर रिफर गर्दा बाटोमै दूई वटा बच्चा जन्मिए तर, एक बच्चा र आमाको मृत्यु भयो भने, एक बच्चालाई उनकी हजुर आमाले भैसीको दुध खुवाएर पालि रहेकी छन् ।’

दुर्गमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने भनाई राख्दै उपप्रमुख बस्नेतले त्यहाँ कार्यरत अनमीको काज सरुवालाई फिर्ता गर्नको लागि स्वास्थ्य सेवा कार्यालय, प्रदेश सभा सदस्य र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई निवेदन दिदा पनि सरुवा काज फिर्ता हुन नसकेको बताईन् । उक्त सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा स्वास्थ्य सेवा कार्यालयले पठाउनुपर्ने औषधि तथा स्वास्थ्य सामाग्रीहरु ढुवानी भाडाँ छैन भनेर खलंगामै रोकेर राखेको उपप्रमुख बस्नेतको भनाई रहेको छ । भौगलिक रुपमा निकै दुर्गम सिउन सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा यतिवेला नत स्वास्थ्यकर्मीहरु छन् । नत त्यहाँ औषधि र स्वास्थ्य सामाग्री नै छ । सिउनमा यतिवेला सामुदायिक स्वास्थ्य ईकाई केन्द्र त छ, स्वाथ्यकर्मी, औषधि र स्वास्थ्य सामाग्री छैन् ।

सिउन सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत अनमी थापाको काज सरुवा सम्बन्धित वडा कार्यालय, नगर स्वास्थ्य शाखा र नगर प्रमुखको लेखित सिफारिसमा कार्यालयले गरेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्